हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

जेलमा पद्मरत्न रुनुहुन्थ्यो, केपी ओली हँसाउनुहुन्थ्यो

– योगेश भट्टराई, सांसद तथा नेता (ने क पा)

त्यो पहिलो नेपालबन्द

ताप्लेजुङको साँघुमा जन्मिएँ । अर्को गाउँ ढुंगेसाँघुमा मदन भण्डारी जन्मिनुभयो । आधा घन्टाको दूरीमामात्रै थियो । त्यति नजिक भए पनि मदनलाई चिनेको धेरैपछि हो ।

०३७ सालसम्म म गाउँकै स्कुलमा पढेँ, नारायणी निमाविमा । माध्यमिक तह पढ्ने बेला आयो तर नजिक कुनै विद्यालय थिएनन् । कि त ६ घन्टा पैदल हिँडेर हाङपाङ भन्ने ठाउँ जानुपथ्र्यो, कि सदरमुकामको बाटो तताउनुपथ्र्यो । हामी त्यता लागेनौँ ।

हाम्रो तत्कालीन ब्याच सङ्खुवासभाको मादीमा गएर पढ्यौँ । मादी पुग्न घरबाट डेढ दिन हिँड्नुपथ्र्यो । तर, हामी एकदिनमै अति कठिन ढंगले पुग्थ्यौँ ।

उकालो–ओह्रालो बाटो । कतै सुख्खा पहाड, जंगल । कतै ठूल्ठूला खोला पनि । पुुसमाघमा त हिउँ नै हिउँ हुन्थ्यो । फुसफुस हिउँ टेक्दै बाटो छिचोल्नुपथ्र्यो ।

०३५–३६ सालको विद्यार्थी आन्दोलन काठमाडौँ खाल्डो छिचोलेर पूर्वतिर बढ्दै थियो ।

 

ताप्लेजुङकै भएकाले टंक कार्कीको नाम बरोबर सुनिन्थ्यो । दिमागमा उनको अमूर्त छाप कुँदिएको थियो । संगठनप्रति सामिप्यता बढ्यो भनौँ न ।

०३७ साल चैत १४ गतेको दिन थियो । अनेरास्ववियू तत्कालीन पाँचौँले देशव्यापी आमहड्तालको घोषणा गरेको रहेछ । पञ्चायती निरङ्कुशताविरुद्ध पहिलो नेपाल बन्दको आह्वानसमेत थियो त्यो । विद्यार्थीमात्र नभई पञ्चायत इतर सबै शक्तिले बन्द सफल बनाउन लागि परेको हल्ला गाउँगाउँमा व्याप्त थियो । मादीमा पनि घुर्मैलो हल्ला पुगिहाल्यो ।

बन्द त गर्ने तर कति दिन ? हामीलाई केही भेउ भएन । कसैले भनेनन् पनि । “ल विद्यालय हड्ताल गर्ने !,” कक्षाका सबैले सल्लाह गर्‍यौँ र तयारी थालिहाल्यौँ ।

संयोग के पर्‍यो भने हामीले पढेको गाउँमा कांग्रेसको प्रभाव क्षेत्र थियो । लिलानाथ दाहाल २०१५ सालमै सूर्यबहादुर थापासँग चुनाव उठेर जितेकाको गाउँ रहेछ त्यो । गोपाल पहाडी, जो कांग्रेसका केन्द्रीय सदस्य पनि भए, उहाँको पनि त्यही गाउँ हो ।

तीन लिलानाथ दाहालकी छोरी पियुष दाहाल हामीसँगै पढ्थिन् । उनकी दुई छोरी त त्यहीँ पढाउँदा पनि रहेछन् । पियुष कक्षाको सहपाठी भएकाले चिनजान राम्रै थियो ।

उनीहरू त स्कुल हड्तालको विरोधी पो रहेछन् । हामी सबैतिर स्कुल हड्ताल छ भन्दै हिँड्दैछौँ । उनीहरू त झोला बोकेर पढ्न पो आए । हात हालाहालजस्तो भयो । तथापि हड्ताल भइछाड्यो । हामीले जित्यौँ ।

