हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

श्रीमतीको नाममा व्रत

श्रीमानको आयु बढाउन तिजमा कति महिला मात्रै व्रत बस्ने ? श्रीमतीको आयु बढाउन श्रीमान् पनि व्रत बसे हुन्न र? तिजमा पुरुषले पनि व्रत बसे हुन्न र ? भनी प्रश्न गर्न थालिएको र बहस सुरु भएको एकाध वर्ष भयो । कतिले सह–अस्तित्वको सवाल उठाउँदै त कतिले सहप्रेमलाई जोडेर महिला मात्रै किन व्रत बस्ने भन्ने सवाल उठाइरहेका छन् । तिजमा पुरुष व्रत बस्नै हुन्न त?

संस्कृतिविद्का अनुसार तिजमा पुरुष व्रत बस्नुपर्ने भनी कुनै शास्त्रमा उल्लेख छैन। शिवलाई श्रीमानको रुपमा पाउन पार्वतीले व्रत बस्दा मनोकामना पूरा भएको धार्मिक मान्यताका आधारमा महिलाले जीवनसाथीको सुस्वास्थ्यको कामना गर्दै व्रत बस्ने गरेको देखिन्छ।

‘जताततै महिलाको मात्रै कुरा आयो, महिलाले पुरुषलाई पाउन व्रत बसेका कथा सर्वव्यापी भएकाले महिलाले मात्रै व्रत बस्नुपर्छ भन्ने मान्यता हामी आफैँले बसाल्यौं,’ संस्कृतिविद् विणा पौडेलले भनिन्, ‘शास्त्रमा पुरुषले तिजको व्रत बस्नु हुँदैन भनेर लेखेको छैन।’

बाल्मिकी विद्यापिठकी सह प्राध्यापक प्रियंवदा काफ्लेको मत पनि उस्तै छ । प्रराणाचार्य समेत रहेकी उनी पनि तीजमा महिला र पुरुष दुबै ब्रत सक्ने बताउँछिन् । शास्त्रमा महिलाले मात्र ब्रत बस्ने भनेर नलेखेको उनले बताइन् ।
शास्त्रले रोकतोक गरेको छैन भने कहीँकतै श्रीमतीको सुस्वास्थ्यको कामना गर्दै तिजमा व्रत बस्ने श्रीमान् पनि छन् कि ?
यही जिज्ञासा मेटाउने प्रयासका क्रममा शुक्रवारले केही श्रीमान् भेट्यो जो श्रीमतीको सुस्वास्थ्यको कामना गर्दै तिजमा व्रत बस्छन् । तर समाजसँग भने हल्का लजाउने रहेछन् उनीहरु अझै । त्यसैले तस्बिर सार्वजनिक गर्न मानेन् तीनै जोडिले । तर आफ्नो तीजको ब्रत यात्रा भने मन खोलेर बाँडे ।

शिवले जुराएको जोडी

दोलखाका विक्रम सिग्देल काठमाडौंमा बस्छन् । उनी सानैदेखि धार्मिक वातावरणमा हुर्किए । प्रारम्भिक शिक्षाबाहेक नेपालको स्कुलमा पढ्न पाएनन् । बाबुले सानो उमेरमा भारतको बनारसमा संस्कृत पढ्न पठाए । पढाइ सकेर नेपाल फर्किएका उनी अहिले पुरेत्याईँ गर्छन्।

उमेरले २८ वर्ष पुगेका सिग्देलको बिहे भएको तीन वर्ष भयो । यी तीन वर्ष उनी पनि श्रीमतीसँगै तिजमा ब्रत बसे ।
‘श्रीमतीको स्वास्थ्य र शिव र पार्वतीलाई धन्यवाद दिन हरेक तिजमा पानी पनि नपिएर व्रत बस्ने गरेको छु,’ उनले भने ।
उनले व्रत सुरु गर्नुका पछाडि रोचक प्रेम कहानी पनि जोडिएको रहेछ ।

उनी अविवाहित नै थिए । काठमाडौंको असनको भिडमा उनले एउटी युवती देखे । पहिलो हेराइमै प्रेममा परे उनी तर ती युवतीको उनलाई न नाम थाहा थियो न ठेगाना नै ।

‘अब बाटोमा त कति बटुवा भेट हुन्छन् तर खै किन हो, मलाई उनी नै मनप¥यो,’ फिल्मी शैलीको प्रेम कहानी खोल्दै विक्रमले भने, ‘मन त प¥यो तर नचिनेको मानिसलाई कसरी भेट्नु ?’

भेट भइहाल्छ कि भनेर उनले धेरै पटक असन चहारे तर भेट भएन । तिजको दिन उनी पशुपति मन्दिर क्षेत्रमा भक्तजनलाई टीका र डोरो लगाइदिन बसेका थिए । कतै उनी पनि आएकी छन् कि भनेर भिडमा आँखा गइरहन्थ्यो ।
‘अचानक असनमा देखिएकी युवती साथीहरुसँगै मै बसेको ठाउँमा टीका लगाउन पो आइन् !’ उत्साहित हुँदै उनले शुक्रवारसँग भने, ‘एक छिन त सपना देखेझैँ भयो । उनको हात समातेर डोरो बाँधिदिएँ र भगवानसँग उनलाई मागेँ । माग पूरा भयो ।’

विवाह नभएसम्म उनले ती युवतीलाई पाऊँ भन्दै तिजमा व्रत बसेका रहेछन् । आखिर दुवैको जोडी जु¥यो । उनै युवती कविता अहिले उनकी पत्नी भएकी छन् ।

‘भगवानले मेरो कामना पूरा गरिदिए, मेरो व्रत सफल भयो,’ उनले भने, ‘त्यसैले प्रत्येक तिजमा शिवपार्वतीलाई धन्यवाद दिन र कविताको सुस्वास्थ्यका लागि व्रत बस्ने गरेको छु ।’

लुकीलुकी व्रत

काठमाडौं ट्यांग्लाफाँट निवासी सन्तोष, प्रत्येक तिजमा श्रीमतीको सु–स्वास्थ्यको कामना गर्दै व्रत बस्छन् तर उनी व्रत बसेको श्रीमतीबाहेक परिवारका अन्य सदस्यले थाहा पाउँदैनन्।

‘म पहिले निकै बिग्रिएको थिएँ, मेरी श्रीमतीले नै मलाई ठीक बाटोमा ल्याइन्,’ उनले भने, ‘उनी बिरामी छिन्, व्रत बस्न सक्दिनन् । त्यसैले उनको सुस्वास्थ्यको कामना गर्दै म नै व्रत बस्ने गर्छु ।’

उमेरले पचास पुग्न लागेका सन्तोषले तिजको व्रत बस्न थालेको चार वर्ष जति भयो । उनको श्रीमतीलाई छारे रोगले गाँजेपछि उनले व्रत बस्न थालेका हुन् । घरमा दाजुका परिवार पनि छन् । भाउजू दाजुका लागि व्रत बस्छिन्, उनी भने श्रीमतीका लागि व्रत बस्छन् तर गुपचुप।

लुकीलुकी किन व्रत बस्नुपर्यो त ?

‘दाइ अलि कडा स्वभावका छन्,’ सन्तोषले खुलाउँदै भने, ‘यस्तो गरेको दाइले मन पराउँदैनन् ।’ तिजमा जब सबै जना सुत्न जाँदा सन्तोष भने एकान्तको फाइदा उठाउँछन् । उनी एकान्तमा शिव–पार्वतीको पूजा गर्छन्, श्रीमतीलाई टीका लगाइदिन्छन् । पत्नीको हातले दिएको फलफूल खाएर व्रत तोड्छन् ।

उनकी पत्नी भने आफूले लिनुपर्ने व्रत पतिले लिएकामा लाज मान्दै आउँदो साल यस्तो नगर्न चेताउँछिन् । हिजोआज भने सन्तोष र उनकी पत्नी दुवै बानी परिसके । न सन्तोषलाई व्रत नबसिरहन चित्त बुझ्छ न पत्नीले फलफूल नखुवाई व्रत छुटाएको मन पर्छ ।

