निर्मला हत्याकाण्डको अर्को पाटो खुल्यो ! कनामा कानेखुसी गरेपछि…

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित ३ जनाको डिएनए परीक्षणका लागि नमूना लिइएको छ ।
निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रहरी प्रवक्ता शैलेश कुमार थापा क्षेत्रीले जानकारी दिए । शिक्षण अस्पताल महाराजगञ्जका विधिविज्ञान विज्ञ प्राध्यापक डा.हरिहर वस्तीले नमूना संकलन गरेका हुन् । त्यो नमुना उनले प्रहरीलाई बुझाएका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्या आरोपमा पक्राउ गर्न लगाएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा निर्मलाको डिएनए फाइलसँग मिलेन । उनी भदौ २६ गते थुनामुक्त भए । यस्तै, निर्मला गृहकार्य गर्न गएको घरका बम दिदीबहिनी समेत दिलिपसँगै रिहा भए । यही हो निर्मला घटनाबारे भएको पछिल्लो प्रगति ।
भान्जीको लास आफैँ जलाउन तम्सिने मामालाई के हुन्छ कारबाही ?
तीर्थराज भण्डारी निर्मलाका मामा पर्छन् । निर्मलाका बुबाको कुरालाई आधार मान्ने हो भने, निर्मलाको हत्या हुनु अघि उनी आफ्नो भान्जीको घर कहिल्यै आएका थिएनन् । तर, शव बुझ्न हतारो गर्ने र निर्मलाको शव डढाउन तम्सिने पहिलो व्यक्ति थिए, उनै मामा तीर्थराज भण्डारी । नाम तीर्थ (पुण्यस्ठल), काम ‘पाप’, दुराचार ।
निर्मलाको हत्यापछि अभिभावकलाई फकाउने जिम्मा नै उनले लिएका थिए भन्दा फरक पर्दैन होला । मामा तीर्थराज भण्डारीले मूख्य भूमिका खेलेर १५ लाखमा कुरा मिलाएको भन्दै स्थानीयले प्रदर्शनका क्रममा उनी विरुद्ध चर्का नारा समेत लगाएका थिए । त्यो कुराले पनि प्रहरीलाई रिस उठेको हुनुपर्छ । प्रहरीले एक जनाको ज्यान लियो भने, दुई जना अहिले पनि जीवन मरणको दोसाँधमा छन् ।
भण्डारीले समेत शव बुझ्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । रातारात गराइएको ४ बुँदे सहमतिपत्रमा निर्मलाका आमाहरु दुर्गा र लक्ष्मी सहित उनका बाबु यज्ञराज पन्तले पनि हस्ताक्षर गरेका छन् । त्यो पत्रको प्रतिलिपि हाम्राकुरासँग सुरक्षित छ । निर्मलाका आफन्तको सूचीमा राखेर प्रहरीले १० जनाको हस्ताक्षर लिएको छ ।
निर्मला हत्या काण्डको अर्को पाटो खुल्यो !
पदाधिकारीको नाममा, प्रदेश ७ का प्रदेशसभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बहादुर विष्ट, नगरप्रमुख .कुमार चन्द, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपीबाट निलम्वित दिल्लीराज बिष्ट, एपी विनोदराज श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, नेपाली सेनाका सेनानी विशाल सिंह सहित १३ जनाको हस्ताक्षर छ ।
मेयर र एसपी विष्टले हूलहुज्जतै गरेर प्रमाण नष्ट पार्न गरेका तिकडम र तीर्थराजलाई झिकाएर शव जलाउन गरेको प्रपञ्चले आफूलाई अहिलेपनि पोलिरहेको बताउँछन्, निर्मलाका बुबा यज्ञराज । यतिसम्म कि मामा हुँ भन्दै उनी नै आफैं शव बुझेर जलाउन तम्सिए । मेयर सुरेन्द्र विष्टसँग केहीबेर कनामा कानेखुसी गरेपछि तीर्थराज आफैँ शव बुझ्न अघि सरे । उनले निर्मलाको बुबा अर्थात् आफ्ना भिनाजु यज्ञराजलाई मानसिक रोगी समेत भन्न भ्याए ।
उनले भनेको अहिलेपनि यज्ञराजको कानमा गुन्जिरहन्छ, ‘मेरा भिनाजु मानसिक रोगी हुन् । यिनका कुरा के सुन्नु ।’ तर, यज्ञराजले विवाह भएदेखि उनी कहिल्यै हामीलाई भेट्न आएका थिएनन्, भन्छन् । निर्मलाको हत्या हुँदा पनि उनी भीमदत्तनगरमा नाम चलेको ओपेरा होटलमा बसे । साथी दिए पदमराज भट्ट । निर्मलाको शव भेटिदाँ, रोई कराई गर्दा साहानुभूति दिन नआएका मामा थीर्थराज एका एक भान्जीको शव म बुझ्छु भनेर तम्सिए । यज्ञराजले मानेनन् । तर, उनले शव लिन नगरपालिकाको थोत्रो गाडी पनि अस्पतालबाहिर तयारी अवस्थामा राखिसकेका रहेछन् । यज्ञराज शव नसडोस् भनेर बरफ लिन गएको बेला तीर्थराज शव बुझ्न तयार भएका रहेछन् ।
लहरो तान्दा पहरो, बीचमा मिसिए पदमराज र मेयरसा’व
पदमराज भट्ट मेयर सुरेन्द्र विष्टका साथी हुन् । अनि तीर्थराजका पनि साथी । मेयरकै आग्रहमा पदमले बोलाएर तीर्थराज शव बुझ्न तम्सिएका रहेछन् । त्यो बीचमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एवं एसपी विष्टले तत्काल शव नजलाए सबैलाई जेल हालिदिने धम्की दिए । यज्ञराजले शव उठाउन नमान्दा प्रहरी ईन्पेक्टरले हातपातै गर्न खोज्छन् ।
यज्ञराजले शव उठाउन मानेकै छैनन् । तर, तीर्थराजले आफ्नो भान्जी मैं जलाउँछु भन्दै आफ्नो भिनाजुलाई तथानाम गाली गरे । प्रहरीले पनि मामाकै भनाईमा होमा हो थप्यो । यज्ञराजमाथि हातपातै हुने अवस्था आयो । रातारात कागज तयार भयो । भोलिपल्ट मध्यान्ह १२ बजेसम्म लास नउठे कफ्र्यु लगाउने र गोली चलाउने सम्मको धम्की आयो । परिवारले निर्मलाको शव बुझे । अनि जल्यो शव । र, निर्मलाका बाबु अामाकाे सपना समेत जल्याे सब ।
तीन केटा, तीन केटी
होटल ओपेराका सञ्चालकले देखेका तीन केटा तीन केटी को थिए भन्नेमा । दुई केटाको नाम खुल्यो । एक जना एसपीका छोरा, अर्को मेयरको भतिजा । तर, एक केटा तीन केटीको नाम खुलेन ।
निर्मला हराएको दिन साउन १० गते एसपी डिल्लाराज विष्टका छोराको जन्म दिन थियो । महेन्द्रनगरभरिमा कहलिएको होटल ओपेरामा किरण्सहित तीन जना केटा र तीन जना केटीहरू त्यहाँ पुगेको कुरासम्म निर्मलाका बुबाको कानमा परेको रहेछ । तीनै जना केटी गोरी थिइन् । त्यो मध्ये एउटीचाहिँ सानी थिई भन्दा यज्ञराजको मनमा चिसो पस्यो ।
कतै त्यो सानी केटी मेरै छोरी त थिइन । उनको मनमा भुइँचालो आयो । अनि अरु दुई केटी रोशनी र बबिता नै पो थिए कि ? यज्ञराज अहिले पनि भन्छन् । योबीचमा धेरैले हामीलाई दोधार दोधारमा राखे । कसैले पक्का कुरा गरेनन् । राज्यले समेत अनेक तमासा देखायो ।