कुकुरलाई खुवाउन विदेशबाट नेपाली छुर्पीको माग बढ्दो

युरोप तथा अमेरिका र क्यानडामा ‘डग च्यु’का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको छ।
हड्डी वा अन्य कृत्रिम वस्तुको साटो कुकुरलाई चबाउन दिन पश्चिमी देशहरूबाट दूधलाई प्रशोधन गरेर बनाइने छुर्पीको अत्यधिक माग भएपछि पशुपालकहरूले उत्पादन बढाउन थालेको बताइन्छ।
इलामको सूर्योदय नगरपालिकास्थित गौमाता डेरी उद्योगका सञ्चालक मिलन भण्डारी आफूले उत्पादन गरेको छुर्पी युरोप निकासी हुन थालेपछि निकै हर्षित छन्।
महिनामा तीन हजार किलोसम्म छुर्पी बनाउने भण्डारीले कुकुरका लागि चिल्लोरहित ‘डग च्यु’ तयार पारिरहेको बताए।
उनले भने, “कुकुरलाई घ्यू पच्दैन नि त। त्यस कारणले दूधमा भएको चिल्लो पदार्थको मात्रा पूरै झिक्नुपर्छ। मान्छेले खानेमा चाहिँ चिल्लो अलिक राखेर बनाउँदा छुर्पीको तौल पनि बढी हुन्छ र खाँदा स्वादिष्ट पनि हुन्छ।”
उनका अनुसार उच्च गुणस्तरको छुर्पीबाट डग च्यु बनाउन धेरै गाह्रो छ।
“यसको सतह चिल्लो हुनुपर्यो, फुलेको हुनु भएन।”
कसरी बनाइन्छ डग च्यु?
डग च्यु विशेष प्रकारको छुर्पी हो। यसमा शून्य प्रतिशत चिल्लो पदार्थ राख्नुपर्ने मापदण्ड छ।त्यसका लागि दूधलाई फटाएर विभिन्न प्रक्रियाहरू पूरा गर्दै छुर्पी बनाउनुपर्ने इलाम सुलुवुङकी लीला भट्टराईले बताइन्।
उनले भनिन्, “दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौ वस्तुले किचेर राख्नुपर्छ। त्यसपछि सुरुमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउँमा राख्नुपर्छ र क्रमश: तातोमा सार्दै लानुपर्छ।”
छुर्पी सुकाउन धुवाँ चाहिन्छ। त्यसका लागि धुवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउने गरेको उनले बताइन्।
यस री एक महिना लगाएर छुर्पी सुकाइन्छ। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी अमेरिकी र युरोपेली मुलुकमा निकासी गरिन्छ।
माग
बजारको मागअनुसारकै गुणस्तरमा डग च्यु तयार भइरहेकाले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग उच्च रहेको व्यवसायीहरू बताउँछन्।
नेपालको पूर्वी पहाडी क्षेत्रमा उत्पादित छुर्पी सङ्कलन गरी अमेरिका निर्यात गरिरहेको मनराम हिमालयन ह्यान्डीक्राफ्टका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, “तीन वर्षको लागि हाम्रो सम्झौता हुन्छ। हामीले प्रत्येक वर्ष साढे दुई लाख किलो डग च्यु हामी अमेरिका पठाइराखेका छौँ।”
अहिले विदेशमा नेपाली डग च्युको निकै राम्रो बजार बनेको उनी बताउँछन्।कृषकले एक महिनादेखि ४५ दिनसम्म लगाएर तयार पारेको छुर्पीलाई कम्तीमा आफूहरूले छ महिनासम्म प्रशोधन गरेर मात्र अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको पनि श्रेष्ठले जानकारी दिए।
“कृषकले तयार पारेको छुर्पी बजारमा पुग्न कम्तीमा पनि छ महिना लाग्छ। काठमाण्डूमा ल्याएर पनि हामी यसको प्रशोधन गर्छौं, सुकाउछौँ अनि हरेक कुरा हेरेर, एक्सरे गरेर, साइज काटेर मात्रै बजारमा पठाउँछौँ।”
व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४/०७५ को ११ महिनाको अवधिमा नेपालबाट झन्डै साढे पाँच लाख किलो अर्थात् ८० करोड मूल्य बराबरको छुर्पी विदेश निर्यात भएको छ।
त्यसमध्ये ७२ करोड मूल्य बराबरको छुर्पी अमेरिका निर्यात भएको केन्द्रको तथ्याङ्क छ। बीबीसीनेपाली |