स्कुलमा पठनपाठन ठप्प भएको त्यस्तै हप्तादिन बितेको हुँदो हो, फेरि कतैबाट हल्ला पुग्यो– त्यो त एकदिनको मात्रै हड्ताल थियो ।
“ज्या ! हामीले अनिश्चितकालीन हड्ताल पो गरेछौँ !,” भोलिपल्टबाट स्कुल सुचारु गर्‍यौँ हामीले ।

बीपीका भाषण सुनाउने ती सर

गोपाल पहाडी मादी स्कुलका शिक्षक हुनुहुन्थ्यो । विद्यालयको हाताभन्दा थोरैमुनिपट्टि उहाँको घर थियो ।

उहाँले ताप्लेजुङबाट गएका हामी चार (प्रकाश सुवेदी, केशव भट्टराई, नरेन्द्र चोङवाङ र म)जना आफैँ खाना खान्थ्यौँ । राति अबेरसम्म पढ्थ्यौँ । खाना खाइसक्दा नसक्दै गोपाल सर बोलाउन आउनुहुन्थ्यो, “आवो केटा हो, तल मेरा घरतिर आओ !” सरले बोलाएपछि नाइँनास्ती किन गर्नु ? टर्च बालेर जान्थ्यौँ हामी ।

तीनतले घरको माथिल्लो तलामा उहाँ बस्नुहुन्थ्यो । तर, बिहे गर्नुभएको थिएन । हामी जानेबित्तिकै परिवारका अरूलाई सदस्यलाई अह्राउनुहुन्थ्यो, “ल मेरा विद्यार्थी आएछन्, चिनी–च्युरा देओ !”

घ्युमा भुटेको च्युरा राखिदिन्थे । हामी मरङमरङ चपाउन थाल्थ्यौँ । खाटमा बसेका गोपाल सर क्यासेटमा चक्का हालेर भाषण सुनाउन थाल्थे ।

शुरूमा त को नेता होलाजस्तो लाग्थ्यो । पछि गोपाल सरले भनेरै थाहा लाग्यो– ती भाषण गर्ने नेता बीपी रहेछन् । जनमत संग्रहताका गरेको भाषण चक्कामा भरेर सुनाएका रहेछन् उनले ।

आज गयो त्यही भाषण, भोलि पनि त्यही भाषण । अरू कुरा केही गर्नुछैन । बीपी कांग्रेसका नेता हुन् भन्ने थाहा भइहाल्यो । क्यासेट सुनाएर हामीलाई कांग्रेस बनाउने गोपाल सरको नियत पनि प्रष्ट भइगयो । यति थाहा पाएपछि भोलिपल्टबाट गोपाल सरको घर झर्न छाड्यौँ ।

बाटो थाहा नहुँदा पक्राउ

०४० सालमा प्रवेशिका दिएपछि गाउँमै केही समय पढाएँ । त्यपछि पो थाहा भयो– पहिले हामीलाई पढाउने शिक्षक जम्मै कम्युनिस्ट रहेछन् । उनीहरूको हातमा ‘वर्गसङ्घर्ष (तत्कालीन मालेको मुखपत्र) हुन्थे । झापा विद्रोहका किस्सा । कुराकानीमा गोर्की, लु सुनका रचना बरोबर उद्धृत हुन्थे । कम्युनिस्ट आन्दोलनतिर आकर्षित भइहालियो ।

त्यसपछि म काठमाडौँ आएँ र महेन्द्ररत्न क्याम्पस, ताहाचलमा भर्ना भएँ । गाउँबाट राजनीतिको पाठ पढेर आएको मान्छे यहाँ अतिरिक्त कक्षा लिनै परेन । सीधै अनेरास्ववियूको प्रारम्भीक कमिटी, स्ववियु सचिव हुँदै सभापतिसम्म निर्वाचित भइहालेँ ।

०४२ साल हुनुपर्छ । समय ठ्याक्कै सम्झना छैन । ‘पोल्याण्डमा उत्पादित विषाक्त दूध नेपाल भित्रियो । लाखौँलाख जनताको स्वास्थ्य त्यसले बर्बाद बनाउँदैछ’ भन्ने हल्ला आगोझैँ फैलियो । विद्यार्थी आन्दोलित भइहाले ।

