इजरायली सेना र प्यालेस्टाइनी नागरिकहरुबीच झडप

इजरायली सेना र प्यालेस्टाइनीहरु बीच वेस्ट ब्यांकमा भिषण भिडन्त भएको छ। करिब १३ हजार प्यालेस्टाइनीहरुले सीमा क्षेत्रमा प्रदर्शन गरिरहँदा इजरायली सेनाले उनीहरु विरुद्ध कारवाही गरेको थियो। सेनाले प्रदशर्न गरिरहेकाहरु माथि बम, ग्रीनेड र गोली चलाएको बताइएको छ।प्रदर्शन गरिरहेका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षे दुर्इ युवक र १२ वर्षे बालक समेत रहेको जनाइएको छ। २५० जना भन्दा बढी प्रदर्शनकारी घाइते भएको जनाइएको छ। ११ जनालार्इ गोली लागेको र उनीहरुको अवस्था नाजुक रहेको बताइएको छ।
हिजो खान युनिस क्षेत्रमा रहेको सैन्य इलाका नजिकै बिस्फोटक पदार्थ भेटिएको थियो। त्यसैले इजरायली सेनाले हमास लक्षित आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। तर, आक्रमणबाट प्रभावित हुनेमा महिनौं प्रदर्शन गरिरहेका आम सर्वसाधरण रहेको बताइएको छ।
गत मार्च महिना देखि गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले प्रदर्शन गर्दै आएका छन्। इजरायलको कारवाहीबाट हालसम्म १७९ प्यालेस्टाइनीहरुको मृत्यु भइसकेको छ। यसै क्रममा इजरायलफ सैनिकको पनि मृत्यु भएको जनाइएको छ।
हमास विद्रोहीहरुलार्इ नियन्त्रण गर्ने भन्दै इजरायलले सन् २००८ देखि गाजा क्षेत्रमा नाकाबन्दी लगाउनुका साथै सैन्य अपरेसनहरु संचालन गर्दै आएको छ।
विवादास्पद गाजा क्षेत्रमा बस्दै आएका थुप्रै प्यालेस्टाइनीहरुलार्इ पक्राउ गरी इजरायलले हिरासतमा राख्दै आएको छ। केही महिना अघि मात्र एक इजरायली सैनिकलार्इ थप्पड हानेको आरोपमा छ महिना जेल सजाय सुनाइएकी प्यालेस्टाइनी युवती अहद तमिमिलार्इ रिहा गरिएको थियो। तर इजरायलले उनी र उनका परिवारका सदस्यहरुलार्इ विदेश भ्रमण गर्न रोक लगाएको छ।