बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रका सेनाहरुको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास स्रोतका अनुसार, कामु प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि उनले सो सैनिक अभ्यासमा सहभागी नहुन निर्देशन दिएका छन्।
भारतको आयोजनामा बिमस्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास २५–३१ भदौमा भारतको पुनेमा हुँदैछ।
बिमस्टेकको ब्यानरमुनि नभएपनि बिमस्टेक राष्ट्रका सेनाहरुको सैनिक अभ्यास भनिएकाले यो सुरुदेखि नै नेपालमा विवादको विषय बन्दै आएको छ।
‘प्रधानमन्त्री ओलीले हिजो नै सैनिक नेतृत्वलाई सो अभ्यासमा सहभागिता नजनाउन निर्देशन दिनु भएको छ’ स्रोतले भन्यो, ‘त्यसैले नेपाली सेना त्यसमा सहभागी हुँदैन।’
सैन्य अभ्यास अगाडि भारतले नै आयोजना गरेको बिमस्टेक राष्ट्रका सैन्य प्रमुखहरुको निम्तो मान्न सेना प्रमुख रथी पूर्णचन्द्र थापा जाने कार्यक्रम थियो।
स्रोतका अनुसार, २४ साउनमा थापा सेना प्रमुख बनेपछि नेपाली सेनाले सो सैनिक अभ्यासमा सहभागी हुने निर्णय गरेको थियो।
यस सम्बन्धी औपचारिक जानकारी सरकारको तर्फबाट भोलि दिने योजनामा सरकार छ।