पञ्चायतको जगजगीमा आन्दोलन गर्न उती सहज थिएन । जतिबेलै पक्राउ परिने भय हुन्थ्यो । आन्दोलनको समूह नेता एउटालाई तोकिएको हुन्थ्यो । उसको टाउको हेर्दै हिँड्नुपर्ने । ऊ जहाँ पुगेर रोकिन्थ्यो । त्यहाँ छापामार शैलीमा जुलुस निकाल्यो । आफैँ तितरवितर भयो ।

त्यसपटक शुरूमै गल्ती भयो । इन्द्रचोकमा जुलुस निकालियो भाग्दै नरदेवीतिर जाने भएको । बाटो कता हो, कता ? अलमलमा परियो । यताबाट होकि भन्दै अलिक पर पुग्यो । एउटा जीर्ण घरमा पुगेर टुंगिन्छ बाटो । बिलखबन्दमा पर्दैथिएँ पुलिसले पक्रिइहाल्यो ।

ती फुकीढल केपी

पक्राउ परेपछि झन्डै साठी दिन हनुमानढोका डीएसपी कार्यालयमा राखियो र चरम यातना दिइयो ।सानो कोठा । उडुस, उपियाँको साम्राज्य । गुहूमुतको दुर्गन्ध उस्तै । नर्ककुण्डजस्तो लाग्थ्यो ।

साँझ परेपछि सादा पोसाकका प्रहरी आउँथे र लात्ती बजार्न थालिहाल्थे, “साला ! अराष्ट्रिय तत्व ! तेरा नेता कहाँ छन् भन्छस् कि यहीँ सिध्याइदिउँ !”

हामी घोसेमुन्टो लगाएर बस्थ्यौँ । बेस्सरी कुट्न थालेपछि भन्थ्यौँ, “हामी विद्यार्थी हौँ हजुर । नेताकाबारे हामीलाई के थाहा हुनू?”

“कसले भनेर जुलुस निकालिस् भन् !,” फेरि कुट्थ्यो । केहीबेरपछि आफैँ थाक्थ्यो । प्रशिक्षण दिन आएका नेताहरू बारबार सुझाउँथे, “कदाचित् पक्राउ परिहाले नबोल्नु है । मुख खोले बढी बोलिन्छ । कुरा फुत्किन्छ । जति पिटे पनि थाहा छैन भन्नु !”
हाम्रो मौनता देखेर हैरान हुन्थे प्रहरी ।

झन्डै ६० दिन हनुमानढोकाको चिसो छिँडीमा रात काटेपछि हामीलाई भद्रगोल जेल लगियो । केन्द्रीय कारागारसँगै थियो त्यो । त्यहीँ भेट भएको हो केपी ओलीसँग । राधाकृष्ण मैनाली (आरके) पनि त्यहीँ हुनुहुुन्थ्यो ।

झापा आन्दोलनका दुई नायक । मस्तिष्कमा उनीहरूबारे अलग विम्ब थियो । क्रान्तिको रापतापले खारिएका आगाका फिलिङ्गा ।

तर, केपीको हालत जीर्ण थियो । टीबी निको भए पनि त्यसको असर दूर भइसकेको थिएन । फुकीढल थियो ज्यान । तर, हर ओइलाए पनि मुख ओइलाएको थिएन । चुट्किला सुनाइरहनुपर्ने । हस्सिमजाक गरिरहनुपर्ने । खाना खानेबेला भयो, भाग समात्नुकी हाँस्नु बनाउनुहुन्थ्यो ।
सात सय ग्राम चामल र तीन रुपैयाँ पैसा दिन्थ्यो, हरेक दिन । विद्यार्थीलाई त्यतिले कहाँ पुग्नु ? तर, पहिलेदेखि जेलमै रहनुभएका ओली लगायतका व्यक्तिहरूलाई बढी पनि हुन्थ्यो ।

