हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

केशवराज झा हत्या प्रकरण :भान्से तामाङलाई प्रहरीको अर्को यातना

काठमाडौं — एक महिनाअघि हत्या गरिएका पूर्वराजदूत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफूमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् । घटनाको अनुसन्धानमा प्रहरीले आफूमाथि चरम यातना दिएको भन्दै क्षतिपूर्ति र सम्बन्धित अधिकारीलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।


आयोगले त्यसमाथि ‘गम्भीरतापूर्वक छानिबन सुरु गरेको’ जनाएको छ ।

‘अपराध कबुल गराउन उनीमाथि नियोजित रूपमा यातना दिएको भन्ने उजुुरी परेको थियो, जसमाथि हामी यतिखेर प्रहरीसँग बयान लिने क्रममा छौंं,’ आयोगका एक अधिकारीले भने, ‘हिरासतमा लिइएकालाई यातना दिनु अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका दृष्टिले अक्षम्य अपराध हो, त्यसमाथि यसलाई हाम्रो मुलुकी अपराध संहिताले पनि भर्खरै अपराधीकरण गरेकाले आयोग यसबारे गम्भीर छ ।’

झाको हत्यालगत्तै प्रहरीले भान्से सानुकान्छा तथा मालीहरू जयबहादुर गुरुङ र आइतसिंह तामाङलाई हिरासतमा राखी अनुसन्धान गरेको थियो । त्यसमध्ये भान्से सानुकान्छाका तर्फबाट उनी हिरासतमै हुँदा उनका भाइ धनबहादुरले आयोगमा उजुरी गरेका हुन् । ‘मलाई प्रहरीले हत्या गरेको हो भन् कि भन् भने । गर्नु नगर्नु गर्‍यो हजुर,’ पक्राउ परेको २४ दिनपछि ८ हजार धरौटीमा रिहा भएका काभ्रे खोपासीका सानुकान्छा भन्छन्, ‘यातना सहन नसकेर भाइलाई मैले उजुरी गर्न लगाएको हुँ ।’ सानुकान्छाका अनुसार प्रहरीले अपराध कबुल गराउन फरकफरक ढंगबाट यातना दिने र तर्साउने काम गरेको थियो ।

‘सुरुका केही दिन मलाई पाइतालामा कालो पाइपले बेस्सरी पिटे,’ उनी भन्छन्, ‘ल भन् किन मारिस् भनेर केरकार पनि धेरै गरे । तर, मैले मारेको भए पो यस कारण मारेँ भन्नु, नगरेको दोषलाई जति पिटे पनि मैले कबुल गर्न सकिनँ ।’

महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पाइपले कुट्दा नबकेपछि चौथो दिनदेखि आफूलाई दिने यातनामा बदलाब आएको उनी बताउँछन् । ‘त्यसपछि मुख बन्द गराएर मेरो नाकबाट पानी हाल्ने काम भयो,’ हिरासतमा भोग्नुपरेको यातनाबारे उनी सम्झन्छन्, ‘यस्तो गर्दा सासै जाला जस्तो हुँदोरहेछ, त्यतिबेला मैले बाँच्ने आसै गरेको थिइनँ ।’तीन दिनजति यसरी सताउँदा पनि सानुकान्छाले इन्कारी बयान दिई नै रहे । ‘त्यसपछि मलाई साँझ ८ बजे आँखामा पट्टी बाँधी भ्यानमा हालेर जंगलमा लैजाने काम भयो,’ सानुकान्छाले आफूलाई सबभन्दा डर लागेको क्षणबारे भने, ‘त्यहाँ लगेर तँलाई बाँच्न मन छ भने अपराध कबुल गर् होइन भने गोली खाने भइस् भने प्रहरीले । केही अन्तिम इच्छा छ भने भन् भनेर पनि सोधे ।’

त्यतिबेला आफूलाई बाँच्नु यति नै रहेछ क्यार जस्तो लागेको उनी बताउँछन् । ‘मलाई गोली हान्नुस्, खान तयार छु भनेँ मैले,’ सानुकान्छा भन्छन्, ‘ज्यानै गए पनि गर्दै नगरेको अपराध म कसरी कबुल गर्न सक्थें र ?’ जस्तै गरे पनि नबकेपछि प्रहरीले उनको पट्टी खोलिदिए । ‘यसो नियालेको त पशुपतिको जंगल रहेछ,’ उनी भन्छन्, ‘त्यहाँबाट मलाई फेरि टेकु नै लगेर थुने ।’

