हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

दरवार हत्याकाण्ड:युवराज दीपेन्द्रले आमाको चुल्ठो समातेर अनुहारमै गोली ठोकेपछि….

उता दीपेन्द्र आफ्नै तयारीमा थिए । दिवानीसँग त्यस साँँझ (१९ गते जेठ) पटक–पटक संवाद गरे उनले । दिवानीसँगको फोन–संवादपछि दीपेन्द्र त्रिभुवन सदनतिर लागे । दीपेन्द्र पुग्नुअगाडि नै त्यहाँ शाहज्यादा पारस, राजीव शाही र अन्य आफन्त तथा नातेदारहरू पुगिसकेका थिए । कुनै पनि समारोह जहाँ श्री ५ महाराजाधिराज भाग लिइबक्सन्छ त्यहाँ सबै अतिथिहरू राजा पुग्नुअगावै पुगिसकेको हुनुपर्ने र समारोहस्थलबाट राजा नबाहिरिएसम्म कोही पनि बाहिरिन नपाइने नियम दरबारभित्रै पनि लागू थियो ।श्री ५ महाराजाधिराजको सवारी राति सवा आठ बजे मात्र हुने भएपछि त्यहाँ उपस्थित शाही नातेदारहरूमध्ये कोही आपसमा गफिइरहेका थिए, कोही विलियर्ड कोठामा विलियर्ड खेल्दै थिए भने दीपेन्द्रचाहिँ पारस र राजीव शाहीहरूलाई साथमा राखेर पिउँदै थिए । फेमस ग्राउज उनको मनपर्ने मदिरा पिउँदै गर्दा राजीव शाहीले चुरोटको सुर्ती बाहिर निकाली केही कालोपदार्थ (सम्भवतः चरेस) हातमा मल्दै पुनः चुरोटको खोलमा भरे र दीपेन्द्रलाई दिए, उनले सल्काए, बाक्लो धुवाँ सिलिङतिर उडाए । ६ स्न्याप तानेपछि दीपेन्द्रले पारसतिर हात बढाए । ‘मुड छैन दादा’ भन्दै पारसले चुरोट पिउन अस्वीकार गरे ।

त्यसपछि फेमस ग्राउजको तेस्रो पेगसँगै दीपेन्द्रले चरेस भरिएको चुरोट पनि सिध्याए । घडीले सवा आठ बजाएको थियो । श्री ५ महाराजाधिराज प्रसन्न मुद्रामा त्रिभुवन सदनमा प्रवेश होइबक्स्यो । त्यहाँ उपस्थित सबैले राजाको अगाडि पुगेर प्रणाम गरे, तर दीपेन्द्रले आफ्नो ठाउँ छोडेनन्, छड्के आँखाले पितातिर हेरे र चुपचाप बसिरहे, उनी घरि भुइँमै सुत्ने र घरि उठ्ने गर्दै थिए । शाहज्यादा पारसले दीपेन्द्रको छेउमै उभिएर महाराजाधिराजलाई प्रणाम गरेका थिए ।

राजाको सवारीपछि दीपेन्द्रले फेमस ग्राउजको अर्को पेग हातमा लिएर त्यहाँ ठूलठूलो स्वरमा– त्यो पनि नसाले लठ्ठिएको लवजमा बोल्न थाले । दीपेन्द्रको हाउभाउ हेर्दा उनले होस गुमाएको भान हुन्थ्यो । उनको त्यस्तो अवस्था देखेपछि श्री ५ महाराजाधिराजबाट ‘दीपेन्द्रलाई आराम गराउन’ हुकुम भयो । राजाको आदेश नभई बाहिर निस्कनै नपाउने नियम भएकाले दीपेन्द्रबाट बाहिर निस्कनकै लागि त्यस किसिमको अभिनय भएको त्यहाँ उपस्थित सबैले पनि सुइँको पाउन सकेनन् । राजाको आदेशपछि पारस शाह, राजीव शाहीलगायतले दीपेन्द्रलाई सम्हाल्दै उनको शयनकक्षमा पुऱ्याए र त्रिभुवन सदनमा फर्किए ।

दीपेन्द्रलाई उनको शयनकक्षको भुइँखाटमा सुताउने क्रममा पारसले दीपेन्द्रले भिरेको पेस्तोल निकाल्ने प्रयास गरेका थिए । तर, अनेकौँ प्रयास गर्दा पनि दीपेन्द्रले पेस्तोल निकाल्न दिएनन् । त्यसपछि त्यत्तिकै सुताएर पारस र राजीव शाही फर्किएका थिए । फर्कंदै गर्दा सधैँ दीपेन्द्रको दराजमा रहने गरेकोे एम–१६ राइफल बाहिर टेबुलमै सुताइएको देखेर पारस छक्क परेका थिए । तर, उनले उक्त हतियार दराजमा थन्क्याइदिने काम गरेनन्, त्यसो त आवश्यक पनि थिएन ।

राजा महेन्द्रका पालामा हतियारसम्बन्धी एउटा विशेष नियम बनाइएको थियो । दिनको समयमा राजपरिवारका सदस्यहरू जोकसैले हतियार प्रयोग गरे पनि रात पर्नुअघि सो हतियार कोतमा लगेर राख्नुपर्ने अनिवार्य नियम राजा महेन्द्रले बनाएका थिए । राजा वीरेन्द्रले उक्त परम्परालाई निरन्तरता दिन सकेनन् । वीरेन्द्रको कमजोरीकै कारण दीपेन्द्रले आफैँसँग हतियार राख्ने छुट पाएका थिए ।

एक बोतल ह्विस्की सजिलै पिउन र पचाउन सक्ने दीपेन्द्रलाई त्यस दिन नसाले झुम बनाएको देखेर त्यहाँ उपस्थित सबै छक्क परेका थिए । धेरैले मदिरा र कालोपदार्थ एकैपटक सेवन गरेकाले बढी नसा लागेको हुनसक्ने अनुमान गरेका थिए । तर, दीपेन्द्रलाई वास्तवमा धेरै नसा लागेकै थिएन । शयनकक्षमा छोडेर आएको पन्ध्र मिनेट बित्दानबित्दै उनी त्रिभुवन सदनमा फर्किए । फर्कंदा उनको पोसाक बदलिएको थियो । सेनाको पृथुलाधीश रहेका उनी चारवटा हतियारसहित सेनाकै पोसाकमा सदनभित्र प्रवेश गरे ।

भोज भइरहेको कोठाको ढोकाभित्र प्रवेश गर्नै लाग्दा रविशमशेर राणाले ‘ओ हो ! बुबाज्यूलाई करिश्मा देखाउने हो कि के हो ?’ भनी जिस्क्याएका थिए । तर, दीपेन्द्र केही बोलेनन्, डस्नुअघिको सापको गतिमा उनी भित्र प्रवेश गरे । भित्र पस्नेबित्तिकै उनले दुईवटा गोली सिलिङतिर हाने । उपस्थित सबै त्रसित र स्तब्ध भए, त्यसपछि दीपेन्द्र सोझै आफ्ना पिता (राजा वीरेन्द्र) भएतिर फर्किए र धडाधड गोली प्रहार गरे ।

राजा वीरेन्द्रले पहिरिएको सेतो कमिजमा ठाउँठाउँबाट रगतको भुल्का बाहिर निस्कियो । गोली हानेपछि पेस्तोल त्यहीँ फालेर दीपेन्द्र बाहिर निस्किएका थिए । घाइते राजाले सोही पेस्तोल टिपेर दीपेन्द्रलाई प्रहार गर्न चाहेका थिए, तर राजाकी बहिनी शोभा शाहीले पेस्तोल आफूले समातिन् र बाँकी गोली निकालिदिइन् । गोली लागेपछि केही भाग्न थाले भने बडामहारानी ऐश्वर्य, डा. राजीव शाही, राजाका बहिनी तथा ज्वाइँ र छोरी श्रुतिलगायत चाहिँ राजा ढलेको ठाउँमा झुम्मिए ।

दीपेन्द्र हलबाट बाहिरिँदै थिए, उनको कानमा राजाको आवाज पऱ्यो, ‘मलाई पेटमा पनि गोली लागेको छ ।’ घाइते राजा वीरेन्द्रलाई डा. राजीव शाहीले आफ्नो काखमा राखेर घाँटीमा गोली लागेको ठाउँ जाँच गर्दै गर्दा राजाले आफ्नो पेटमा पनि गोली लागेको बताएका थिए ।

यसरी राजाको आवाज सुनेपछि दीपेन्द्रलाई लाग्यो कि ‘मरेका रहेनछन् ।’ बाहिर निस्किसकेका दीपेन्द्र फेरि भित्र पसे र सिलिङतिर गोली हान्दै राजा भएतिर बढे । अधिराजकुमार धीरेन्द्र दौडँदै दीपेन्द्रको अगाडि बाटो छेकी उभिए र हात जोड्दै भने, ‘ठूलो क्षति भइसक्यो, भैगो बाबा भयो, अब छोडिदेऊ, तिमीले चाहेको भइसक्यो ।’ यति भन्दै दीपेन्द्रको हातको बन्दुकतिर धीरेन्द्रले हात के बढाउन खोजेको थिए दीपेन्द्रले धीरेन्द्रलाई पनि गोली प्रहार गरे । गोली लागेपछि झन्डै पाँच मिटर पर पुगेर धीरेन्द्र ढले ।

राजा वीरेन्द्रको रक्षा गर्न खोज्ने र पारिवारिक कलहमा आफूलाई साथ दिन नचाहने शान्ति सिंह, कोमल शाह, बहिनी श्रुति राणा, ज्वाइँ गोरखशमशेरलगायतलाई छानीछानी दीपेन्द्रले गोली प्रहार गरे । ‘दादा, बुबालाई किन यसो गरिबक्सेको’ भन्दै श्रुति दीपेन्द्रलाई सम्हाल्न अघि बढ्दै थिइन्, श्रुतिलाई रोक्न उनका पति गोरखशमशेर ‘ए पख न’ भन्दै श्रुतिको पछि–पछि कुद्दै थिए । दीपेन्द्रले श्रुतिलाई गोली हानेर ढाले, त्यसपछि ज्वाइँ गोरखशमशेरलाई पनि छातीमै ताकेर गोली हानेका थिए, गोरख श्रुतिकै छेउमा ढले । दीपेन्द्रको बाटो छेक्न जानेजति कसैलाई उनले बाँकी राखेनन्, भाग्नेहरूलाई पछ्याउँदै गोली हान्न पनि दीपेन्द्र गएनन् । तर, गोली लागेर ढलेका आफ्नी बहिनी श्रुति, ज्वाइँ गोरखलगायतलाई बुटले पल्टाइपल्टाई हेरेको देख्नेहरूले दीपेन्द्र बहिनी र ज्वाइँलाई धेरै नै रिस गर्दारहेछन् भन्ने महसुस गरेका थिए ।

त्यतिबेलासम्म रानी ऐश्वर्यसहित केही व्यक्ति राजा वीरेन्द्र ढलेकै ठाउँमा बसेर बिलौना गर्दै थिए । राजाले आँखा चिम्लिएपछि ऐश्वर्य उठिन् र ‘कि यसलाई मार्छु कि म मर्छु’ भन्दै बाहिर निस्किइन् । हतियार राखिएको घरको स्टोरमा (कोतमा) जान रानी भऱ्याङ चढ्दै थिइन् । रानीको पछिपछि दीपेन्द्र र दीपेन्द्रको पछिपछि नीराजन, नीराजनको पछि उनैका अङ्गरक्षक दौडँदै थिए । भऱ्याङ चढिनसक्दै दीपेन्द्र अघि बढेर आफ्नो खुट्टा आमाको अघिल्तिर तेस्र्याएर आमालाई रोक्न खोजे ।

आमा ऐश्वर्यले दीपेन्द्रको हातकै हतियार खोस्न खोजिन् । दीपेन्द्रले एक हातले आमाको चुल्ठोमा समातेर अनुहारमै ‘प्वाइन्ट ब्ल्याङ्क’ गोली ठोके ।

नीराजन कराउँदै थिए, ‘दादा आमालाई नमार ! दादा नगरिबक्स्योस् आमालाई ।’

तर दीपेन्द्रले आमालाई ढाले र त्यसपछि भाइ नीराजनमाथि प्रहार गरे । एकै गोलीले मर्न सक्थे नीराजन, तर पचासौँ गोली प्रहार गरे दीपेन्द्रले ।

केही ढिलो गरेर घटनास्थलमा आइपुगेकी मुमा बडामहारानी रत्न जताततै परिवारका सदस्यहरू ढलेको देखेर स्तब्ध भइन् । दीपेन्द्रले एक–एक गरेर सबैलाई गोली हानेको जानकारी कसैले मुमा बडामहारानीलाई गरायो । त्यसपछि उनले आफ्नो अङ्गरक्षकलाई आदेश गरिन्, ‘दीपेन्द्रलाई गोली हानेर भए पनि नियन्त्रणमा लिनू ।’

मुमा बडामहारानीको आदेशपछि अङ्गरक्षकहरू बगैँचातर्फ दौडिए । दीपेन्दै भुइँमा लडिरहेका भाइ नीराजनको मृतशरीर हेरिरहेका थिए । मुमा बडामहारानी रत्नले आदेश दिएकी भए पनि तिनले दीपेन्द्रमाथि गोली प्रहार गर्ने हिम्मत गरेनन् । केही दूरीमा उभिएर हेरिरहे ।

दीपेन्द्रको अनुहार राम्रोसँग पढ्न सकिने उज्यालो त्यहाँ थिएन । अचानक बायाँ हातमा भएको पेस्तोल उनले आफ्नो कञ्चटमा टाँसे र ट्रिगर दबाए । गोली चल्नेबित्तिकै उनको हातले फालेको पेस्तोल पोखरीमा गएर खस्यो । दीपेन्द्र पनि ढले ।

तथापि कतिपय मानिस मुमा बडामहारानीको आदेशमा उनकै अङ्गरक्षकले दीपेन्द्रमाथि गोली प्रहार गरेको ठान्दछन् ।

त्यतिबेलासम्म त्रिभुवन सदन सेनाको घेरमा परिसकेकोे थियो । राजा, रानी र गोली लागी घाइते भएका सबैलाई छाउनीस्थित आर्मी अस्पतालमा लैजाने प्रबन्ध सेनाले मिलायो । गोली लागेर ढलेका दीपेन्द्रलाई पनि अस्पताल पुऱ्याइयो, तीन दिनसम्म धुकधुकीमा बाँचेर वि.सं. ०५८ जेठ २२ गते उनले प्राण त्यागे ।  (नारायणहिटी राजदरबार हत्याकाण्डबारे पत्रकार देवप्रकाश त्रिपाठीको पुस्तक महानिशाको एक अंश घटना र बिचार अनलाईन संस्करणबाट साभार-)  






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution