इमेज अवार्ड:कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’बाट सम्मानित

काठमाडौं, असोज २० । इमेज अवार्डको २०औं संस्करणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’बाट सम्मानित भएका छन् ।
रातपछि दिन अनि अँध्यारोपछि उज्यालो प्राकृतिक नियम हो । नेपालीहरु पनि लामो रात बिताइरहेका थिए, उज्यालो दिनको पर्खाइमा । लामो । धेरै लामो रात ।
उज्यालो दिने सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरण धिपधिपे बत्ती निभाउने तालिका बनाउनमै व्यस्त थियो ।
धेरै कार्यकारी आए । दैनिक १२, १४, १८ घन्टासम्मको लोडसेडिङको तालिका दिएर गए । तर, अचानक ! २०७३ सालको लक्ष्मीपूजाको रात पूरै काठमाडौं उज्यालो बन्यो । बत्तीहरुको चाड तिहार साँच्चैको झिलिमिली रह्यो ।
कारण थियो, प्राधिकरणमा दुई महिनाअघिमात्र नयाँ कार्यकारी निर्देशकले कमान्ड सम्हाल्नु ।
प्राधिकरणकै ११ तहका कर्मचारी खुला प्रतिस्पर्धाबाट २०७३ भदौमा कार्यकारी निर्देशक नियुक्त भएसँगै यो सम्भव भएको थियो । र, उनी थिए कुलमान घिसिङ ।
‘कुहिरोका काग’ हामी नेपालीलाई घिसिङको उद्घोष हास्यास्पद लाग्नु अस्वाभाविक थिएन । तर, आश्चर्य ! असंख्य चुनौतीका बाबजुद् २०७३ कात्तिक १४ गतेको लक्ष्मीपूजाको रात कठमाडौंबाट लोडसेडिङमुक्त गर्ने कार्यको परीक्षण गरिएको थियो । जुन चमत्कारिकरुपमा सफल भयो ।
उक्त परीक्षण सफल भएको आधारमा २०७३ चैत १ गतेदेखि देशव्यापीरुपमा लोडसेडिङ अन्त्य गर्न घिसिङ सफल भए ।
मुलुकले वर्षौंदेखि भोग्दै आएको लोडसेडिङको समस्याले आम सर्वसाधारण, औद्योगिक, सन्चार र अन्य सेवा प्रदायक क्षेत्र प्रत्यक्ष प्रभावित हुँदै आइरहेको थियो ।
यस्तो अवस्थामा आफ्नो कार्यकालको छोटो समयमा नै ‘जादुमयी’ क्षमताबाट लोडसेडिङको प्राविधिकरुपमा अन्त्य गर्दै घिसिङले उज्यालोमात्र दिएनन्, ‘कोमा’मा पुगेसरहका उद्योग, व्यापार, व्यवसाय, कलकारखानालाई जोगाउँदै सम्भावनाको ढोकासमेत खोलिदिए ।
२०२७ साल मंसिरमा रामेछापको दुर्गम गाउँ बेथानमा जन्मिएका घिसिङले प्राथमिक शिक्षा गाउँमै र उच्चशिक्षा काठमाडौंबाट हासिल गरेका हुन् ।
छात्रवृत्तिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका उनले पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स र पोखरा विश्वविद्यालयबाट ‘इएमबीए’ गरेका छन् ।
२०५१ मा विद्युत प्राधिकरण सातौं तहका इन्जिनियर भएका घिसिङ त्यतिखेरै रसुवाको चिलिमे जलविद्युत् परियोजनाको कार्यकारी निर्देशक भए ।
चिलिमेको सेयर स्थानीयलाई बाँडेर जलविद्युत् कम्पनीहरुले स्थानीयलाई सेयर दिनुपर्ने परिपाटी बसालेको जस पनि उनैलाई जान्छ ।
कुशल व्यवस्थापकीय क्षमता प्रस्तुत् गरेर लोडसेडिङ अन्त्य गर्न सफल घिसिङ चुहावट नियन्त्रणमासमेत अदम्य साहस र आँटका साथ उल्लेख्य भूमिका खेलेर वर्षौंदेखि घाटामा रहँदै आएको प्राधिकरणलाई नाफामा लानसमेत सफल भए ।
वार्षिक करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको संस्थालाई जिम्मेवारी सम्हालेकै वर्ष नाफामा लान सफल घिसिङकै नेतृत्वमा प्राधिकरण आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब खुद नाफा कमाइ विद्युत् चुहावट हालसम्मकै न्यून २० प्रतिशतमा झार्न सफल भएको छ ।
वर्षौंदेखि लोडसेडिङको मारले थिचिएका नेपालीमाझ उज्यालो प्रवाह गरी ऊर्जा क्षेत्रमा पद्दति बसालेर समृद्धिको मार्गप्रशस्त गरेका घिसिङ आज जनजनको मनमा बस्न सफल भएका छन् ।
थुप्रै संघ–संस्थाबाट सम्मानित उनी हालै ‘सुप्रबल जनसेवा श्री’बाटसमेत सम्मानित भएका छन् ।
–रमेश ढकाल/देवेन्द्र महर्जन (इमेज)