त्यसपछि आफूलाई पाटनस्थित मानसिक अस्पतालमा लगिएको सानुकान्छाले बताए । ‘त्यहाँ मेरो पाखुरामा एउटा सुई लगाए, त्यसपछि चार दिनसम्म मेरो मगजले काम गर्न सकेन,’ उनी भन्छन्, ‘त्यसरी सुई लगाएपछि त दिमागै अर्कै हुँदोरहेछ ।’उनका अनुसार सानुकान्छा पाटनमा लगाइएको सुईले अर्धचेतजस्ता भए । ‘यस्तोमा आफूलाई सोधेको थाहा भए पनि के सोधे र जवाफ के दिएँ भन्ने थाहा हुँदोरहेनछ,’ सानुकान्छा भन्छन्, ‘बेहोसमै पनि मैले अपराध कबुल गरिनछु, कसुर भएको भए पो कबुल गर्थें त! त्यसपछि मलाई थप केही दिन राखेर २४ औं दिनका दिन प्रहरीले छाडिदिए ।’

अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह भने सानुकान्छालाई त्यस्तो कुनै यातना दिने काम नभएको बताउँछन् । ‘हामीले यातना दिएका छैनौं, अनुसन्धानका क्रममा पक्राउ गरेर सोधपुछ गरेका हौं,’ उनी भन्छन्, ‘यातना कहिल्यै कसैलाई हामी दिँदैनौं, उनलाई पनि दिएका छैनौं ।’

हिरासतमा रहुन्जेल यातना पाएको बताउने सानुकान्छा भदौ २८ मा रिहा भएका हुन् । उनी हिरासतबाट सिधै घर गए जहाँ अचेल बबरमहलस्थित पूर्वराजदूत झाको घरमा भएको त्यस त्रासदीपूर्ण घटना अघि र पछिको समय अनि घटनाक्रम उनको मगजमा सिनेमाको पर्दा झैं नाचिरहन्छ । बबरमहलस्थित झाको घरमा उनी ७ वर्षदेखि भान्सेका रूपमा काम गर्दै आइरहेका थिए । ‘घरमा उहाँ र म्याडम मात्रै बस्नु हुन्थ्यो,’ सानुकान्छा भन्छन्, ‘दुवैलाई मैले पकाएर खुवाउनुपथ्र्यो र खानपिनको समय दुवैको फरकफरक थियो ।’

दुवैलाई खानपिन गराएर भान्साको ढोका बन्द गरी गेट अघिल्तिरको एक जना सुत्न मिल्ने छाप्रोमा सानुकान्छा सुत्ने गर्थे । उनका अनुसार पूर्वराजदूत झा नुहाइधुवाई गरी बिहान ७ बजे सानुकान्छाले बनाएको चिया र नास्ता लिने गर्थे । घटना भएको अघिल्लो दिन भदौ २ गते भने झा बिहान पाँचै बजे उठेका थिए । त्यस दिन छोरा किरण झा परिवारसहित आयरल्यान्ड फर्किंदै थिए । बिहानको नास्ता उनले त्यस दिन चाँडै गरेको सानुकान्छा बताउँछन् ।

‘त्यसपछि दिउँसो १ बजे मैले लन्च पकाएर खुवाएँ,’ उनी सम्झन्छन््, ‘कार्यक्रम छ भनेर तीन बजेतिर उहाँ घरबाट निक्लनु भएको थियो, बेलुका सवा पाँचमा फर्किएर छोराबुहारीलाई एयरपोर्ट छाड्न जानुभयो । फर्किंदा बाहिरै खानु भएको रहेछ, मैले उहाँका लागि बनाउनुपरेन ।’

भदौ ३ गते बिहान पाँचै बजे सानुकान्छा उठे । ‘त्यस दिन बबरमहल टोलका धारामा पानी आउने पालो थियो,’ उनी भन्छन्, ‘५ बजेर ५ मिनेटमा आएको पानी ६:१० मा बन्द भयो ।’

त्यसैबेला मालीहरू जयबहादुर गुरुङ र आइतसिंह आइपुगेकाले १० मिनेटजति उनीहरूसँग सामान्य गफगाफ भएको सानुकान्छालाई सम्झना छ । नुवाकोटेका आइतसिंह र गोरखाका जयबहादुर बूढानीलकण्ठतिर बस्थे र बिहान झाको घरमा आई दिनभरि काम गरेर साँझ घरै फर्कन्थे ।

