साफ यू–१८ महिला च्याम्पियनसिप:भारतलाई हराउँदै नेपाल फाइनलमा (भिडियो)

काठमाडौँ– भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालको जितमा गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनले ३ वटा पेनाल्टी प्रहार रोक्नुका साथै पेनाल्टीमा १ गोल गरिन्।
निर्धारित समय र थप गरिएको ३० मिनेटमा खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
त्यसअघि खेलको २३ मिनेट मिनेटमा रश्मीकुमारी सिसिङले गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। तर दोस्रो हाफमा भारतकी टाडु जबामानीले बराबरी गोल फर्काउन सफल भइन्।
अब नेपालले फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेशको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै नेपाल सेमिफाइलनमा पुगेको हो। समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो भने बङलादेशसँग २–१ गोलले पराजित भएको थियो।