अतः हामीले एउटै मेस चलाएका थियौँ । पालो गर्दै पकाउँथ्यौँ । हरेक बिहीबार मासु खान्थ्यौँ । तीन रुपैयाँ पैसाले कुखुरा, खसीको मासु किन्न पर्याप्त हुँदैनथ्यो, त्यसैले राँगाको मासु ल्याउँथ्यौँ ।

तीन बजे चामल र पैसा थाप्न गयो । त्यसपछि ओलीलगायत जेल परेका कम्युनिस्ट अगुवाहरूले हामीलाई प्रशिक्षण दिनुहुन्थ्यो । क्रमशः बुझ्दै र जान्दै गयौँ, कम्युनिस्ट आन्दोलन ।

त्यस्तै सात–आठ महिनामा हामी त्यहाँबाट रिहा भयौँ ।

दाह्रीवाल भट्टराई

०४४ सालमा अर्को काण्ड घट्यो । मेघालयबाट नेपाली लखेटिए । आन्दोलनका लागि निहुँमात्रै भए पुग्थ्यो । पञ्चायती जनमत तयार पार्न मसला भइहाल्थ्यो त्यो ।

न्युरोडको तल्लोपट्टि महानगरपालिकाको पुरानो कार्यालयको छेउ थियो । त्यसको कुनाबाट समात्यो र विशालबजारभित्रको जनसेवामा लगेर राख्यो ।

साँझसाँझ हुन लागेको थियो, बाबुराम भट्टराईलाई पनि त्यहीँ ल्यायो । शक्ति लम्साल निकै वृद्ध हुनुहुन्थ्यो, भलिभाँती कुट्यो उहाँलाई । शंकर पोखरेल, राजन भट्टराई, गोकर्ण विष्ट, जगन्नाथ खतिवडालगायत हामीले कुटाइ नखाने कुरै भएन ।

पाँच–छ दिन राखेर अन्तै जेल चलान गर्‍यो हामीलाई ।

बाबुराम त्यतिबेला पनि निकै गम्भीर प्रकृतिको लाग्थ्यो । बोल्दै नबोल्ने । झ्याप्प दाह्री पालेको । निकै चिन्तित प्रतीत हुन्थे । पछि उनलाई छुट्टै जेल चलान ग¥यो ।

जेलमै नाराबाजी

०४६ साल फागुन सात गतेदेखि जनआन्दोलन शुरू गर्ने घोषणा गरिएको थियो, बाम मोर्चा र नेपाली कांग्रेसको संयुक्त ।
सात गते न्युरोड गेटबाट अनेरास्ववियूले झन्डासहितको जुलुस निकाल्ने र अगुवाइ गर्ने जिम्मा मेरो थियो ।

६ गते दिउँसोभर झन्डा बनाइयो । बोरामा राखेर ठाउँठाउँमा पुर्‍याइयो पनि । तिनताका कीर्तिपुर पढ्ने, क्याम्पसकै होस्टलमा बस्थ्यौँ हामी ।
हरेक दिन हल्ला हुन्थ्यो– आज प्रहरीले होस्टल रेड गर्दैछ । विद्यार्थीलाई धरपकड गर्छ । तथापि होस्टलभित्र प्रहरी सहजै प्रवेश गर्दैनथ्यो ।
त्यसदिन मैले नै साथीहरूलाई भनेँ, “आज होस्टल रेड हान्न सक्छ । अन्तै सुतौँ ।”

शंकर पोखरेल, हितकाजी गुरुङ, मलगायत हामी नयाँ बजारतिर लाग्यौँ । त्यहाँ साथीहरूको कोठा थियो ।
सबैजना एउटै कोठामा सुत्दा कदाचित् पक्राउ परिहाले आन्दोलन निस्तेज हुन्थ्यो । आन्दोलन जोगाउन पनि सबै पक्राउ खानु हुँदैनथ्यो । त्यसैले शंकर पोखरेललाई नयाँ बजारबाट पनि माथि मदन घिमिरेको कोठामा सुत्न पठायौँ ।

