२५ वर्षमुनिका मगर युवायुवतीलाई रक्सी–जाँड पिउन रोक
गोरखा – २५ वर्ष मुनिका मगर युवालाई रक्सी–जाँड पिउन रोक लगाउनका लागि सामाजिक सुधारको अभियान सञ्चालन गरिने भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिको गोरखामा बसेको नवौं पूर्ण बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संघका निर्णय सार्वजनिक गर्न बिहान सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले रक्सी–जाँड प्रयोगका लागि निश्चित अवधीसम्म सचेतना र जागरणका कार्यक्रम गर्ने बताउनुभयो ।
त्यस अवधि पार गरेपछि भने रक्सी–जाँड पिउने युवालाई कारबाही गर्नेसम्मको सोच रहेको उहाँको भनाई छ । ‘२५ वर्षसम्म जाँड खाएर हल्लिने युवाले कसरी करियर बनाउँछ ?’, केन्द्रिय अध्यक्ष रोकामगरले भन्नुभयो, ‘सके त कसैले पनि रक्सी–जाँड नपिएकै राम्रो, झन् २५ वर्षमुनिकाले त छुनै हुँदैन ।’
२५ वर्षसम्म पढाइलेखाई गरेर करियर बनाएका युवा र २५ वर्षसम्म जाँड खाएर हुर्किएका युवालाई दाँजेर हेर्दा मदिराको दुष्प्रभावबारे प्रष्टै हुने उहाँको तर्क छ ।संघको केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।