बिमस्टेकको पहिलो ‘भीआईपी’ पाहुना काठमाडौं आउँदै, यी रूटमा बन्द हुनेछन् सवारीसाधन

भदौ १२, २०७५ काठमाडौं– बहुक्षेत्रीय प्राविधिकतथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन विदेशी पाहुना आउने क्रम आजबाट शुरु हुने भएको छ ।
मंगलबार(आज) म्यानमारका राष्ट्रपति युमिन मिच काठमाडौं उत्रने कार्यक्रम रहेको छ । राष्ट्रपति युमिन दिउँसो पौन दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ ।
विमानस्थलबाट म्यानमारका राष्ट्रपति युमिन कालिमाटीमा रहेको होटल सोल्टी जाने कार्यक्रम छ । विमानस्थलबाट कालिमाटी जाने क्रममा उनको रुटमा पर्ने क्षेत्रको सवारी आवागमन अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसका लागि अहिले तीनवटा रुटलाई तयारी अवस्थामा राखिएको छ ।
जसमा विमानस्थलबाट सिनामंगल, तिनकुने, वानेश्वर, त्रिपुरेश्वर, कालिमाटी दोस्रोमा विमानस्थलबाट गौशाला, रातोपुल, रत्नपार्क हुँदै कालिमाटी र तेस्रो विमानस्थलबाट कोटेश्वर, वल्खु हुँदै कालिमाटी जाने रुटलाई तयारी अवस्थामा राखिएको छ ।
युमिन आउने बेलासम्म सवारी चापलाई मध्यनजर गर्दै रुट तय गर्ने तयारीमा ट्राफिक प्रहरी रहेको छ । उक्त समय उनको रुटमा पर्ने क्षेत्रको सवारी आवागमन बन्द रहने छ ।
यस्तै श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानन्यायाधीश बिमस्टेकको सम्मेलनमा सहभागी हुन भोलि (बुधबार) नेपाल उत्रने कार्यतालिका रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
बिमस्टेकको लागि सिंगारियो काठमाडौं
विमस्टेकको सम्मेलनलाई लक्षित गर्दै काठमाडौं उपत्यकालाई सिंगारिएको छ । विशेष गरि विदेशी पाहुँनाको रुटमा पर्ने क्षेत्रमा स्वागतद्वार, नेपालको संस्कृति झल्काउने खालको होर्डिङ बोर्डहरु राखिएको छ । खाल्टा खुल्टी पुररिएको छ भने धेरै ठाउँमा रंग रोगन गरिएको छ ।
त्यसका लागि करिब २ करोड खर्च भएको छ । बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग रोगन गरिरहेका छन् भने विभिन्न सरकारी निकाय, गैरसरकारी संघसंस्थाहरुले प्रवेशद्वार तथा राष्ट्रप्रमुखहरुको स्वागतमा होडिङ बोर्ड निर्माण गरेका छन् ।
सुरक्षामा विशेष ध्यान
बिमस्टेकमा आउने विदेशी पाहुनाको सुरक्षा र सम्मेलनको सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्ने छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरुले पनि खटिनेछन् । सबै तहका सुरक्षा निकाय गरि १८ हजार भन्दा धेरै सुरक्षाकमी खटिने छन् ।
को-को आउँदैछन् ?
सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ ।
सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच मंगलबार काठमाडौं आइपुग्ने कार्यक्रम छ । यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रिपाला सिरिसेना र भुटानका प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ ।
सम्मेलन उद्घाटनको दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री चाङओचा आइपुग्ने कार्यक्रम रहेको लोकान्तरमा छ |