हामी पाँगा दोबाटो नजिकैको अर्जुन सुब्बाको कोठातिर लाग्यौँ । कोठामा पुगेका पनि थिएनौँ, तीनचार जना अपरिचितले पछ्याएझैँ लाग्यो । तर, हामीले खासै वास्ता गरेनौँ । कोठामा गएर सुतिहाल्यौँ ।

राति एक बजेको हुँदो हो, ढोका ढक्ढक् पो गर्छ । पक्राउ पर्दापर्दा हत्तुहैरान भएका हामीलाई थाहा भइहाल्यो– प्रहरी आयो ।
थाहा नपाएजस्तो गरेर सुतिरह्यौँ । आवाज बढ्दै गएपछि झ्यालबाट तल हेरेको त प्रहरीले घर घेरिसकेको रहेछ । समात्ने पक्कापक्की भयो ।
अर्जुनजीले ढोका खोल्नुभयो । दुवैजना समातिइहाल्नुभयो । म अझै सिरकभित्रै छु, सुतिरहेकै ।

प्रहरीले त नामै लिएर पो बोलाउन थाल्यो, “योगेशजी ! हामीलाई सबै थाहा छ, छिटो उठ्नूस् त ।” हामी तीनजनामात्रै पक्राउ परियो कि क्या हो भनेर तल ट्रकमा गएर हेरेको गावैँ उल्टाएर ल्याएछ !

खुसीको कुरा त्यहाँ शंकरजी हुनुहुन्नथ्यो । भोलिको आन्दोलन विफल हुने भएन भने ढुक्क भयौँ हामी ।महेन्द्र पुलिस क्लबमा ल्याएपछि छक्क पर्‍यौँ । बजारका घरमालिक कोही बाँकी राखेनछ । अधिकांश बजारका साहूजी !

७ गते जुलुस निस्कियो । तुलसीलाल अमात्य, पद्मरत्न तुलाधरलाई जुलुसबाट समातेर त्यहीँ ल्याए ।हामी ६–७ जनालाई मात्रै राखेर बाँकी सबैलाई एक दुईदिनभित्रै छाडिदियो ।

त्यसपछि हनुमानढोका पुर्‍यायौँ । त्यहाँ तीन दिन राखेर भद्रगोल जेल पुर्‍याइयो ।भद्रगोल पुर्‍याएको तीन दिनपछि हुनुपर्छ । एकदिन बिहानै चारबजेतिर प्रहरी ढोका ढक्ढक्याउन आइपुग्यो ।

बाहिर के भइरहेको छ, थाहा छैन, छाड्न लागेछ कि क्या हो भनेर शुरूमा त खुसी भइयो ।यसो सोचेँ– यति बिहानै त के छाड्थ्यो ?
“मार्न लैजान लाग्यो कि क्या हो ?” सिरिङ्ग भयो मुटु ।

सुखानीका सहिद, क्याप्टेन यज्ञबहादुर थापा पनि जेल सार्ने निहुँमा नै मारिएका थिए ।हाम्रो नियति पनि त्यस्तै हुने भो भनेर चुक्चुकाएँ ।
जेलबाट उठाएर लग्यो । अन्धकार छ । कहाँ लाने हो थाहा छैन । सेन्टरजेल अगाड गाडी राखेको रहेछ । केही बन्दीलाई त्यहाँबाट राखेर गाडी ललितपुतिर हिँड्यो ।

दक्षिणकालीतिर लगेर सुइँक्याउने रहेछ क्यारे भन्ठान्दै थिएँ । नख्खु जेलअगाडि पु¥याएर पद्मरत्न तुलाधर लगायतलाई गाडीमा हाल्यो । २२ जना पुग्यौँ ।

कहाँ पु¥याएर मार्ने हो ? मनमा चिसो छँदैछ । धुलिखेल कटेर ओह्रालो झरिसक्यो, गाडी रोकिँदैन । छेउको प्रहरीलाई कोट्याउँछु । थाहा छैन हजुर भन्छ ।

पाँचखाल पुग्न आँटेपछि पिसाब फेर्न भनेर गाडी रोक्यो । त्यही मेसोमा एउटा प्रहरीलाई आँखा सन्काएँ, “कहाँ लैजान लाग्या ?”उसले बिस्तारै भन्यो, “चौतारा जेल सार्न लागेको क्या ।”

ढुक्क भयो मन । गाडीमा आएर सबैको कानकानमै सुनाएँ ।चौतारा जेल पुग्दा साँझको चार बजेको हुँदो हो । सानो कुचुक्क परेको कोठा, सुत्न त के बस्न सक्ने अवस्था पनि थिएन । त्यहाँ पहिल्यै कैदी छँदैथिए, हामी कहाँ अटाउनु ?