‘उनीहरूसँग कुरा गरेर म किचेनमा पुग्दा ६:२० भएको थियो,’ सानुकान्छा भन्छन्, ‘त्यसैबेला म्याडम ज्ञानु झा आइपुग्नुभयो ।’सानुकान्छाले उनका लागि दूध हालेको चिया बनाएर दिए । त्यसपछि आफू केही बेर भान्साको भुइँ पुछ्नतिर लागेको उनी बताउँछन् । उनका अनुसार झा दम्पती वर्षाैंदेखि बेग्लाबेग्लै सुत्थे भने उनीहरूको आपसमा खासै मेल पनि थिएन ।

‘तर बिहान आफूले चिया खाइसकेपछि उहाँ जहिल्यै सरलाई चियाका लागि बोलाउनुहुन्थ्यो,’ सानुकान्छा भन्छन्, ‘त्यस दिन पनि उहाँले बोलाउनुभयो ।’

ज्ञानुले तीन पटकसम्म चिच्याएर ‘ए हजुर !’ भन्दासम्म पनि झाको जबाफ आएन, न उनी माथि नै उक्ले । उनका अनुसार ‘जा त कान्छा उहाँ बाथरुममा हुनुहुन्छ कि हेर’ भनेर ज्ञानुले उनलाई अह्राएकी थिइन् । ‘बाथरुममा जाँदा बत्ती बलेको थिएन, त्यसैले उहाँ कोठामै हुनुहुन्छ जस्तो छ भनेर मैले म्याडमलाई सुनाएँ,’ सानुकान्छा भन्छिन्, ‘त्यसो भए कोठामै गएर हेर त भनेर उहाँले भन्नुभयो ।’

पहिलेको भान्सेले सामानहरू चोरेकाले झा दम्पतीले पनि आफूमाथि जहिल्यै शंकाको नजरले हेर्ने हुँदा भान्साबाहेक त्यस घरमा अन्यत्र कतै पनि एक्लै जाने नगरेको सानुकान्छा सम्झन्छन् । ‘मैले हजुर पनि साथै हिँड्नुस् न म्याडम भनें, उहाँ तयार पनि हुनुभयो,’ सानुकान्छाले भने, ‘कोठाभित्र हामी जाँदा उहाँ सुतिरहनुभएको देखिन्थ्यो, तकियाले मुख छोपेको थियो । भित्र पसेर हेर्दा त टाउकामा घाउ थियो, छातीमा छुरी ।’

त्यो देखेपछि आफ्नो सातो गएको सानुकान्छा सम्झन्छन् । ‘अनि मैले जयबहादुर र आइतसिंहलाई लौ न के देख्नुपरेको यस्तो भन्दै आत्तिएर बोलाएँ,’ उनी भन्छन्, ‘म्याडमले भने हामीलाई घर जाऊ भन्नुभयो ।’

यस्तो अवस्थामा के छाड्नु भनेर आफू नगएको सानुकान्छा बताउँछन् । ‘त्यसपछि उहाँले बानेश्वरमा बस्ने आफ्ना भाइबुहारीलाई फोन गरेर बोलाउनुभयो,’ सानुकान्छाले भने, ‘उहाँहरू आएपछि मात्रै प्रहरीलाई खबर गर्ने काम भएको हो । प्रहरी आएर घटनाको निरीक्षण गरेपछि आफूलाई भ्यानमा हालेर टेकु लगिएको सानुकान्छाले बताए । ‘मलाई प्रहरीले केही सोधपुछ गर्न‘छ भनेर भ्यानमा हालेर लगे,’ सानुकान्छा भन्छन्, ‘तिमीलाई तरकारीहरू किन्न चाहिन्छ होला भनेर म्याडमले जाने बेलामा पाँच हजार रुपैयाँ दिनुभयो ।’

प्रहरीसँग जाने बेलामा पैसाको के काम भनेर सानुकान्छाले लिन अस्वीकार गरे । तर ‘राख न’ भनेर ज्ञानुले कर गरेको सानुकान्छाले बताए । हिरासतमा राखिएपछि भने घटना कबुल गराउन चरणबद्ध यातना दिइएको कान्तिपुरमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution