‘तामाङ बस्तीमा शिल्पी दाईको दमाहा
-वाइबा दिपक तामाङ
पोखरा
धर्मनिरपेक्ष राज्यमा
अझै निरन्तर रहेको छ
सामान्ती हिन्दुराज्यको उर्दी ।
यसको साक्षी छ,
नवदुर्गामा दमाई दाईको दमाहा ।
वाध्यता हो कि परम्परा ?
बौद्ध धर्मालम्बि तामाङ समुदायको
घनावस्ती खैमराङमा एक बिहानै बज्छ
शिल्पी दाईको दमाहा ।
शाहवंश,राणाशासन,पन्चायत,बहुदल हुँदै
आज गणतन्त्रमा बाली उठाएर
दिन बाध्य छन्
नवदुर्गामा दमाहा बजाउने परम्परालाई
उही शिल्पी दाईको वंशलाई ।
शरदकालिन बिहानी चिसो शितलाई
पन्छाउँदै सबेरै आईपुग्छन् दमाहा
बोकेर शिल्पी दाई
अनि बज्न थाल्छ
ढङडढा ढङ ढङडढा ढङको आवाज
थकित किसानहरुको
निन्द्रा खुल्नेगरि ।
अर्थ न वर्थ अकमक्क गाउँवासी
सामान्ति शासकले थोपरेको हिन्दुवादी धुन लोकतन्त्रमा आँखा मिचेर सुनिबस्छ ।
अनि बर्षेनी नयाँ अन्न भित्रिएपछि
घरैपिच्छे केही अंश बुझाउँछन्
निशर्त निरुत्तर निरुपाय धर्मको नाममा कर ।
अनि कसरी विस्वस्त हुने धर्मनिरपेक्ष राज्य भनेर ?
कसरी हामी भन्न सक्छौं ,यो बहुधार्मिक मुलुक हो भनेर ?