प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडौँ — संवैधानिक परिषद्को बिहीबार दिउँसो बसेको बैठकले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको हो ।
सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेकाहरु मध्येबाट प्रधानन्यायाधीश छान्ने कानुनी व्यवस्था रहेको छ। सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र समशेर राणा योग्यता पुगेका थिए।
परिषद्ले वरिष्ठतम्लाई सिफारिस गर्ने चलन छ। मिश्र अगामी पुससम्म प्रधानन्यायाधीश हुनेछन्।यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाई समितिले अस्वीकार गरेपछि उनी बिदा बसेका छन्। उनी बिदा बसेकाले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मिश्र कायममुकायमका रुपमा रहेका छन्।
परिषद्मा प्रधानमन्त्री तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख रहने व्यवस्था छ।
२०७५ भाद्र ७ गते