हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

शेरबहादुरलाई भीष्मराज आङदेम्बेको प्रश्नःनेतृत्वमा जनजाति खोई ?

काठमाडौं । ‘कहिलेकाहीँ त लाग्छ, कांग्रेसलाई चुनौति दिने पार्टी आए त्यहीँ मिसिन्थेँ । यो बडेमानको आकारभित्र सम्पूर्ण सिद्धिएको जस्तो भएर बस्ने रहर छैन । तर, समयले त्यो ठाउँ पनि कहाँ दिएको छ र ? हिजो लाखापाखा लागेकाहरू धमाधम कांग्रेसमा फर्कँदैछन् ।’

कांग्रेस नेतृत्वमा जनजातिहरुको घट्दो उपस्थितिबारे कुराकानी गर्दैगर्दा केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले माथिको वाक्यांश उद्धृत गरेका हुन् । कुराकानीका क्रममा उनले कांग्रेसबाट फुटेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा यो पार्टीको बैकल्पिक पार्टी बनोस् भन्ने लागेको पनि सुनाए । ‘कांग्रेस छाडा भयो । डोमोक्रेटहरु जाने ठाउँ नै भएन’ उनले भने, ‘मिलोस् भन्दा पनि दुबै फलोस फुलोस् भन्ने थियो । तर, फेरि मिल्यो राम्रो भयो ।’

धेरै कमजोरीका बाबजुद कांग्रेसको विकल्प नभएको भन्दै उनले अब आउने युवा पुस्ताले अहिलेको नेतृत्वले बिर्सिएका आदिवासी जनजातिका मुद्दा सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे ।

कांग्रेसको ८० सदस्यीय केन्द्रीय कार्यसमितिमा ११ जना आदिवासी जनजाति छन्, उनीहरुमध्ये चार जना गुरुङ छन् भने नेवार तीनजना छन् । तामाङ र लिम्बू एक/एक जना छन् । थकाली एकजना छन् । तर, जनजातिमा सबैभन्दा ठूलो हिस्सा (७.१२ प्रतिशत जनसंख्या) भएको मगर समुदायका एकजना पनि छैनन् कांग्रेसमा । पूर्वमा बाहुल्य रहेको राई समुदायको पनि कांग्रेस केन्द्रीय कार्यसमितिमा उपस्थिति शून्य छ ।

हिजो पार्टीको शीर्ष नेतृत्वमा नपुगे पनि भीमबहादुर तामाङ, बलबहादुर राई, भूविक्रम नेम्वाङहरु कांग्रेसमा सम्मानित नेताका रुपमा चिनिन्थे । दिवंगत भएका भीमबहादुर, बलहादुरहरु नै कांग्रेसका त्यस्ता जनजाति नेता हुन्, जसलाई सिंगो आदिवासी जनजाति समुदायले नेताका रुपमा स्वीकार गरेका छन् ।

कमदजम (कर्णाली,महिला, दलित, जनजाति, मधेसी) को नारा दिएर राष्ट्रिय राननीतिमा स्थापित भएका शेरबहादुर देउवा पार्टी सभापति हुँदा पनि किन कांग्रेस जनजातिमैत्री हुन सकेनन् ? जनजातिहरु नेतृत्वमा मात्रै नदेखिएका हुन् कि जनजाति समुदायसँगै कांग्रेस टाढिएको हो ? कांग्रेस नेता भीष्मराज आङदेम्बेसँग गरिएको कुराकानीको सम्पादित अंशः

अब हामी नबोले को बोल्छ ?

