कतारमा तामाङ घेदुङ गठन गर्ने तयारीमा छौ – मोहन गोले तामाङ

याम्बु – गत सालको ल्होछारमा भएको विवादलाई लिएर नेपाल तामाङ घेदुङले नेपाल प्रवासी तामाङ समाज कतारलाई घेदुङबाट आवद्धता खारेज गरेको छ |
केही दिनदेखी नेपाल प्रवासी तामाङ समाज कतारको बिषय र नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङको बारेमा सामाजिक संजालमा टिक्काटिप्पणी भएको छ |
यस सम्बन्धमा घेदुङका अध्यक्ष मोहन गोले तामाङले यसरी मुख खोलेका छन –
आदरणीय साथिहरु, फ्याफुल्ला ! केही दिनदेखी एउटा समूहको मान्छेहरुले प्रवासी तामाङ समाज कतारको बिषय र अहिले नेपाल तामाङ घेदुङको प्रवास कार्यसमिति गठनको बिषयलाइ लिएर सामाजिक संजालमा संस्था र ममाथी थुप्रै टिक्काटिप्पणी गरेको पाएको छु । यसमा बुझेर वा नबुझेर केही नजिकका साथिहरुले समेत हो मा हो थपेको पाइयो । यसबारे केही प्रष्ट पार्छु । सवैलाइ थाहा छ, गतबर्षको ल्होछार पर्वको तिथिलाइ लिएर संस्थाको उपाध्यक्ष अजितमान तामाङ र प्रवासी समाज कतारले बितण्डा मच्चायो । झण्डै झण्डै घेदुङको अस्तित्व समाप्त नै पार्यो । तर हामिले घेदुङलाइ बचायौ । त्यसको झण्डै १ महिनापछि घेदुङ सिध्याउन लाग्ने दुवैलाई स्पष्टीकरण सोध्यौ । कतार समाजले स्पष्टीकरण दियो र अर्को ब्यक्तिले भने अहिलेसम्म स्पष्टीकरण दिएन ।
जसले स्पष्टीकरण दियो उसले उल्टै घेदुङलाइ नै स्पष्टीकरण मागेपछि हाम्रो बैठकमा यसबारे गम्भीर छलफल भयो र बिचार नमिल्ने यस्तो संस्थाको सम्बन्धन कायम राखिराख्दा फेरि अर्को प्रहार आउने देखि आवद्धता खारेज गरेको हो ।
स्वभाविक रुपमा एउटा देशमा रहेको एउटा संस्थाको आवद्धता खारेज भएपछि अर्को संस्थाबाट काम गराउनु पर्ने हुन्छ । त्यसैले घेदुङको प्रवास कार्यसमिति गठनको प्रकृया अघि बढाएका हौ । उहाहरुलाइ भूल स्वीकार गरेमा आवद्धता खारेजिमा पुनर्बिचार हुनेछ पनि भन्यौ तर यो गर्नु चाहनु भएन ।
अहिले बाहिर बाहिर केही साथिहरु फोन गर्ने, भित्री कुरा थाहा नपाएका मान्छेहरुलाइ उचाल्ने गरिरहनु भएको छ । गतबर्षको ल्होछारमै कतार समाजको बिज्ञप्तिले घेदुङ सकिएको थियो भने आज कुन संस्थालाई भन्नुहुन्थ्यो होला ? हामिले त यसखालको मुल संस्थालाई गरिने प्रहार अनि उसलाई उन्मुक्ती दिदै जाने हो भने यो नजिर बस्छ र जो कोहिले यसखालको खेल खेलेर मुल संस्थाको गरिमा समाप्त पार्छ भनेका हौ । उहाहरुलाइ सचेत गराएर मात्र छोड्ने भनेका थियौ तर सच्चिन अस्वीकार गर्नु भो । यस्तो स्थितिमा कि त हामिले गल्ती भो भनेर कान पक्डिनु पर्थ्यो । त्यो गल्ती हामिले देखेनौ । त्यसैले कतार समाजबाट घेदुङको संघिय सचिवालयलाई कन्भिन्स गर्ने किसिमको लिखित डकुमेन्ट नआएसम्म मलाई वा घेदुङलाइ गाली गरेर केही हुनेवाला छैन । यो प्रकरण संस्थागत भैसक्यो । यसबाट कोहि साथिहरु भ्रममा नपर्न अनुरोध छ । बिधान सम्मत भएको निर्णय हो ।
एउटा आवद्ध संस्था मूल सस्थामाथी हिलो छ्यापेर टासिरहनु उपयुक्त हुदैन । जहासम्म बिगतमा राम्रो काम गरेको, पुरानो संस्था थियो भन्ने कुरो छ त्यसको आवरणमा ल्होछारको बेला गरेको अपराध ढाकछोप गर्न मिल्दैन । यो प्रायश्चित नगरेसम्म उसको लागि ढोका खुल्ने छैन । यसमा मेरो कुनै स्वार्थ, नेतृत्व शैलिमा भएको अपरिपक्वता अथवा फेसबुकमा लगाएको आरोप जस्तै बिदेश जाने मोह होइन । थुजेछे ।
***
गत सालको ल्होछारमा नेपाल प्रवासी तामाङ समाज कतारको विज्ञप्ति | जसले तामाङ समाज कतार र घेदुङ बिचको सम्बन्धमा फाटो ल्याउने काम गर्यो |
***
अशोक सिङ्दन
हाल, कतार ।
संस्था आफैमा कहिले पनि गलत हुदैन । गलत त आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न संस्थालाई भर्याङको रूपमा दुरुपयोग गर्ने व्यक्तिको हुन्छ । अहिले ठीक यस्तै भईरहेको छ, आम-तामाङहरूको आवाज उठाउने र हकहितका लागी लड्ने एक मात्र संस्था नेपाल तामाङ घेदुङमा । हामी सबैलाई जगजाहेर नै छ की, २८५४ ल्होछार नेतृत्वकै कमजोरीका कारण विवादित बन्यो र सारा आस्थावानहरूको ल्होछार दुविधामैं बित्यो । अघिल्लो कार्यकालले बसाएको जगमा उभिएर वर्तमान अध्यक्ष मोहन गोलेको गर्जन हाम्रो मानसपटलमा यतिबेला पनि ताजै छ।
अघिल्लो ल्होछारमा टूडीखेलमा उभिएर उनले भनेका थिए – तामाङहरूको आवाजलाई यदि सरकारले सम्बोधन गरेन भने टूडीखेल र सिंहदरबारको दूरी धेरै टाढा छैन, आगामी ल्होछार टूडीखेलमा होईन सिंहदरबारमा मनाउछौं । तर त्यसको ठीक एकवर्ष पछिको ल्होछार कार्यक्रम तिनकुनेमा गर्न बाध्य बनायो त्यै पनि प्रहरी हस्तक्षेपका बिचमा । अब त याद भयो होला नि गोले मामालाई बोलाई र गराईको भिन्नता । वर्तमान अध्यक्ष मोहन गोलेको नकरात्मक भूमिका यतिमा मात्र सिमित रहेन । संस्थाभित्र आन्तरिक रूपमा पनि उनले अरुलाई रिझाउन सकेनन् । संस्थालाई जहिले पनि आफू अनुकूल बनाउन खोजे । कार्यकारीको दम्भले अग्रजहरूका कुरा उनी सुन्नै चाहदैनन् । उस्तै परे कार्यकारी अधिकार नभएका भनेर सल्लाहकारहरूलाई समेत बाहिरको भन्न भ्याउछन् उनी ।
यति मात्रै कहाँ होर, नेपाल अधिराज्यभर आ-आफ्नो क्षेत्रबाट तामाङ समुदायकै लागि सेवा गर्ने उद्देश्यले खोलिएका संस्थाहरूले घेदुङकै अभियानमा ऐक्यवद्धता जनाईरहेका छन् अथवा सम्बन्धन लिएर घेदुङलाई नै सहयोग गरिरहेका छन्। तर कहिलेकही घेदुङको गल्ती औल्याउदा ति संस्थाहरूलाई गैर तामाङको दर्जामा दर्ज गराउदै आफू अनुकूलको अर्को संस्था खडा गर्न प्रेरित गर्छन् र मिलेर बसेका समाजलाई धारैधारमा विभाजित गर्न उनी माहिर देखिएका छन् ।
