बुद्धजन्मस्थल लुम्बिनीमा श्रीलंका तथा बर्माका राष्ट्रप्रमुखले भ्रमण गर्ने

लुम्बिनी । काठमाडौंमा आयोजित बिमेस्टेक सम्मेलनको अवसर पारी छुट्टाछुट्टै रुपमा यही भदौ १३ र १६ गते हुन लागेको श्रीलंका तथा बर्मा राष्ट्रप्रमुखद्वारा हुन लागेको बुद्धजन्मस्थल लुम्बिनी भ्रमण सम्बन्धी लुम्बिनी विकास कोषद्वारा आवश्यक तयारी पूरा भएको छ ।
भदौ १३ गते बिहान ९ बजे म्यानमारका राष्ट्रपति बिन मियिन्टको बुद्धजन्मस्थल लुम्बिनीमा हुन लागेको पहिलोपटक औपचारिक भ्रमणको स्वागत सत्कार तथा सुरक्षा सम्बन्धी कोषले सबै तयारी पूरा गरेको हो ।
लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टरार्इंका अनुसार बर्मेली राष्ट्रप्रमुखको लुम्बिनी भ्रमणको दौरानमा कोषका पदाधिकारी, सुरक्षाकर्मी तथा स्थानीयको रोहबरमा लुम्बिनी मायादेवी मन्दिर अखण्ड शान्तिद्वीप बर्मामन्दिर, केन्द्रिय नहर तीनवटा हेलिप्याड, गेट नं. १ देखि ९ नं. गेटसम्म लगभग एक हजार जनाको सहभागितामा सरसफाई गरिएको छ ।
बर्मेली राष्ट्रप्रमुख मियिन्टले आफ्नो धर्मपत्नीसँगै बुद्धजन्मस्थल लुम्बिनी मायादेवी मन्दिरमा बौद्ध परम्परा अनुसार पूजाआराधना, उपहार प्रदान, बर्मा बौद्ध बिहारका प्रमुख भिक्षुद्धारा धर्मदेशना ग्रहण, पण्डितारामा ध्यानकेन्द्रमा ध्यानपश्चात दिउँसो तीन बजेसम्म होटल कासाईमा विश्राम समेत गर्ने कोषका निमित्त सदस्यसचिव भट्टराईले बताए ।
त्यस्तै भदौ १६ गते श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको लुम्बिनी भ्रमणको दौरानमा पनि मायादेवी मन्दिर, श्रीलंका बौद्धबिहारमा पूजाआराधना पश्चात श्रीलंका विश्राम गृहको अवलोकन गर्ने कार्यक्रम सुनिश्चित भएको कोषले जनाएको छ ।
यसैगरी दुई राष्ट्र प्रमुखको लुम्बिनी भ्रमणको बिषेश सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, दंगा प्रहरी, सशस्त्र प्रहरी गरि चारवटै सुरक्षा अंग परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिने सुरक्षा समिति संयोजक तथा रुपन्देही प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जानकारी दिए ।
पहिलोपटक हुन लागेको बर्मा तथा श्रीलंकाका राष्ट्रप्रमुखद्वयको लुम्बिनी भ्रमण पश्चात बुद्धजन्मस्थल लुम्बिनीको गरिमा अझ उचाईमा पुग्नुका साथै बर्मा तथा श्रीलंकाको पर्यटकहरुको लुम्बिनी आगमनमा वृद्धि हुने अपेक्षा समेत गरिएको रातोपाटीमा छ ।