को हुन् नोबेल शान्ति पुरस्कार बिजेता डेनिस मकवेग ?

मकवेग कंगोका स्त्रिरोग विशेषज्ञ हुन् । जसले बलात्कारको शिकार बनेका हजारौं महिलाहरुको उपचार गरेका छन् ।
मकवेगले आफ्ना सहकर्मीहरूसँग मिलेर मक्वेगले यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरे । युद्धग्रस्त क्षेत्रमा महिलालाई यौनहिंसाबाट हुने घाउचोटको उपचारमा उनको विशेषज्ञता छ ।
उनले निरन्तर रूपमा दण्डहीनता र सामूहिक बलात्कारका घटनाको निन्दा गर्दै आए । युद्धका बेला महिलाविरुद्ध हुने यौनहिंसालाई हतियारका रूपमा प्रयोग गर्ने चलनलाई रोक्न पर्याप्त काम नगरेको भन्दै उनले आफ्नै देशको सरकार र अन्य देशको आलोचना पनि गर्दै आएका छन् ।
डेनिस मकवेग के भन्छन् ?
कंगोमा युद्ध चर्किएपछि लेमेरास्थित उनको अस्पतालमा ३५ जना विरामीको मृत्यु भयो । उनी बुकाबु भन्ने ठाउँमा भागेर गई टेन्ट टाँगेर अस्पताल सुरु गरे । उनले सुरु गरेको प्रसुतीगृहमा अपरेशन थिएटर पनि थियो । तर, सन् १९९८ मा सबै क्षतिग्रस्त भयो र सन् १९९९ देखि पुन सबै सुरु गरे ।
त्यसैवर्ष पहिलो बलात्कार पीडित महिला उनको अस्पतालमा उपचार गर्न आइन् । बलात्कारपछि उनको गुप्तांगमा गोली हानिएको थियो ।
उनी भन्छन्, ‘मलाई लाग्यो कि यो युद्धमा गरिएको बर्बर कृत्य हो । तर वास्तविक झट्का तीन महिनापछि लाग्यो । ति महिलाजस्तै अन्य ४५ जना बलात्कार पीडित उपचारका लागि आए । उनीहरुको कथा पनि यस्तै थियो । सबैले भन्थे, आतंकवादीहरु हाम्रो गाउँमा पसे, बलत्कार गरे र हामीलाई यातना दिए ।’
बलात्कारपछि गुप्तांगमा तेजाबजस्ता रसायन हालिदिएर शरीर जलेका महिलाहरु पनि उपचारका लागि आउँथे । उनलाई लाग्थ्यो, यस्तो किन भइरहेको छ ?
यो युद्धमा गरिएको हिंस्रक कृत्य मात्रै थिएन, रणनीतिको हिस्सा थियो । कुनै समय एकै रातमा पनि पुरै गाउँका महिलामाथि बलात्कार हुन्थ्यो ।
यस्तो गरेर आतंकवादीहरुले महिलाहरुलाई चोट पु¥याएका मात्रै होइन, पुरुषहरुलाई बलात्कार हेर्न बाध्य बनाएका थिए । यसै कारण उनीहरुले गाउँ छाडे, आफ्नो जग्गा जमीन छाडे र बाँकी सबै त्यागेर हिँडे ।
डा.मकवेग भन्छन्, ‘हामी महिलाहरुको उपचार केही चरणमा गर्दथ्यौं । अपरेशन गर्नुअघि उनीहरुले त्यसक्रममा हुने पीडा सहन गर्नका लागि तयार छन् कि छैनन् भनेर मनोवैज्ञानिक परीक्षण गर्दथ्यौं । अपरेशनपछि हामी केही चरणमा उपचार गर्दथ्यौं, महिलाको सामाजिक र आर्थिक रुपले पनि हेरचाह गरिन्थ्यो ।’
जति महिलाहरु यसरी पीडित बनेका थिए, उनीहरुसँग केही पनि हुँदैन थियो । कतिपय समयमा त लगाउने कपडा पनि हुँदैन थियो । उनीहरुलाई खान दिनुपर्दथ्यो, हेरचाह गर्नुपर्दथ्यो ।
अस्पतालबाट फर्किएपछि यदि उनीहरु जीवनलाई अघि बढाउन सक्षम भएनन् भने फेरि खतरा हुन्थ्यो ।
सामाजिक आर्थिक अवस्था सुधार गर्न सहयोग गर्नुपर्दथ्यो । केही महिलालाई उनीहरुले नयाँ सिप सिक्न सहयोग गर्ने र किशोरीहरुलाई पुनः पढाई सुरु गर्न पनि सहयोग गर्नुपर्दथ्यो । सबैभन्दा अन्त्यमा उनीहरुलाई कानुनी सहयोग उपलब्ध गराउन कोशिस गरिन्थ्यो ।
कतिपय अवस्थामा पीडित महिलाले आक्रमणकारी पहिचान गरेमा अदालती कारबाहीमा पनि सहयोग गर्नुपर्दथ्यो । सन् २०११ मा कंगोमा यस्ता घटनामा कमी आयो । त्यसबेला अब देश महिलाका लागि खतरनाक र दर्दनाक हुदैन भन्ने आशा लागेको थियो ।
तर लगत्तै युद्ध सुरु भयो र यस्ता घटना बढ्न थाले । महिला बलात्कारका कतिपय घटना सिधै युद्धसँग जोडिने गरेका छन् ।
यस क्रममा डा. डेनिस र उनको परिवारमाथि पनि हमला भयो । उनी भागेर परिवारसहित स्वीडेन र पछि ब्रसेल्स गए । तर, सन् २०१३ मा उनी पुनः कंगो फर्किए ।
उनीमाथि भएको हमलाको विरोधमा महिलाहरुले सरकारविरुद्ध प्रदर्शन पनि गरे । कंगोमा फिर्ता गराउँन टिकट काट्नका लागि पैसा पनि जम्मा गरे । जतिबेला उनीहरुसँग केही पनि थिएन । गरिबीको सबैभन्दा तल्लो स्तरमा थिए ।
उनी भन्छन्, ‘कंगोका महिलाको यो शोषणका विरुद्ध लड्ने हिम्मतले मलाई फिर्ता आउँन प्रेरित ग¥यो ।’