गत ल्होछारमा गल्ती भएपछि आफूलाई सहयोग नगर्ने घेदुङ अन्तर्गतका संस्थाहरूलाई घेदुङको पछिल्लो कुनै पनि गतिविधिमा सहभागी नगराएको गुनासो सुनिरहेको बेला त्यही संस्थाको विरूद्धमा अर्को संस्था खडा गरेर तामाङ विचमा फूट ल्याउने कार्यमा उनी यतिबेला सकृय छन् । स्वदेशमा होस या विदेशमा, कुनै पनि तामाङ संस्थामा व्यक्तिको आफ्नो खराब आचरणका कारण त्यो संस्थाबाट अलग रहेका दुई चार जनालाई घेदुङ खोल्न उत्प्रेरित गरिरहेका छन् । यसको ज्वलन्त उदाहरण कतार पनि एक हो । वास्तविक कुरा के हो भने कतारमा छरिएर रहेका तामाङ कलाकारहरूलाई एकीकृत गर्नको लागि भन्दै सन २०१६ मा नेपाल तामाङ कलाकार संघ नामक सांस्कृतिक संस्थाको स्थापना भयो । त्यस संस्थाको स्थापना कालदेखि नै सहयोगीको रूपमा कही न कहीबाट मेरो सहभागीता रहदै आयो । कलाकार संघ पनि तामाङ नामकै एक अंग भएकोले नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा रही सांस्कृतिक लगायत विभिन्न गतिविधि गर्न सकिने र सबैले आ आफ्नो ठाउँबाट समाजको लागि अझ एकतावद्ध रुपमा तामाङ समुदायकै निम्ति गर्ने हो भन्ने कुरा बुझाउन मलाई झन्डै २ वर्ष लाग्यो ! अन्तत तामाङ समाज कतारलाई संरक्षक बनाउन सबै राजी भए । तर एक दुई जना व्यक्तिलाई भने यसो गरेको पटक्कै मन परिरहेको थिएन । फलस्वरूप गत १७ अगस्ट २०१८ का दिन नेपाल तामाङ कलाकार संघको दोस्रो साधारण सभा सम्पन्न भयो । सम्पन्न त भयो तर केही साथीहरू पद नपाएको झोकमा बाहिरिए । हामी अझै मिलाउन सक्थ्यौ र मिल्थ्यौ पनि । तर तामाङ समाज कतारबाट आफैले आफैलाई तिरस्कृत गरेका केही अवसरवादीहरू विगत लामो समय देखि यस्तै अवसरको प्रतिक्षामा थिए र यही मौकाको फाईदा उठाउने कुण्ठित मानसिकता बोकेका एक दुई जना व्यक्तिले ति बाहिरीएका सोझो व्यक्तिहरूलाई आफ्नो जालमा पारे र घेदुङको शाखा खोल्ने पकृया आगाडि बढायो । जसलाई साथ दियो केन्द्र घेदुङका अध्यक्ष मोहन गोलेले ! प्रमाण स्वरूप उनको भिसा बाहिरी सकेको छ ।
जागरुगता र सकृयताका दृष्टिले संस्थाहरू जति धेरै भयो त्यति नै राम्रो हुन्छ । तर गलत नियतले खोलिएका संस्थाहरूले समाज र संगठनको हित कहिल्यै गर्दैन । एउटा सांस्कृतिक संस्थाको नेतृत्व चयनको विषयलाई लिएर केही असन्तुष्टि व्यक्त भएकै बेला घेदुङको अध्यक्षले नै मौकामा चौका हान्नुपर्छ भनेर उकास्नु के उनको पदिय मर्यादा र नैतिकताले पनि सुहाउने कुरा हो यो ? ? आम तामाङहरूको प्रश्न यही हुन सक्छ । अर्को उदेक लाग्दो विषय त यो पनि होकी, सन २०१५ मा नेपाल प्रवासी तामाङ समाज कतारका तत्कालीन अध्यक्ष थर्च लामाको कार्यसमितिले नेपाल तामाङ घेदुङका तत्कालीन अध्यक्ष कुमार योन्जन र महासचिव कुमार ब्लोनको कार्यसमिति संग बृहत छलफल गरी कतारको लागि नेपाल प्रवासी तामाङ समाज कतारलाई नै घेदुङको प्रवास शाखाको रूपमा आधिकारिकता प्रदान गर्यो । त्यसपछिका दिनहरूमा तामाङ समाज कतारले घेदुङको हरेक कार्यहरूमा सहयोग गर्दै आईरहेको छ ।
नेपाल प्रवासी तामाङ समाज कतारको तर्फबाट तत्कालीन अध्यक्ष थर्च लामा, तत्कालीन उपाध्यक्ष तथा वर्तमान अध्यक्ष तीर्थ थिङ, घेदुङको तर्फबाट तत्कालीन अध्यक्ष कुमार योञ्जन र सचिव प्रतीक ङेसुर सम्मिलित संस्थागत छलफल द्वारा तामाङ समाज कतारलाई सम्बन्धन दिने र लिने साथै जस्तै परिस्थितमा पनि नेपाल प्रवासी तामाङ समाज कतारको इच्छा विपरीत कतारमा अर्को घेदुङ गठन नगर्ने उहाँहरूले स्पष्ट रूपमै भन्नुभएको थियो । तर दुःखको कुरा अहिलेको नेता गोले ज्यूले कतारको तामाङ समाजलाई घेदुङ संगको आवद्धताको विषयमा कुनै जानकारी नै नगरी अर्को घेदुङ गठन गर्न अनुमति दिनु कहासम्मको बेईमानी हो ? यो कस्तो फोहोरी राजनीति हो ? सम्बन्धन दिने लिने जस्ता संस्थागत दस्तावेजलाई एउटाले दिने अर्कोले खारेज गर्ने के यो समुदाय प्रतिको अपमान होईन ? के यो अग्रजहरू प्रतिको अपमान होईन ? आखिर उनी किन आफ्नै समुदायलाई फूटको मार्गमा हिड्न प्रेरित गरिरहेका छन् ? यति धेरै ठुलो अधिकार तामाङहरूले गोलेलाई दिएका छैनन्। घेदुङमा हरेक नेतृत्व परिवर्तन संगै त्यो नेतृत्वको मनपरीतन्त्र लागू हुन्छ भने घेदुङको संस्कार र संरचनामै खोट छ भन्ने बुझ्नुपर्ने हो त अब ? यदि हैन भने अघिल्लो कार्यकालले गरेका निर्णयहरू बदर गर्दै आफूखुसी गर्न घेदुङको वर्तमान नेतृत्वलाई छूट छैन । मात्र उनको यो अहंकारवादी, असमाजवादी, समाज भाट्ने ग्रस्त मानसिकताको उपज हो ।
मेरो व्यक्तिगत बुझाईमा घेदुङको अघिल्लो नेतृत्व वा भनौ पूर्व अग्रजहरूको भावना र चाहनाको म खुल्ला हृदयले सम्मान गर्दछु । उहाँहरूको चाहना संसारभर संगठित रूपमा कृयाशिल तामाङ समाजहरूलाई घेदुङको संरचना अनुसार एउटै नामबाट परिचलान गर्न सके तामाङ परिवर्तनमा अझ धेरै छलाङ मार्न सकिन्न्थ्यो । साथै घेदुङले उठाउदै आएको मुद्दालाई सम्बोधन गर्नको निमित्त सरकारलाई थप दबाव सृजना हुन्छ भन्ने कुरामा उहाँहरूको जोड थियो । हामी कतारका तामाङ समाज पनि यो विषयमा सचेत नै थियौछौं । तर कार्यकारी जिम्मेवारी पाएको नेतृत्वले खोई त पहल गरेको ? खोई चिन्तन गरेको ? खोई त छलफल र बहसहरु गरिनुपर्छ भन्ने सोच पलाएको ? खोईत हिजोको गल्ती कमी कमजोरीलाई सुधार गर्दै अझ तीव्र गतिमा आगाडि बढ्नुपर्दछ भनेर योजना बनाएको मेरो प्रश्न अध्यक्ष ज्यूलाई ? ?
अध्यक्ष ज्यूलाई म यो पनि सोध्न चाहन्छु, घेदुङ केका लागि ? हामीहरू जहाँ रहे पनि आफ्नो समाजमा संगठित हुने केका लागि ? सबैले गर्ने तामाङकै लागि होईन र ? यदि हो भने बहराईनमा तामाङ समाज हुदाहुदै अर्को घेदुङ किन गठन भयो ? कतारमा प्रयास भईरहेको छ, कुन उपयोगका लागि ? की फेरी पनि एक पटक अध्यक्ष पट्काउनको लागि रणनीति रच्दै हुनुहुन्छ ! की विदेश भ्रमणको लागि लालायित हुनुभएर हो ? यी सबैका लागि यस्ता विवादित कार्य गर्दै हुनुहुन्छ भने तपाई भ्रममा नपर्नुहोस् अध्यक्ष ज्यू, हजुरको यो रणनीति दीर्घकालीन हुन सक्दैन । टुटाउने फूटाउने समयलाई जोड्ने र तामाङहरूको हितमा खर्चिनुहोस् र घेदुङको आजीवन अध्यक्षको आशनमा आशिन रहनुहोस्, हामीलाई कुनै आपत्ति हुने छैन ।होईन भने घरमै आराम गरेर बस्नुस् । यसैमा हामी तामाङहरूको भलाई हुनेछ ।। थूजेछे ।