आशु झार्दै निर्मलाकी आमाले प्रधानमन्त्रीसँग सोधिन् : हामीले न्याय पाउने कि नपाउने ?
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबासँग प्रधानमन्त्री केपी ओलीले भेट गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गा र बुबा यज्ञराजसँग त्यस क्षेत्रका सांसद र अधिकारकर्मीहरुसहित भेट गर्नु भएको हो । भेटमा घटनाको विवरण सुनाउँदै निर्मलाकी आमा दुर्गाले न्याय पाउनेकी नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभयो । दुर्गाले गहभरी आँसु झार्दै कञ्चनपुरमा आन्दोलन गर्दा पनि न्याय नपाएपछि आफूहरु काठमाडौं आउनु परेको पनि बताउनुभयो ।
घटनाको विवरण आमाबाटै सुने पनि प्रधानमन्त्री ओलीले बालिका निर्मलाको हत्याको घटनाले जोकोहीलाई पीडित तुल्याएको उल्लेख गर्दै घटनाका दोषीलाई उम्कन नदिइने बताउनुभयो । उहाँले अपराधी ठूलो नहुने र त्यसलाई कारबाहीको दायरामा ल्याइछोडने आश्वासन पनि दिनुभयो ।
प्रधानमन्त्री ओलीले त्यस घटनालाई आफूले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै घटनालाई ढाकछोप हुन नदिन सरकारले धेरैवटा छानबिन टोली परिचालन गरेको पनि स्मरण गराउनुभयो । उहाँले घटनाको तथ्य पत्ता लगाउन डीआईजी नेतृत्वको शक्तिशाली छानबिन टोली परिचालन गरिएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले घटनामा प्रमाण नष्ट गर्नेलगायतका काम गरेको पाइएपछि त्यहाँ परिचालित ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरिएको पनि स्मरण गराउनुभयो ।
त्यस अवसरमा अधिकारकर्मीहरुले पनि प्रधानमन्त्री ओलीसँग पीडितलाई न्याय दिन आग्रह गर्नु भएको थियो । सरकारले त्यस घटनाको छानवीनका लागि डीआईजी धिरु बस्नेत नेतृत्वको नौ सदस्यीय टोली परिचालन गरेको छ । प्रधानमन्त्री ओलीले दोषी पत्ता लगाई कडा कारबाही गर्न डीआईजी नेतृत्वको छानबिन टोली नै परिचालन गरिएको समाचार उज्यालो अनलाइनमा छ |