नेपाली कांग्रेसमा अझै निर्वाचनको समीक्षा सकिएको छैन । महासमिति बैठकमा पनि यही समीक्षा हुन्छ । तर, निर्वाचन पराजयको समीक्षा गर्दा एकले अर्काको टाउकोमा दोष लगाएर मात्रै पुग्दैन । अन्तरघातलाई दोष दिएर मात्रै पनि पुग्दैन । यी पनि कारण होलान् । तर, सबैभन्दा ठूलो प्रश्न कांग्रेसले आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत वर्गलाई निर्वाचनको बेलामा खोज्यो कि खोजेन भन्ने हो ।

मुस्लिमको मक्का मदिना, हिन्दुको पशुपतिनाथ भने जस्तै कांग्रेसको तीर्थस्थल मोरङलाई भनिन्छ । कृष्णप्रसाद कोइरालादेखि वीपी कोइरालाजस्ता नेताको क्षेत्र हो । तर, त्यही ठाउँमा बारबार लिम्बुवानको मुद्दा किन उठ्छ ?

केन्द्रीय कार्यसमितिको बैठकमा मैले प्रदीप गिरीजीलाई सम्बोधन गरेर सोधेको छु, तपाईंको व्याख्यामा पार्टीको ‘स्कूल अफ थट’ बनेको छ, तपाईँको व्याख्याभित्र आदिवासी जनजाति छ कि छैन ? कांग्रेसबाट फुटेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा तपाईले नै कदमजमको नारा ल्याउनुभयो । त्यो नारालाई व्यवहारमा उतार्न सकेको खोई ? हिजो वीपी कोइराला, किसुनजीहरू हुँदा भन्न जरुरी थिएन । किनभने उहाँहरूले व्यवहारमा लागू गर्नुभएको थियो । आज सबै कुरा भन्नुहुन्छ तर, व्यवहारमा लागु भएको छैन ।

पार्टीको यो दुर्दशा हुनुमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत वर्गको उपेक्षा महत्वपूर्ण हो । हिजो कांग्रेसका लागि लडेकाहरू कहाँ छन् ? आदिवासी जनजातिमध्ये सबैभन्दा बढी जनसंख्या भएको मगर कहाँ छ ? केन्द्रीय कार्य समितिमा जनजाति खोई ?

कांग्रेस कसैको पेवा होइन, बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कृति बोक्नेहरूको पार्टी हो । यसमा सबैखाले फूल फुल्छन् भन्ने विश्वासले हामी कांग्रेसमा लागिरहेका छौं । तर, अब हामी नबोले को बोल्छ भन्ने ठाउँमा म पुगेको छु र नेतृत्वलाई प्रश्न गरेको हुँ ।

मुस्लिमको मक्का मदिना, हिन्दुको पशुपतिनाथ भने जस्तै कांग्रेसको तीर्थस्थल मोरङलाई भनिन्छ । कृष्णप्रसाद कोइरालादेखि वीपी कोइरालाजस्ता नेताको क्षेत्र हो । तर, त्यही ठाउँमा बारबार लिम्बुवानको मुद्दा किन उठ्छ ? खोई यसलाई बुझ्ने प्रयत्न गरेको ? जातीय राजनीति गर्ने मभन्दा पनि जुनियर भाइहरूले पूर्वाञ्चल थर्काएर बसेका छन् । हाम्रा केन्द्रीय नेताहरूले यसको संवेदनशीलता बुझ्न सक्नु भएन ।

प्रेमराज आङदेम्बे, बलबहादुर राई, भूविक्रम नेम्वाङ, चन्द्र आङदेम्बे लगायतका नेताहरूले नेतृत्व गरेको ठाउँ हो, पूर्वाञ्चल । खोई भूगोलको संवदेनशीलता बझ्न सकेको ? नेताहरूले बुझ्न चाहनुभएन भने आफ्नो घर गरेर आए हुन्छ हामीलाई । तर, हामी त्योे वर्ग समुदायका मान्छे हौं, जसको सम्पूर्ण जीवन पार्टीमा लगानी भएको छ । त्यसरी पार्टीमा लाग्नेहरूलाई पार्टीले किन खोज्दैन, पुछ्दैन भन्ने हाम्रो प्रश्न हो ।

