आज देखि अमेरिकी डाइभर्सिटी भीसा (डीभी) २०२० का लागि आवेदन खुल्दै

काठमाडौं: अमेरिकी डाइभर्सिटी भीसा (डीभी) कार्यक्रम २०२० का लागि आवेदन खुलेको छ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आवेदन बुधबार राति ९:४५ बजेबाट सुरू हुनेछ। डीभीको आवेदन कात्तिक २० गते राति १०: ४५ बजेसम्म खुला रहनेछ |
दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्ने जनाउँदै आवेदन निशुल्क भर्न पाउने बताएको छ। डीभी भर्न कन्सल्टेन्टको सहयोग नलिन पनि दूतावासले आग्रह गरेको छ। दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको सहयोग लिएर आवेदन भर्न सुझाएको छ।सहयोग जसले उपलब्ध गराए पनि आफ्नो निवेदनका लागि व्यक्ति स्वयम नै जिम्मेवार रहनुपर्नेछ।
आवेदन दर्ता गर्दा पति-पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ। उनीहरुलाई समावेश नगरिएको आवेदन अमान्य ठहरिनेछ।
तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ। दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य पति-पत्नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्यो अयोग्य ठहरिने छ।
आवेदकले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदक चिट्ठाका लागि अयोग्य ठहरिनेछन् । त्यस्तै, अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ। यही नम्बरका आधारमा छनोट भए-नभएको थाहा हुन्छ। डीभी कार्याक्रममा सहभागी हुने इच्छुकले यहाँ www.dvlottery.state.gov गरी आवेदन भर्न सकिनेछ |