काठमाडौं- ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा काठमाडौं- ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिएका छन्। मंगलबार काठमाडौंको विजुली बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘पार्टीले भने बमोजिम मैले राजीनामा दिएको हुँ । वामदेव गौतमले तत्कालीन एमाले-माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको उनले बताए।
देशमा कम्युनिष्ट पार्टीको स्थिर सरकार रहेको र वामदेवले कम्युनिष्ट पार्टीको चुस्त व्यवस्थापन गर्ने उनको दाबी छ।‘उहाँ संसदमा आउनु भयो भने काठमाडौं ७ को मात्र नभइ देशकै विकास हुन्छ’, उनले भने आफूले प्रचण्डलाई राजीनामाको स्वीकृति पत्र दिएको उनले बताए।
‘प्रचण्डजीलाई स्वीकृति पत्र दिएको छु। भोलिको सचिवालय बैठकले निर्णय गर्छ र त्यसपछि सभामुखलाई राजीनामा बुझाउँछु।’
उहाँ त बाहिरको हो नि? भन्ने प्रश्नमा उनले भने, ‘हामी कोही बाहिर वा भित्रका होइनौं। हामी नेपाली हौं र नेपालभित्रै बस्छौं।’
गत संसदीय निर्वाचनमा काठमाडौं ७ मा नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए।त्यहाँ कांग्रेसले राप्रपाका विक्रम थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका विक्रम थापाले १० हजार ७९ मत पाएकाथिए।
नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन्। प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने सर्त मानन्धरले दाहाल र वामदेसँग राखेको स्रोतले बतायो।
२३ असोज २०७५