जेलको गेटमा बसेर नाराबाजी शुरू गर्‍यौँ– “वन मेन वन बेडको ठाउँ चाहियो !”

तुलाधर राष्ट्रिय पञ्चायत सदस्य, हरिबोल भट्टराई काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्च, त्यो तहको मानिस हामीसँगै हुनुहुन्थ्यो । ढाडस भयो– यत्तिका हैसियत भएका मान्छेका ढाडमा त पक्कै लाठी नबजार्ला !

हरि रोक्का, रूपनरायण श्रेष्ठ, वीरबहादुर बलायर आदि पनि हुनुहुन्थ्यो ।

केही छिनमा जेलर आए, हामीले मानेनौँ । त्यसपछि सीडीओ र डीएसपी आए । शुरूमा त उनीहरूले पनि धम्क्याए । केही जोर नचलेपछि बजारको लजबाट सिरक डस्ना उठाएर ल्याएछन् । त्यो दिन जेनतेन सुताए ।

भोलिपल्ट केही कैदी सार्‍यो । अलिक सहज भयो । दुई तीन दिनपछि काठमाडौँबाट सिरक डस्ना मगाएर लजका लुगाफाटो फिर्ता गरे ।

आन्दोलनमा मान्छे मर्दा छाक छाड्थे पद्मरत्न

पद्मरत्न अत्यन्त भावुक व्यक्तित्व । भाषण गर्दागर्दै आँसु झारिहाल्नुहुन्थ्यो । चौतारा जेलमा बस्दा एकदिन पाटनमा मानिस मरेको खबर सुन्नुभएछ । उहाँ बेस्करी भक्कानिनुभयो ।

भात खानूहोस् भन्दा डाँकै छाड्नुभयो, “यत्रा मानिस मरिसके, कसरी भात खानु ?”

चौतारा जेल बस्दाको अर्को रोचक अनुभव पनि छ ।

काभ्रेका लोकप्रिय नेता गोविन्दनाथ उप्रेतीसँग भद्रगोल जेलमै भेट भएको थियो । केपी ओलीसँगै एउटै मेसमा भात खान्थ्यौँ हामी । काभ्रेको जनप्रिय नेता, जिल्लाबाट भेट्न आइरहन्थे । भेट्न आँउदा मासु, तरकारी भाँडाका भाँडा आउँथ्यो ।

“यता आउनूस् विद्यार्थी नेताहरू, क्रान्ति गर्ने पालो तपाईंहरूको, खानूहोस्,” भन्दै सबै हामीलाई दिन्थे ।

हामी चौतारा जेलमा छौँ भन्ने खै कसरी थाहा पाउनुभएछ । दुईवटा खसी पठाउनुभएछ ।

चैत २५ गते हुनुपर्छ । राजाले आन्दोलनकारीसँग वार्ता गर्न खोजेछन् । वार्ताको मध्यस्थकर्ताको खोजी भयो । राष्ट्रिय पञ्चायत सदस्य, आन्दोलनकारी पनि पद्मरत्न नै योग्य पात्र ठह¥याएर बोलावट भयो । पद्मरत्नलाई प्रहरीले गाडीमा हालेर लग्यो ।हामीचाहिँ पञ्चायत ढलेपछिमात्रै जेलबाट रिहा भयौँ ।

जेलबाट छुटेर दोलालघाट के पुगेका थियौँ । गोविन्दनाथजीले जुलुसै लिएर आउनुभएछ । दोलाघाटका माछा खाएर काठमाडौँ फर्कियौँ हामी ।

प्रस्तुति : अक्षर काका / बार्हखरी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution