५४ लाखसहित हुण्डीवाला पक्राउ
भाद्र १८, २०७५ , पर्सा — नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई साेमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे ५४ लाख ९६ हजार र हुण्डीको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोबार भएको सूचनाका आधारमा कारवाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुई जना भारतीय र तीन जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापालेबताए ।
उनले अवैध कारोबारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका–५का पवनकुमार गुप्ता, वीरगञ्ज–६ का अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१का अजयकुमार जैशवाल, भारत विहार रक्सौलकाअशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोबारी भएको अनुसन्धानबाट खुलेको नायब उपरीक्षक थापाले जानकारी दिए ।
आइतबार अपराह्न्न प्रहरीले छापा मार्दा नियन्त्रणमा लिएका ८जना मध्ये तीनको काराेबारमा संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको थापाले बताए ।
बरामद गरिएकोरकम र पक्राउ परेका व्यक्तिलाई आजै राजश्व अनुसन्धान विभाग पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
रासस