व्रतको रहर, समाजको डर

कोटेश्वर बस्ने कमल खनाल तिजमा व्रत बस्छन्, बेलुकी चोखो खान्छन् तर पूजा भने गर्दैनन् । समाजको पुरुषवादी सोचका कारण पूजा नगरेको उनको तर्क छ । साथीभाइसँग आज मेरो व्रत हो नि भनेर सेयर गर्दा खिसी गर्दै हाँस्ने गरेको तीतो अनुभव छ उनको । खिसीटिउरी सुनेर मन अमिलो बनाउनु भन्दा कसैलाई थाहै नदिई व्रत बस्नु राम्रो भनेर पूजा नगर्ने गरेको उनले बताए । तिजमा व्रत बसेको सुनेर युवतीहरु पनि हाँस्छन् रे !

‘एकपटक मिल्ने केटी साथीलाई म पनि तिजको व्रत बस्छु नि, भनेको थिएँ, उनीहरुले खिसी गर्दै हाँसे,’ कमलले भने, ‘त्यसो भए त तँलाई मेकअप गर्न पनि मनपर्छ होला है ! अनि तैँले केटीसित किन बिहे गरेको त पो भने ।’

‘महिलाका लागि वा महिलासँग झुक्दा कमजोर भइन्छ भन्ने सोच समाजमा छ,’ उनले भने, ‘त्यसैले अनावश्यक बहस गर्नु भन्दा कसैलाई थाहै नदिई ब्रत बस्यो, आनन्दै ।’

यस्तो हुँदाहुँदै व्रत चैँ किन बस्नुपर्यो त भन्ने जिज्ञासामा उनले भने, ‘मेरो जीवनभर साथ दिन्छु भनेर आएकी श्रीमतीको स्वास्थ्यको कामना गर्न मन लाग्यो ।’ तस्बिरहरु मोडलिङमा आधारित

तीजका ५ कथ्य

१. भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीले शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत बसेकी थिइन् र त्यो दिन यही हरितालिका तिजको दिन परेकाले तिजको दिन विवाहिताले श्रीमान् र अविवाहिताले हुनेवाला श्रीमान्को स्वास्थ्यको कामना गर्दैै व्रत बस्छन् ।

२. हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन दिएका थिए । उक्त कुरा पार्वतीलाई मन नपरेपछि उनी आफूले मन पराएको वर प्राप्त गर्न जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भैसक्दा पनि फल नपाउँदा अब यसरी भएन भनेर उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई व्रत सुरु गरिन् । पार्वतीको त्यस्तो कठोर व्रतका कारण शिवजी प्रकट भै चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए र पछि शिव र पार्वतीको विवाह भयो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले सोही तिथिदेखि महिलाहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले ।

३. हिमालयले छोरी पार्वतीको जबरजस्ती विष्णु भगवानसँग बिहे गरिदिन लागेकाले उनका सखीहरुले पार्वतीलाई हरण गरी कसैले नभेट्ने ठाउँमा लुकाएका थिए । त्यही हरण गरेको दिनलाई हरितालिका (हरित भन्नाले हरण आलिका भन्नाले साथी) तिजका रुपमा मनाउन सुरु गरिएको पनि बताइन्छ ।

४. पुराणअनुसार— ‘हरित’ (अपहरित) ‘अलियो’ (संगिनीहरु) द्वारा लुकाइएर कन्दरामा यो व्रतको पालन गरिएको हँुदा, यसको नाम ‘हरितालिका’ भनेर प्रसिद्ध भयो ।

५.थोरै परिश्रमले धेरै फल पाइने व्रत–उपवासका बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएको र तीनै चीजको संयोग भएको समयमा उपवास बसी आराधना गर्नाले सबै पापबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नागरिक  शुक्रवार साप्ताहिकबाट

‍‍ *** *** ***

तिजको व्रतबारे केही विचार

आफ्नै लागि व्रत
डा. प्रकृति ज्ञवाली

धार्मिकरूपमा चलिआएको हुनाले तीजको व्रत लिन्छु । श्रीमान् तथा परिवारको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने हो । तर मैले व्रत लिँदैमा श्रीमान् स्वस्थ हुन्छन् भन्नेमा भने विश्वास छैन । श्रीमान् स्वस्थ हुन आफँैले स्वास्थ्यको ख्याल गर्नुपर्छ । आफ्नै स्वास्थ्यका लागि व्रत बस्ने हो ।

‍‍ *** *** ***

गाह्रो भए फलफूल खान्छु
डा. अनुपमा कार्की (कुँवर)

श्रीमती व्रत बस्दैमा श्रीमान् स्वस्थ हुन्छन् भन्नेमा विश्वास गर्दिन तर म व्रत बस्छु । यो धार्मिक विश्वास पनि हो । सकभर निराहार व्रत बस्छु । तर, गाह्रो भयो भने फलफूल खान्छु ।

‍‍ *** *** ***

दर खान्छु, व्रत बस्दिन
डा. स्मिता जोशी

कलेज पढ्दा एकपटक व्रत बसेकी छु । नत्र म तीजको व्रत बसेकी छैन । हामी नेवारी समुदायमा तीजको व्रत बस्ने चलन छैन । साथीभाइ भेटघाट तथा दर भने खान्छु । स्वास्थ्यका दृष्टिकोणले पनि व्रत बस्नु राम्रै हो । तर आफ्नो स्वास्थ्यको अवस्था हेरेर बस्नु पर्छ । तीजमा व्रत बस्दा श्रीमान्को आयु बढ्छ भन्ने आस्था र विश्वासको कुरा हो ।

‍‍ *** *** ***

तिज हेर्दा रमाइलो
सरस्वति प्रतिक्षा, साहित्यकार

दिदिबहिनी भेटेर रमाइलो गरेको मलाई मन पर्छ । म खासै कार्यक्रममा सहभागी हुन्न । तर अरुले मनाएको देख्दा भने खुसी लाग्छ । अहिलेसम्म व्रत बसेको छैन । व्रत बस्नु शरिरको दृष्टीकोणले राम्रै भए पनि यससगँ जोडीएको कुरितिमा भने विश्वास गर्दिन । सांस्कृतिक पाटा मन पर्छ तर यसको कुरीती मन पर्दैन ।

‍‍ *** *** ***

मानेकै छैन
सिमा आभाष, साहित्यकार

अहिलेसम्म तिज मानेको छैन । अरुले मान्दा आपत्ती पनि छैन । तीजमा भेला भएर रमाइलो गरेको खाएको देख्दा रमाइलै लाग्छ तर हिजोआज महिलाहरुले एक महिना देखि खाएँ भनेर विरोध गर्ने गर्छन् । तीज मात्रै हैन कुनै पनि पर्वमा विषेष गर्ने चलन छैन । हिन्दु भएकाले आएका चाडपर्व अलिअलि मनाइन्छ । पञ्चमी पुजामा सुनाइने कथा औचीत्यहिन लाग्छ । महिनावारीलाई त सेलिब्रेसन गर्नु पर्ने ठाउँमा कुरीतीको कथा सुनाउनु ठिक लाग्दैन ।

‍‍ *** *** ***

महिलाको अवसर
डिला सङग्रौला, नेतृ

तीजलाई मैले महिलाको अवसरको रुपमा बुझेकी छु । यो बेलामा धेरै महिलाको जमघट हुन्छ । पहिला पहिला घरबाट बाहिर निस्कन नपाउने महिलाहरु यसैको माध्यमाट निस्कन्थे होलान् । आफ्नो दुख सुखका कुरा गीत संगित मार्फत प्रस्तुत गर्ने माध्यम पनि बनाँए ।
म मज्जाले ब्रत बस्छु । ब्रत बस्दा आफैलाई फाइदा हुने हो, अरुलाई हैन । पहिले पहिले माइत गइन्थ्यो अहिले आमा लण्डनमा हुनुहुन्छ यतै दिदिबहिनी सगँ मनाउने सोचाइ छ ।

‍‍ *** *** ***

म त व्रत बस्छु
महालक्ष्मी उपाध्याय डिना, नेतृ

म त व्रत बस्छु । भगवानको पुजा गर्छु । परापुर्वकाल देखिनै चलिआएको संस्कारलाई जोगाउनु हाम्रो दायीत्व हो । अरुले गाएको, नाचेको हेरेर मनै रमाउने हुन्छ । यो दिन महिलाको लागि विषेष दिन हो । पहिले महिला भेटघाट हुने निकै कम हुन्थ्यो यसैको माध्यमबाट भेटघाट हुने भएकाले यसको महत्व निकै छ जस्तो लाग्छ ।

‍‍ *** *** ***

नियममा बसेर मनाउँछु
कमला पन्त, नेतृ

तिजलाई आमाहरुले जसरी मनाउनु हुन्छ त्यसरीनै मनाउँछु । तीजको व्रत आफ्नो लागि बस्ने हो । दर खाने दिनमा १० बजे खाना खाएपछि एकैचोटी र्पसिपल्ट पुजा गरेर मात्र पानी खान्छु । पुरै नियम पालाना गरेर व्रत बस्छु । यसरी व्रत बस्दा मलाई पुरै रिल्याक्स फिल हुन्छ ।

‍‍ *** *** ***

म त विरोधी हो
समिता कार्की, नेतृ

हामी कम्युनीष्टहरु मनाउँदैनौ । यो त पुरै पितृसत्तात्मक रुपमा भरिएको पर्व भयो । मैले पनि अहिलेसम्म मनाएको छैन । व्रत त झनै बसिएन । तिजको राम्रो पक्ष भनेको गित गाउनु नाच्नु हो तर जुन उद्देश्यको साथ यो पर्व मनाइन्छ यसको पुरै विरोधी परियो ।

‍‍ *** *** ***

व्रतको उदेश्य ठिक लाग्दैन
आयुषी केसि, व्यवसायी

मनाउँदीन भन्दा पनि हुन्छ । जुन उद्देश्यका साथ व्रत बसिन्छ त्यो मलाई उति साह्रो ठिक लाग्दैन । श्रीमान श्रीमतीको सम्वन्ध एकपक्षले व्रत लिएर मात्र राम्रो हुन्छ भन्ने विश्वास लाग्दैन । श्रीमतीले ब्रत बसेर श्रीमानको आयु बढ्छ भन्ने कुरा त आखाँ दुख्याछ खुट्टा निको पार्ने औषधी खाएजस्तै हो । अहिले सम्म व्रत बसेको पनि छैन ।

‍‍ *** *** ***

कुरिती त हटाउनुपर्छ
झला बिक, वकिल

तीजलाई भेटघाट हुने र रमझम हुने पर्वको रुपमा बुझेकी छु । तीज हाम्रो संस्कार हो तर पितृसत्तात्मक सोचाईको कारण महिलालाई दोश्रो दर्जा र पुरुषलाई पहिलो दर्जा बनाइयो । पहिले तिजको सुरुवात हुँदा विभेदी पर्व नभएपनि पछि परम्परा बसाउनेहरुले आफु अनकुल बनाएका हुन जस्तो लाग्छ ।

अस्ती भर्खर वेद हेरेको थिएँ । त्यहाँ उल्लेख भए अनुसार शिवजीको लिगंसगैँ रहेको पार्वतीको योनी पनि रहेको हुन्छ । त्यस योनीमा पुरुषले नी ढोगेकै हुन्छन् तर कसैले पनि पार्वतिको योनी पुजा गरेको भन्दैन शिवको लिगं पुजा गरेको भन्छ । यो किन त ? पितृसत्तात्मक सोचाइको कारणले हो भन्ने मेरो बुझाई छ । तीजमा व्रत बसेर आयु ढ्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । तीजको परम्परालाई निरन्तरता दिदै कुरीती हटाउँदै जानुपर्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution