वामदेव गौतमलाई बाटो खुलाउन,काठमाडौं-७ बाट राजीनामाको घोषणा गर्दै सांसद रामवीर मानन्धर

काठमाडौं – पूर्वउपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई सांसद बनाउने बाटो खुलाउन काठमाडौं- ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिने भएका छन्।
गत मंसिरमा भएको आमनिर्वाचनमा काठमाडौं-७ बाट विजयी बनेका मानन्धरले मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्न लागेको हुन्।
‘तपाईंले किन राजीनामा दिन लाग्नुभयो?’ भन्ने प्रश्नमा उनले ‘पार्टीले मागेकाले राजीनामा दिन लागेको’ बताए।
गत चुनावमा बर्दिया-१ बाट पराजित भएका गौतमलाई सांसद बनाउनेबारे नेकपाको सोमबारको सचिवालय बैठकमा छलफल भएको थियो।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन प्रस्ताव गरेका थिए।
दाहालले आफू, वामदेव र मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए। मानन्धरले सहमति दिएको लिखितपत्र पनि उनले पढेर सुनाएको एक सचिवालय सदस्यले जानकारी दिए।
स्रोतका अनुसार नेकपाको हरेकजसो सचिवालय बैठकमा वामदेवले आफूलाई संसदमा ल्याउन माग गर्दै आएका थिए।
वामदेवले पटकपटक विषय उठाएपछि एउटा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ‘वामदेव कमरेडलाई संसदमा आउनेनै चाहना छ भने केही समस्या छैन। उहाँका लागि मै सिट छोडिदिन्छु नि’ भनेर ठट्टा समेत गरेको ती सदस्यले सेतोपाटीलाई बताए।
यसअघि उनलाई डोल्पाबाट संसदमा ल्याउने प्रयास भएको थियो। तर सासंद धनबहादुर बुढालाई राजीनामा नगर्न कार्यकर्ताले दबाब दिए।वामदेवले पनि आफूले डोल्पाका नेता कार्यकर्ता समेत नचिनेको भन्दै जोड गरेनन्।
वामदेवले आफूलाई बर्दिया-१ मा अन्तरघात गरेर हराइएको दाबी गर्दै आएका छन्।
दुई पार्टी एकता हुँदासमेत आफू कांग्रेस उम्मेद्वारसँग हार्नुको एक मात्र कारण अन्तरघात भएको भन्दै उनले तत्कालिन एमाले बैठकमा समेत धारणा राखेका थिए। पार्टीले त्यसपछि छानविन समिति समेत गठन गरेको थियो।
गौतम बर्दियामा कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए।
गौतमलाई काठमाडौं-७ मा उपनिर्वाचनबाट सांसद बनाउने दाहालको प्रस्तावमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध गरेका थिए।
‘यो गलत हुन्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘यो उचित निर्णय हुदैँन, नगरौं भन्नुभयो।’
दाहालको प्रस्ताव र पोखरेलको विरोधपछि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूले सांसद मानन्धरसँग कुरा गर्ने बताएका थिए।
गत संसदीय निर्वाचनमा काठमाडौं ७ मा नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए।
त्यहाँ कांग्रेसले राप्रपाका विक्रम थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका विक्रम थापाले १० हजार ७९ मत पाएकाथिए।
नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन्। प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने सर्त मानन्धरले दाहाल र वामदेसँग राखेको स्रोतले बतायो। – सेतोपाटी