हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

क्यानडामा फैलिँदै नेपालीः ‘जुँगाको लडाइँ’ रोकेर संघ–संस्थाबीच सहकार्यको खाँचो

बेनुप भट्टराई – टोरन्टो (क्यानाडा), असोज २३ | नेपाली मिडियामा ‘खाद्य वैज्ञानिक’ भनेर चिनिएका नारायण घिमिरे क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टो बस्छन्। आफ्ना खोज अनुसन्धानदेखि खानेकुराका महिमाबारे उनी दैनिकजसो सामाजिक सञ्जालमा केही न केही लेखिरहन्छन्।

तर, झण्डै डेढ महिनाअघि उनले फेसबुकमा एउटा फरक खालको स्टाटस् पोष्ट गरे। केही घिमिरे बन्धुहरूलाई ट्याग गर्दै पोष्ट गरिएको उक्त स्टाटसमा लेखिएको थियो, ‘टोरन्टोमा घिमिरेहरूको कुल पूजा गर्न तपाईंहरू तयार भएकै हो त ?’

नेपालबाट हवाइ यात्रामा झण्डै २४ घण्टा (सिधा उडान नभएकाले) टाढाको सहर। जन्मेहुर्केको ठाउँभन्दा करिब १२ हजार किमी दूरीको भिन्नै भूगोल। तै पनि, घिमिरेले आफ्नो वंशका दाजुभाइलाई ‘क्यानडामा कुलपूजा गरौं’ भन्नुले संकेत गर्छ– यहाँ नेपाली फैलिँदैछन्।

सबैजसो देशका आप्रवासी भित्र्याएर क्यानडाले बहुसाँस्कृतिक मुलुकका रूपमा ख्याति कमाइ सकेको छ। जहाँ नेपाली थपिने क्रम बढेको पुष्टि गर्न यस्ता धेरै दृष्टान्त छन्, जसले यो उत्तर अमेरिकी देश आएर पनि पहिचान जोगाउन प्रयासरत देखाउँछ।

चाहे त्यो बुद्ध जयन्तीमा गेलिङको धूनसहित बौद्ध ग्रन्थ शिरमा राखेर लामबद्ध हुनेक्रममा होस् वा ल्होछारमा जातीय पहिचान झल्किने पोशाक लगाएर मौलिक धूनमा नाचिरहेका बेला।

त्यति मात्र होइन, तीजमा छड्के तिलहरी लर्काएर रातो सारीमा कम्मर मर्काउ“दा होस् या दसैंमा टीका जमरा लगाएर आर्शिवाद लिने दिनेक्रममा। नेपाली चाडपर्व र उत्सवमा रम्ने उनीहरु सबैको भनाईको सार हुन्छ, ‘जहाँ नेपाली त्यहाँ नेपालीपन !’

परदेशी भूमिलाई कर्मथलो बनाउनेक्रममा क्यानाडा आएका नेपाली जातीय, क्षेत्रीय, सा“स्कृतिक रुपमा मात्र नभई खेलकुद, साहित्य, पेशागत हितमा खुलेका संघ संस्थामा आवद्ध छन्।

जस्तो, नेपाली जनजाति महासंघ, मगर संघ, नेवाःगुठी। तमु र राईका पनि संस्था छन्। बाग्लुङ सेवा समाज। नेपाली क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसिसीएस), नेप्लिज कम्युनिटी नेटवर्क अफ् क्यानाडा (एनसिएनसी), कन्र्सन नेपाल क्यानाडा। गैर आवासीय नेपाली महासंघ (एनआरएनए) त भइहाल्यो।

यस्ता नाम धेरै छन्, लालीगुरा“स स्पोर्टिङ क्लव। नेप्लिज क्यानेडियन क्रिकेट क्लव। एभरेष्ट तेक्वान्दो क्लव। यी खेलकुद क्षेत्रमा सक्रियपूर्वक क्रियाकलाप गरिरहेका क्लव हुन्, जसको ख्याति नेपाली मात्र नभई अरु समुदायसम्म फैलिँदो छ।

‘क्यानेडिन वुमन एसोसिएसन्’ र ‘महिला चौतारी’ जस्ता संस्था क्यानाडा बस्ने नेपाली महिलालाई आवद्ध गर्न प्रयासरत छन्।

साना ठूला शहर, प्रोभिन्स र टेरिटोरीपिच्छे खुलेका र खुल्नेक्रममा रहेका यस्ता नेपाली संघ संस्था धेरै छन्।

क्यानाडामा इन्जिनियरङि र एकाउन्टिङ गर्ने मात्र होइन कम्प्युटर र फुड साइन्समा काम गर्नेहरु पनि संस्था बनाएर जोडिने छलफल गरिरहेको सामाजिक सञ्जालमा देखिएको थियो। एकै पेशामा रहेकाहरु सामूहिक भ्रमण वा वनभोज जानु त नौलो भएन।

यस्तै, चितवन, गोरखा, तनहुँ पुर्ख्यौली थलो हुनेले पनि संगठित हुन प्रयास गरिरहेका छन्।