टिकट बाँड्दादेखिकै धेरै तीता अनुभव छन् मसँग । मैले जिल्लाका साथीहरूलाई तिमीहरू केन्द्रमा ज-जसको गुटमा लाग्ने हो लाग तर, जिल्लामा कांग्रेस मात्रै भएर काम गर भनेको छु ।

नुवाकोटमा कांग्रेसले तामाङ समुदायका नेतालाई नेतृत्वमा किन नराख्ने ? तर, केसी र महतहरुको झगडामा क्षेत्र मिलाउँदै जाँदा तामाङलाई अल्पमतमा पारेको आभाष हुन थाल्यो । यद्यपि अहिले जे जसरी भए पनि बहादुरसिंह तामाङ केन्द्रमा आएका छन् ।

रामचन्द्र (पौडेल) दाइ आफूलाई ‘जनजातिको नेता हुँ, मलाई जनजातिले भोट दिएका छन् भन्नुहुन्छ’ । मैले उहाँलाई भनेको छु, भोट त कांग्रेसजनले अरुलाई दिन सक्दैनन्, त्यसैले तपाईलाई दिए । तर, तनहुँमा मगर वा गुरुङलाई जिताएर ल्याउनुभयो भने मात्रै तपार्इँ जनजातिको पनि नेता बन्नुहुनेछ ।

नियन्त्रित छन् कि नेतृत्वमा छन् ?

कांग्रेसभित्र आदिवासी जनजाति नियन्त्रित छन् कि नेतृत्वमा छन् ? यो बहस सुरु भएको छ । सामाजिक मिडियामा आएको त्यस्तो बहसले मलाई पनि छुन्छ । सम्पूर्ण कुरा सिध्याएर, पार्टीमा लागेर, जेलनेल खाएर पनि जनजातिले आग्रह पूर्वाग्रह राखेका छैनन् । यसरी लागेका वर्ग समुदायलाई नेतृत्वमा ल्याउने योजना ल्याउन सकेन भने वा नियन्त्रणमै राख्न चाह्यो भने कांग्रेस कसरी अगाडि बढ्न सक्ला ?

जो इमान्दार छन्, जसले पार्टीलाई शीरमा राखेर अगाडि बढेका छन्, क्रान्ति र पार्टीका लागि सर्वस्व दिन तयार भएका छन् त्यस्ताहरू विस्तारै विस्थापित हुँदै जान्छन् । रातारात धनाढ्य भएका, जो हिजो कहाँ थियो थाहा थिएन । र विभिन्न नाता गाँसेर रातारात धनी भएकाहरू पार्टी नेतृत्वमा हावी हुन आईपुगे । आफूले अंगालेको सिद्धान्त, दर्शनलाई यो विषयसँग जोड्न सकेनौं र समानुपातिकतको नाममा व्यापार गरे जस्तो गर्ने हो भने पार्टी सिद्धिनुको विकल्प छैन । बहुमत नै आयो भने पनि त्यो हात्तीपाइले रोग लागे जस्तो मात्रै हुन्छ । किनभने मुख्य समस्या वर्ग, समुदाय हो । आदिवासी जनजाति, दलित, महिला, मधेशी, अल्पसंख्यकलाई समेट्न सक्नुपर्छ । त्यसमा पनि जनजाति त खम्बै थिए ।

०४६ साल भन्दा अगाडि सबै आफूजस्तो लाग्थ्यो । कुनबेला मरिन्छ भन्ने थाहा थिएन । सँगै चिया खाइन्थ्यो, लोकतन्त्र प्राप्तिका निम्ति लड्ने साझा अभिलाषा थियो । आज रातारात सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्नेहरू हावी भए । यो सबै पार्टीमा छन्, कांग्रेसमा पनि छन् । अहिलेको जस्तो लोकपि्रय मत ल्याउनुपर्ने निर्वाचन प्रणालीमा इमान्दार नेता कार्यकर्ताले सम्पत्ति भएकाहरुसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् ?

