मलेसिया: मदिरा सेवनबाट मृत्यु भएका सुकुवल घिसिङ तामाङको ‘धिम’ खालाङ ?

काठमाडौँ : मलेसियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर-५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ तामाङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
यसअघि विषाक्त मदिरा सेवनबाट ७ जनाको मृत्यु भएदेखि नै बिरामी भएका सुकुवल घिसिङ तामाङको ठेगान खुल्न सकेको छैन | तामाङअनलाइनका पाठकहरुलाई जानकारी भएमा क्वालालम्पुरस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न अनुरोध गर्दछौ | यदि तामाङअनलाइनलाई जानकारी दिनु भएमा हामी सम्बन्धित ठाउँमा पुर्याउने छौ |
दूतावासका अनुसार घिसिङ तामाङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा पिएर मृत्यु हुने नेपालीको सङ्ख्या नौ पुगेको छ ।
यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।
विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये सात नेपाली विभिन्न अस्पतालमा उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् । अन्य बिरामी १० जनामध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।