ताम्सालिङ जागरण:काभ्रे, सिन्धुली र भक्तपुरको बैठक ४ गते बस्दै
ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान अन्तर्गत काभ्रे, सिन्धुली र भक्तपुर टिमको बैठक असोज ४ गते बस्ने भएको छ । सबै स्थानीय तहमा टिम विभाजन भई घेदुङको संगठन निर्माण गर्न बैठक बस्न लागिएको टिम प्रमूख तथा संघीय कोषाध्यक्ष रुप योन्जनले बताए ।
बैठक बिहान ११ः३० बजे संघीय कार्यालय चुच्चेपाटीमा बस्नको लागि तयारी गरिएको कोषाध्यक्ष रुप योन्जनले बताए । काभ्रे र सिन्धुलीको केही ठाउँहरुमा बर्षातको कारण बाटो बिग्रेकोले अहिले तत्कालै पुग्न सम्भव नभएको भाषा विभाग प्रमूख काजिमान तामाङले बताए ।
अहिले सहज ठाउँहरुमा समिति गठन गरिसक्ने र असोज १५ पछि त्यस्ता दुर्गम ठाउँमा जाने गरी कार्यतालिका बनाउँदै गरेको टिमले जनाएको छ । यो टिममा रुप योन्जन (संघीय कोषाध्यक्ष), मिना पाख्रिन (संघीय सहकोषाध्यक्ष), काजिमान थिङ (भाषा विभाग प्रमूख), मिना लामा (प्रकाशन विभाग प्रमूख), जगत दोङ (सूचना विभाग प्रमूख), टासी लामा (प्रवास विभाग प्रमूख), हर्क तामाङ (विद्यार्थी घेदुङ अध्यक्ष), डिलबहादुर थोकर (संघीय सदस्य), पासाङ डोल्मु तामाङ (संघीय सदस्य), हिरालाल तामाङ (संघीय सदस्य), भरत लोप्चन (संघीय सदस्य), सुमित्रा बल (संघीय सदस्य) रहेका छन् ।
त्यसैगरी जितबहादुर तामाङ (प्रदेश उपाध्यक्ष), अनिशा थिङ (प्रदेश सदस्य), सुरेश वाईबा (प्रदेश सदस्य), सरु घिसिङ (प्रदेश सदस्य), गम्भीर सिंह मोक्तान (सिन्धुली जिल्ला अध्यक्ष), फुर्साङ मोक्तान (काभ्रे जिल्ला अध्यक्ष), कान्छामान तामाङ (भक्तपुर जिल्ला अध्यक्ष) रहेका छन् ।
जिम्मेवारी तोकिएको ठाउँमा नजाने कार्यकर्ताहरुको नाम संघीय कार्यालयमा अविलम्ब उपलब्ध गराउन घेदुङले पत्रकार सम्मेलनमै सबै टिमलाई निर्देशन दिइसकेको छ । यसैगरी आज बुधबार नै काठमाडौं, ललितपुर टिमले बौद्ध क्षेत्रका तामाङ समुदायसँग छलफल गरिरहेको सचिवालय सदस्य रामभक्त बोम्जनले बताए ।
हामीलाई प्राप्त जानकारी अनुसार चितवन, मकवानपुर, ललितपुर लगायतको जिल्लामा पनि समिति गठन सम्बन्धि कतिपय स्थानको मिति तोकिसकेको र कतिपय स्थानको तोक्न बाँकी रहेको बुझिएको छ । केही जिल्लामा स्थानीय तह गठन गर्न संयोजनको जिम्मेवारी तोकिएको ब्यक्तिहरुले आफ्नो टिममा के हुँदैछ ? भन्नेबारे सूचना नदिएको हुँदा त्यसमा के गर्ने भन्ने सम्बन्धि संघीय कार्यालयले प्रदेश संयोजक, सह संयोजक र सम्बन्धित टिमसँग छलफल गरिरहेको जनाएको छ ।
३ असोज २०७५