भ्लादिमिर पुटिन भारत भ्रमणमा आउदा अमेरिका र चीन सशंकित

दिल्ली: रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। पुटिनलार्इ भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन्। पुटिनले आजै लोक कल्याण मार्गमा रहेको प्रधानमन्त्री निवास पुगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने जनाइएको छ।
भोलि पुटिन र मोदीबीच हैदरावाद हाउसमा विस्तृत छलफल हुनेछ। त्यस क्रममा भारत र रसियाबीच अर्बौं डलर बराबरको लडाकू विमान खरिद सम्झौता हुनेछ। त्यसैले पनि यस भ्रमणलाई अमेरिका र चीनले नजिकबाट नियालीरहेको सुरक्षा विज्ञहरुले बताएका छन्।
राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीको उपस्थितिमा करिब ५ अर्ब डलर बराबरको आधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ। रसियामा निर्मित प्रतिरक्षा प्रणाली खरिद गर्ने राष्ट्रहरु विरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ। तरपनि अमेरिकी धम्कीका बाबजुद भारत र रसियाबीच हस्ताक्षर हुन लागेको हो।
भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भोलि १९औं भारत-रसिया द्विपक्षीय वार्षिक सम्मेलनमा समेत सहभागी हुनुका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्ने कार्यक्रम रहेको रसियाको विदेश मन्त्रालयले जनाएको छ।
पुटिन र मोदीबीच सैन्य सामग्रीका बाहेक अन्य विषयहरुमा पनि सम्झौता हुन सक्ने बताइएको छ। इन्डियन एक्प्रेसले यी दुर्इ राष्ट्रबीच २० सहमति पत्रमा हस्ताक्षर हुनसक्ने सम्भावना रहेको जनाएको छ।
भारत र रुसबीच ठूलो परिणाममा सैनिक सामाग्री आयात र निर्यात हुनेगर्छ। केही समय अघि यी दुर्इ राष्ट्रबीच सैनिक हेलिकप्टर उत्पादन गर्ने बारेमा सम्झौता भएको थियो। जसअन्तर्गत ६० वटा हेलिकप्टर रुसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिने जनाइएको थियो।
चीन र अमेरिकाको नजर
मोदी र पुटिनबीच स्थापना भएको सुमधुर सम्बन्धले अमेरिका र चीन सशंकित हुन पुगेको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सिटका लागि भारतले गरिरहेको प्रयासमा रसियाले साथ दिने जनाइसकेको छ। यसका साथै भारतले सदस्यताका लागि निवेदन नदिए पनि रसियाले ‘न्यूकिल्यर सप्लार्इ ग्रुप’ मा भारतलार्इ संलग्न गराउने प्रयत्न गरिरहेको छ।
गत महिना चीनले रसियाको सुखोइ सु ३५ र एस-४०० लडाकु जेट विमान खरिद गरेकोमा अमेरिकाले चीन माथि आर्थिक प्रतिबन्ध लगाएको थियो।
तर , भारतसँग भने अमेरिकाले चीन जस्तै व्यवहार नगर्ने सुरक्षा विश्लेषकहरु बताउँछन्। अमेरिका भारतलार्इ आफ्नो पक्षमा पार्दै चीनको बढ्दो प्रभाव कम गर्न चाहन्छ।
अगस्ट महिनामा वासिङटन र नयाँ दिल्लीबीच २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने सहमति भएको थियो। यस्तै दुर्इ सेनाबीच संवेदनशिल सूचनाहरु अदानप्रदान गर्ने सहमति पनि भएको थियो। रसिया पश्चात अमेरिकाले भारतमा बढी सैन्य सामाग्री निर्यात गर्छ।
यद्यपी भारतले ‘काउन्टरिङ अमेरिकाज एडभर्सरिज स्यान्क्सन एक्ट’ अन्तर्गत लगाइएका केही प्रतिबन्धहरुका हटाउनका लागि गरेको प्रयास अमेरिकाले अस्विकृत गरिदिएको छ।
गत वर्ष भारत र चीनका सैनिकबीच पनि हिमालय क्षेत्रमा सैन्य अभ्यास भएको थियो। दिल्लीले रसियासँग सुमधुर सम्बन्ध कायम राख्दै अमेरिका र चीनसँग पनि राम्रो सम्बन्ध कायम गर्ने प्रयत्न गरिरहेको देखिएको विश्लेषकहरुको तर्क छ।
रसियाले सन् २०२२ मा स्पेस मिसन पठाउने सोचिरहेका बेला त्यसका लागि भारतीय अन्तरिक्ष वैज्ञानिकहरुलार्इ समेत अभ्यासमा समेल गराएको थियो।रसिया भारतसँग सम्बन्ध सुधार्दै अमेरिका र चीनलार्इ ‘ब्यालेन्स’ मा राख्ने रणनीतिमा रहेको छ।