जतिसुकै काम गरे पनि हारेपछि इतिहास मेटिन्छ । ‘जो जिता उही सिकन्दर’ हो । चन्दा दिएरै टिकट पाएको रहेछ भने पनि जितेपछि उसैलाई नेता मान्नुपर्ने अवस्थामा पुगिँदो रहेछ ।

शेरबहादुर र रामचन्द्रले सक्दैनन्

उर्बर उमेर क्रान्ति र पार्टीमा लगायौं । तर, प्रजातन्त्र आए पछि पार्टीले त्यो क्रान्तिकारीपनलाई संस्थागत गर्न सकेन । क्रान्तिमा लागेर आएकाहरूले पटक-पटक हारेर मात्रै चुनाव जितेका छन् । जित्ने ठाउँमा दिइएको छैन । चाहे भीमबहादुर तामाङ होस्, चाहे भूविक्रम नेम्वाङ ।

पछिल्लो समय बलबहादुर राई जस्तो सम्मानित नेताको विषयमा पनि विवाद सिर्जना गरिदिए । बहुदल आएपछि उहाँहरू जस्ता नेतालाई जित्ने ठाउँमा दिएको भए कांग्रेसमा जनजातिहरूको आकर्षण बढिराख्ने थियो होला । उनीहरुलाई हार्ने ठाउँमै दिइयो । त्यतिबेलाका क्रान्तिकारीहरू पैसा खर्च गरेर निर्वाचन जित्ने कुरा सोच्न पनि सक्दैनथे । त्यसैले बेलैमा व्यापार, व्यावसायमा लाग्ने साथीहरू पार्टीमा हाबी भएका छन् ।

पार्टीमै लागेर विपन्न भएका इमान्दार जनजातिहरू विस्तारै-विस्तारै नियन्त्रित बन्छन् । नियोजितै त नभनौं तर, कांग्रेसमा जुन वर्ग हावी हुँदै आयो, जसले गफमा ठूलो-ठूलो संस्कृतिको कुरा गरे । पार्टीलाई सबै जाति, भाषा, धर्म, संस्कृतिको हो भने, तर उनीहरूले व्यवहारमा त्यो लागु गराउन सिन्कोसम्म भँचाउन सकेका छैनन् ।

सँधैभरि यस्तै रहन्छ भन्ने मलाई लाग्दैन । कांग्रेस यही अवस्थामा रहनु भनेको जानाजान जातीय पार्टीको खोजी गर्नु हो । भलै, त्यसका लागि नेपालको भूगोल, माटो पानी तयार छैन । त्यसैले कांग्रेसको नयाँ पुस्ताले यसको संवेदनशीलता बुझ्छ होला । शेरबहादुर देउवा र रामचन्द्र पौडेलजीहरूको पुस्तले भने सक्दैन । यसमा म प्रदीप गिरीजीलाई पनि जोड्न चाहन्छु । उहाँ पनि यस्तो विषय सोच्न बुढो भइसक्नुभयो ।

हिजो कर्णाली, दलित, महिला, जनजाति, मधेसीको मुद्दा उठाएको टीम यही हो । खै त ? यो बुझाउन सक्यो ? सकेन भन्दा पनि महत्वपूर्ण कुरा बुझ्नुपर्नेले बुझ्न चाह्यो कि चाहेन भन्ने हो । कांग्रेस प्रजातान्त्रिकबाट शुरु भएको समावेशीता कार्यान्वयनको विषयले शेरबहादुरजीलाई जस त दियो । तर, कागताली परेको थियो जस्तो गरेर छोड्नुभयो । तर, कांग्रेसको नयाँ पुस्ताले यसलाई नजरअन्दाज गर्नुहुँदैन । यसलाई मुद्दा बनाउन सक्नुपर्छ, आन्दोलनका रुपमा अगाडि लैजान सक्नुपर्छ । यद्यपि त्यो पुस्ता नेतृत्वमा पुग्दा उनीहरूको मानसिकता कस्तो हुन्छ म भन्न सक्दिनँ । तर, यो मैले भनिरहेको स्पिरिट छोड्नु भने हुँदैन । बुढाहरूले विस्मृतिमा पुर्‍याएको, तर कांग्रेसको मेरुदण्डको रुपमा रहेको विषयलाई छोड्नुहुँदैन ।

हाम्रा पनि कमजोरी छन्

कांग्रेसले समावेशिताको सवालमा सबै नकारात्मक मात्रै गरेको छ भन्न खोजेको होइन । पार्टीका विभिन्न संरचनामा समावेशीको सिद्धान्तअनुसार सहभागी बनाउने काम भएको छ । चाहे त्यो आरक्षित कोटाबाट किन नहोस् । सक्षम साथीहरू आरक्षण बाहिरबाट पनि आएका छन् । धनराजजी र म आफैं खुल्लाबाट आयौं ।

कहिलेकाँही त लाग्छ, कांग्रेसलाई चुनौति दिने पार्टी आए त्यहीँ मिसिन्थेँ । यो बडेमानको आकारभित्र सम्पूर्ण सिद्धिएको जस्तो भएर बस्ने रहर छैन । तर, समयले त्यो ठाउँ पनि कहाँ दिएको छ र ?
आदिवासी जनजातिको विषयमा अनावश्यक रुपमा आक्रामक भएर लाग्न पनि जरुरी छैन । तत्काल सडकमा नारा लगाउँदा मीठो सुनिएला, तर त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने सोच्नुपर्छ । जस्तो- एकल जातीय पहिचानको कुरा गलत सावित भइसकेको छ । त्यस्तो कुराले हामीलाई टुँगोमा पुर्‍याउँदैनथ्यो, पुर्‍याएन पनि । तर, हामीले पनि हिजो पार्टीलाई तर्साउने काम गर्‍यौं ।

लिम्बुवानका साथीहरू भेट्दा म अहिले भन्ने गर्छु, लिम्बुवान हिजो भूगोल थियो । लिम्बुवान भनेको जाति हो भन्ने काम त तिमीहरूले गर्‍यौ, लिम्बुवान भन्दा तर्सिने अवस्था त तिमीहरूले बनायौ भनेर भन्छु ।

म सँधै बहुपहिचानको पक्षमा उभिएँ । नेपालको भूगोल एकल जातीय पहिचानबाट उठेको होइन भनेर भाषण गरेँ । काँग्रेस मोरङले पहिचानको विषयमा बोल्ने नेता नपाउँदा मलाई बोलाउनु भयो । त्यहाँ पनि मैले आफ्नो यही कुरा राखें । त्यसपछि मलाई देशविदेशमा जनजातिहरूले कालो झण्डा देखाए । हङकङदेखि कोरियासम्म मविरुद्ध मुर्दावादको नारा लाग्यो ।

तर, उनीहरू आज त्यही ठाउँमा आएका छन् । अर्थात् हिजो एकल जातीय नारा लगाउनेहरू आज बहुपहिचानमा आएका छन् । उनीहरूलाई लोकतान्त्रिक बाटोमा ल्याउन कांग्रेसले भूमिका खेल्नुपर्‍यो नि । कांग्रेसले पहल गर्न हामी जस्ता नेताहरू साह्रै धेरै नकारात्मक भएर मात्रै पनि नहुने रहेछ ।

यसका बाबजुद कहिलेकाँही त लाग्छ, कांग्रेसलाई चुनौति दिने पार्टी आए त्यहीँ मिसिन्थेँ । यो बडेमानको आकारभित्र सम्पूर्ण सिद्धिएको जस्तो भएर बस्ने रहर छैन । तर, समयले त्यो ठाउँ पनि कहाँ दिएको छ र ? हिजो लाखापाखा लागेकाहरू धमाधम कांग्रेसमा फर्कँदैछन् ।

अनलाइनखबर बाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution