उज्यालो नेपालका नायक कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदक द्वारा सम्मान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई सुप्रबल जनसेवाश्री पदक दिइएको छ । उनीहरुले गरेको कामको मुल्यांकन गर्दै सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई सुप्रबल जनसेवाश्री पदकबाट सम्मानीत गर्ने निर्णय गरेको छ । उपाध्याय प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।
सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरामा उपाध्याय र घिसिङलाई पदक दिने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदक प्रदान गरेकी हुन् ।
उनीहरुको नेतृत्वमा मुलुकले भोगिरहेको १३ वर्षको यो कहालिलाग्दो लोडसेडिङ हटेको थियो भने समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना अगाडि बढेको मुल्यांकन गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जा मन्त्री जनार्दन शर्माको नेतृत्वमा रहेर काम गरेका घिसिङ लोडसेडिङ्ग अन्त्यको अभियान सुरु गरेका थिए । घिसिङले मुलुकलाई लोडसेडिङमुक्त मात्रै नभएर घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने जस्ता काम गरेका छन् । उनले विद्युत चुहावट ५ प्रतिशतभन्दा बढी घटाउन लगायतका काम गर्न सफल भएका छन् ।
उपाध्यायले लोडसेडिङ अन्त्य, निर्माणाधीन आयोजनाको कामलाई तिब्रता दिने, प्राधिकरणको प्रशासनिक तथा वित्तीय पुर्नसंरचनाका लागि प्राधिकरण सञ्चालक समिति अध्यक्षको रुपमा रहेर नीतिगत निर्णय गरेका थिए ।
कार्यकारी निर्देशक घिसिङले बोर्डको निर्णय कार्यान्वयमा लगेका थिए । अहिलेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पनि उज्यालो नेपाल अभियान अन्तर्गत जनताको लगानीमा आकर्षक जलविद्युत आयोजनाको निर्माण गर्ने अभियान सुरु गर्ने बताएका छन् । ओएसनेपालबाट |