नेपालीको चाप बढेसँगै यस्ता संघ संस्था खुल्नुलाई कतिले राम्रो र कतिले नराम्रो ठान्दैछन्।

राम्रो, नेपाली मन–मुटुहरु आपसमा जोडिने आशमा।

नराम्रो चाहिँ, ‘बा, एकले अर्काको अस्तित्व नस्वीकार्लान् र झन् पो टुक्रिएलान् कि’ भन्ने डरमा।

शंका स्वभाविक छ। किनकी, अघोषित भातृ संगठनकै रुपमा नेपालका राजनीतिक दलका महिमा गाउने गरी खुलेका संघ संस्था पनि थुप्रै छन्, जसले आफू अनुकूल समयमा नेपालबाट दलका नेता, सांसद र मन्त्रीसम्म ल्याएर कार्यक्रम गर्छन्।

उनीहरुले निजी गाडीमा सांसद र मन्त्रीलाई घुमाएको, विपक्षीलाई भेट्ने मौका नदिएको गुनासो बेला बेला सुन्न पाइन्छ।

पछिल्लो गणनामा क्यानाडाको जनसंख्या ३ करोड ७० लाख माथि छ। सन् २०१६ को सरकारी गणनाअनुसार, क्यानाडा आएर बस्नेमा क्रमैले फिलिपिन्स, भारत, चीन, इरान, पाकिस्तान, अमेरिका, सिरिया, बेलायत, फ्रान्स र दक्षिण कोरियन मूलका सबैभन्दा धेरै छन्।

क्यानाडामा नेपाली चाहिँ कति छन् त ?

यसको ठ्याक्कै मिल्दो जवाफ कतै उपलव्ध छैन। सन् २०१६ को सरकारी जनगणनाले क्यानाडामा नेपालीको संख्या १० देखि ५० हजारको वीचमा देखाएको छ। नेपाली राजदूतावास र एनआरएनएले भने क्यानाडामा ५० हजारदेखि एक लाख नेपाली रहेको दावी गर्छन्।

करिव १२ बर्षदेखि क्यानाडा बस्दै आएका गोपीकृष्ण काफ्ले, जो गैरआवासीय नेपाली महासंघ (एनआरएनए) क्यानाडाका अध्यक्ष पनि हुन्, उनी भन्छन्, ‘नेपालीको संख्या बढ्नु जति सुखद् कुरा हो, संघ संस्था खुल्नु नि सुखद् तर एउटाले अर्कोलाई स्वीकार्नुपर्छ।’

१० प्रोभिन्स र तीन टेरिटोरीभित्र छरिएको क्यानेडियन भूमिमा सन् २००९ देखि २०१२ को बीचमा धेरै नेपाली आएको तथ्यांक छ। त्यो समयमा ‘दक्ष कामदार’अन्तर्गत पोइन्ट सिस्टमबाट नेपालबाटै पिआर (स्थायी आवास) आवेदन गरेर परिवारसहित आउनेहरु उल्लेख्य छन्।

त्यस्तै, वर्क पर्मिट लिएर खाडी मुलुकबाट भित्रिने, फेमिली स्पोन्सरमा आएर सेटल हुने, विभिन्न कारण देखाएर शरणार्थी बन्ने र विद्यार्थी भिसामा आएर पढ्दै करिअर बनाउने नेपालीहरु क्यानाडामा भेटिन्छन्। अहिले सबै प्रोभिन्स र टेरिटोरीमा थोरबहुत नेपाली फैलिइसकेका छन्।

क्यानाडामा बस्नलाई नेपालीको पहिलो रोजाई टोरन्टो भएको पाइन्छ। अन्टारियो प्रोभिन्सको राजधानी हो– टोरन्टो। जनसंख्या दृष्टिले टोरन्टो उत्तर अमेरिकाको चौथो ठूलो शहर हो। तालको किनारमा फैलिएको टोरन्टोमा २८ लाख मानिस बस्छन्।

‘क्यानाडामा १० वर्षयता नेपालीहरु थपिनेक्रम बढेको छ’ सन् २००२ देखि सपरिवार टोरन्टो नै बस्दै आएका नेपाली समुदायका अगुवा गोविन्दसिंह रावत भन्छन्, ‘संख्या बढ्ने क्रमसँगै नेपाली संघ, संस्था खुल्ने र कार्यक्रम गर्ने परिपाटी पनि बढेको छ।’

दुई बर्षअघि एनआरएनए क्यानाडाका पूर्वअध्यक्ष तुलसी सापकोटाले एउटा अन्र्तवार्तामा अल्बर्टाको एडमण्टन, क्याल्गेरीदेखि ब्रिटिश कोलम्बियाको भ्यान्कोभरहुँदै ओटवा, नुनावुत, क्युवेकसम्मै नेपाली फैलिएको बताएका थिए।

अहिले अवसरको खोजीमा क्यानाडा आउने कतिपय नेपालीको रोजाई मानिटोवा, सास्काचुनदेखि प्रिन्स एड्वार्ड आइस्ल्याण्डसम्मै पुगेको छ। पहिले आएर टोरन्टोसहित ठूला शहर बसेका कतिपय भने अध्ययनपश्चात क्षमता निखारेर साना शहर छिरेर नोकरी गर्दैछन्।

‘अध्ययनलाई प्राथमिकता दिँदै मेहेनत गर्नेले अवसर पाइरहेकै छन्। सरकारी नोकरीमा दर्जनौं छन्। घरजग्गा र इन्स्योरेन्स कारोवारमा आकर्षण बढ्दो छ’ सापकोटाले भनेका थिए, ‘कतिपयले रेष्टुरेन्ट खोलेका छन्। नेपालीहरु मजदुरदेखि म्यानेजरसम्मै भएको देखेको छु।’

यस्तै, ड्राइभिङ सिकेर ट्रक चलाउने पनि छन्। राम्रो आम्दानी हुनाले क्यानाडाका सडकमा केही नेपालीहरु ट्रक ड्राइभिङ गर्छन्। उनीहरु अमेरिकासम्मै ट्रक चलाएर मालसामान ओसारपसार गर्छन्। सौन्दर्य कला पढेर पार्लर खोल्ने महिला पनि छन्। अर्काको स्टोरमा काम गर्नेहरु धेरै छन्।

नेपाली साहित्य समाज, क्यानाडाका अध्यक्षसमेत रहेका रावत यहाँ नेपालीको संख्या बढ्नुलाई खुसी मान्छन्। तर, संख्या बढेसँगै ‘जुँगाको लँडाईँका लागि’ संघ संस्था खोल्ने र ‘नेपाली पहिचान जोगाउने’ नाममा हचुवा तालका कार्यक्रम हुने बताउँछन्।

‘आफ्नो समुदाय जति बलियो भयो, प्रवासमा उति नै फाइदा हुने हो’ क्यानाडालाई डेढ दशकदेखि नियाल्दै आएका रावत भन्छन्, ‘तर, हामी नेपाली पहिचान जोगााउने नाममा अर्को व्यक्ति/संस्था नगन्ने, आफैंलाई ठालू ठान्ने र देखावटी पो हुँदैछौं कि !’

क्यानाडामा संख्या बढेसँगै यहाँका राजनीतिक पार्टी र सरोकारवालाले नेपाली समुदायलाई सम्बोधन गर्नेक्रम सुरु भएको छ, जुन खुसीको कुरा हो। भरखरै अमेरिकामा क्यानाडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीवीचको भेटले आपसी सम्बन्ध थप फराकिलो पार्न बाटो खुलेको छ।

नेपाली नयाँ वर्षमा क्यानेडियन प्रधानमन्त्री ट्रुर्डोले गत बर्षदेखि शुभकामना बक्तव्य दिन थालेका छन् भने टोरन्टोस्थित मिसिसागा र ब्राम्प्टनका सांसद र नेताले नेपाली समुदायका माग– मुद्दालाई सम्बोधन गर्न चासो दिएको एनआरएनए अध्यक्ष काफ्ले बताउँछन्।

क्यानाडामा ‘अनभिजिवल माइनर कम्युनिटी’का रुपमा रहँदै आएको नेपाली समुदाय आफूमा एकजुट भए अवसर प्राप्तिदेखि भावी पुस्तालाई धेरै क्षेत्रमा सहयोग पुग्न सक्छ।

त्यसनिम्ति ‘जुँगाको लँडाईं’ रोकेर नयाँ संघ संस्था खोल्नुभन्दा पहिले खोलिएका संघ संस्थालाई चुस्त दुरुस्त बनाई ठोस मुद्दामा कार्यक्रम गर्दै क्यानेडियन सरोकारवालाई प्रभावित पार्नुपर्ने देखिन्छ।

‘टोरन्टोमा नेपाली समुदायलाई सामुदायिक भवन, वेलकम सेन्टर, पुस्तकालय जस्ता कुराको खाँचो छ’ अबका प्राथमिकताबारे रावत भन्छन्, ‘मन्दिर बनायौं, पर्वहरु मनाइरहेकै छौं, अब अरु काममा सामूहिक प्रयास हुनुपर्छ।’

संख्या बढेसँगै क्यानाडामा हरेक सप्ताहन्तमा नेपालीका कार्यक्रम भइरहने समय व्यवस्थापन गर्न समस्या हुने क्यानाडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल बताउँछन्। टोरन्टोमा धेरै र अरु प्रोभिन्समा पनि कार्यक्रम आयोजना गर्नेक्रम बढ्दो रहेको सेतोपाटिमा छ |

‘यहाँकाबाट नेपाललाई के के क्षेत्रमा सहयोग गर्न सकिन्छ, त्यसबारेमा सोचेर सरकारी स्तरमा समन्वय गराउन हाम्रो प्रयास जारी छ’ राजदूत पोखरेल भन्छन्, ‘अरु संघ संस्थाले पनि मुद्दाहरु सामूहिक रुपमा उठाएर आपसमा अघि बढ्दा उपलव्धि हासिल हुन्छ।’

असोज २३, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution