हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

काभ्रेली डन गणेश लामा तामाङ, कसरी भए २७ करोड सम्पत्तिका मालिक ?

काभ्रेको साबिक खहरेपुरेपागु-९ (हाल, रोसी गाउँपालिका-१) मा २०३५ सालमा जन्मेका गणेश लामा फरक मानिसका लागि फरक पात्र हुन्। नेता भन्छन्- उनी राजनीतिज्ञ हुन्। प्रहरी भन्छ- गुन्डा हुन्। अदालत भन्छ- अवैध सम्पत्ति कमाएका करोडपति हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनले आपराधिक गतिविधि सुरू गरेको १२ वर्षमा २७ करोड रुपैयाँ कमाएको जनाएको छ।अदालतले भने उनको १ करोड ४० लाख रुपैयाँ नगद मात्र अवैधानिक बताएको छ। उनलाई त्यति बराबर बिगो र एक वर्ष जेल सजाय तोकेको छ।

काभ्रेबाट फुक्काफाल काठमाडौं छिरेका लामा कसरी यति कम समयमै २७ करोडका मालिक बने? यति धेरै सम्पत्ति उनले कहाँ, कसका नाममा राखे? उनलाई कसले संरक्षण दियो?

लामाको पृष्ठभूमिबाट सुरू गरौं।

बाबु पाल्साङका तीनमध्ये माइलीपट्टीका छोरा हुन्, गणेश। उनी हुर्किंदा बाबु राजनीतिमा थिए। पाल्साङ राप्रपाबाट २०५४ सालको स्थानीय निकाय चुनावमा खरेपागु गाविसको वडाध्यक्ष उम्मेदवार हुन्।

उनका पुराना साथीहरुका अनुसार लामाको परिवार खानलाउन पुग्ने चाहिँ हो। यत्रो सम्पत्ति कमाउने व्यावसायिक पृष्ठभूमि हुँदै हैन। लामा एसएलसी पास गरेपछि राजधानी आए। त्रिचन्द्र कलेजमा आइएस्सी पढ्दापढ्दै गुन्डागर्दीमा लागे।

‘साधारण परिवार थियो, राजधानी आएर गुण्डागर्दी गर्न थाल्यो भन्ने सुनियो,’ उनलाई नजिकबाट चिन्ने एक व्यक्तिले भने, ‘पछि त उसलाई डन भन्न थाले, करोडौं आर्जन गरेको अभियोगमा अनुसन्धान हुन थाल्यो।’

लामाको अपराध यात्रा भने लामो छ। त्यति नै लामो छ अपराध कर्ममा लागेकाहरूसँग उनको संगत।

राजधानीमा गुन्डाहरूले प्रभाव जमाउन थालेको २५ वर्ष पुगिसकेको छ। यो इतिहासको सूत्रपात गुन्डा नाइकेद्वय दीपक मनाङ्गे र चक्रे मिलनबाट भएको हो।

यी दुवैका ‘चेला’ गणेश लामा केही वर्षभित्रै राजधानीका तेस्रो ठूला गुन्डाका रुपमा उदाए।

प्रहरीका अनुसार मनाङ्गे र मिलनको फाटो बीचमा लामाको ‘इन्ट्री’ भएको हो। काभ्रेबाट २०५४ सालमा राजधानी आएका लामा सोल्टी होटलको क्यासिनोमा काम गर्थे। त्यहीँ उनी मनाङ्गेको नजरमा परे।

कालिमाटीका टोले गुण्डा एक दिन क्यासिनो छिर्न आए। लामाले रोके। झडपमा लामामाथि खुकुरी प्रहार भयो।

लामा जसोतसो बाँचे। अस्पतालबाट डिस्चार्ज हुँदा मनाङ्गेले लामालाई अन्नपूर्ण होटलको क्यासिनो पुर्याए। राकेश वाद्वाका नाममा राजधानीका अधिकांश क्यासिनो सञ्चालन हुन्थे। क्यासिनोमा उठ्तीपुठ्ती चलाउने मनाङ्गेको वादमासँग चिनजान थियो। वाद्वाकै क्यासिनोमा लामालाई पुर्याए।

कराँतेका ब्ल्याक बेल्ट भइसकेका लामालाई वाद्वाले क्यासिनोको सुरक्षा जिम्मा दिए। लामा विस्तारै मौलाउन थाले।

दरबारमार्ग, ठमेल, नयाँ बानेश्वर, बसपार्क, बालाजु, लाजिम्पाट क्षेत्रका ‘किङ’ थिए मनाङ्गे। चक्रे महाराजगञ्ज, चाबहिल, सुन्धारा, नारायणथान, मूलपानीमा अपराध धन्दा चलाउँथे।

प्रहरीका अनुसार मनाङ्गेको समूह रात्रिकालीन व्यवसायमा केन्द्रित थियो। चक्रे बालुवाखानीमा। कुन क्षेत्रमा कसले कति पैसा उठाउने भन्ने विषयमा उनीहरुबीच विवाद भयो। विवाद झगडामा बदलियो।

चक्रेले मनाङ्गेलाई बसपार्कको कारोबारबाट लखेटे। विस्तारै उनीहरु एकअर्का सिध्याउने खेलमा लागे।

चक्रे समूहमा रहेर साजन महर्जन, कुमार घैंटे, तेजेन्द्र गुरुङ, मनराज गुरुङ, भीम गुरुङ, भुवन गुरुङले काठमाडौंमा रकम असुल्थे। मेनपावर, हाउजिङ, ठेक्कापट्टामा चक्रे समूहले राज थाल्यो। सुन्धारा, बागबजार क्षेत्रमा रात्रिकालीन व्यावसाय पनि चक्रे समूहले कब्जा गर्यो।

मनाङ्गेभन्दा चक्रे समूह बलियो हुन थाल्यो। मनाङ्गेका केही सहयोगीले समूह छाडे। कोही विदेश पलायन भए।ठिक त्यही बेला लामाको मनाङ्गे समूहमा प्रवेश भयो। लामा मनाङ्गे समूहमा आबद्ध भएपछि राजधानीमा ‘ग्याङ वार’ उग्र भयो।

हायात होटलमा भएको ‘ग्याङ वार’ मा मनाङ्गे समूहले चक्रेको हात छिनालिदियो। त्यसपछि मनाङ्गे हैन, गणेश लामा बने चक्रेका दुश्मन। चक्रेको हात काटेको अभियोगमा मनाङ्गे कारागार चलान भए।

मनाङ्गे जेल गएपछि लामाले आफ्नै नेतृत्वमा ‘काभ्रेली समूह’ गठन गर्यो। ठमेलमा सक्रिय यो समूहमा गणेश, विष्णु लामा, उमेश लामा, रमेश सुनुवार, चन्द्र लामा थिए। हप्ता, महिना, होटल, क्यासिनो, ठेक्कापट्टा, टेन्डर, क्रसर उद्योगहरूमा असुली काभ्रेली समूहको प्रमुख पेशा बन्यो।

बालुवाखानीको हिसाब-किताब नमिल्दा आफ्नै सहयोगी यादव डंगोलको हत्या गरेको अभियोगमा चक्रे कारागार पुगे।

राजधानीको दुई प्रमुख गुन्डा नाइके मनाङ्गे र चक्रे जेल परेपछि लामाले फैलिने मौका पाए।

‘ग्रुप बनाउँदै, फैलिँदै यिनीहरूले आफ्नै सर्कल बनाएर अपराध गरेको पाइन्छ,’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘कमजोर प्रहरी प्रमुख ठाउँमा पुगेका बखत यिनीहरूले आम्दानी बढाएका हुन्।’

मल्लका अनुसार गुन्डाहरूको प्रमुख आम्दानी भनेको बिनालगानी सेयर सदस्य र घर-जग्गा कमिसन हो। ‘उनीहरूले प्रभाव जमाएका क्षेत्रमा कसैले होटल खोल्न परे लगानीबिनै कि सेयर सदस्य, कि पैसा बुझाउनुपर्ने भयो। त्यसो नगरे उनीहरू काममा अवरोध गर्थे,’ मल्ल भन्छन्, ‘त्यस्ता क्षेत्र गुन्डाका कमाइको आकर्षक स्रोत हुन्।’

२०६२ सालसम्म आइपुग्दा त लामा रक्तचन्दन कारोबारी भनेर चिनिन थाले। पक्राउ पर्ने र नेताहरुको आडमा छुट्ने ठेगान नहुने भएपछि प्रहरी पनि उनीसँग सतर्क हुन थाले।

२०६५ सालमा गणेश विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा सिधै केन्द्रीय सदस्य बने। त्यसपछि त उनलाई राजनीतिक संरक्षणको पनि कमी रहेन।

गच्छदारलाई पैसा चाहिएको थियो, लामालाई राजनीतिक संरक्षण। दुबैको स्वार्थ मिल्यो।

‘गच्छदारले लामाबाट भएको आम्दानी व्यक्तिगत रुपमा कता कसो गरे पार्टीलाई थाहा छैन,’ गच्छदारको त्यसबेलाको पार्टीका एक नेता भन्छन्, ‘उहाँले लामाजस्ता थुप्रै व्यक्तिहरूसँग सम्बन्ध बनाउनुभएको छ।’

काठमाडौं परिसर पुग्ने प्रहरीका कतिपय अफिसरले काभ्रेली समूह तह लगाउन खोजे पनि धेरै ‘रिस्क’ भने लिँदैनथे। २०६६ सालमा परिसरमा जब रमेश खरेल पुगे, काभ्रेली समूह ओरालो लाग्न थाल्यो। खरेलले क्यासिनो र रात्रिकालीन व्यवसाय बन्द गरे। यिनै व्यवसायबाट लामा समूहको आम्दानी हुन्थ्यो।

२०७० सालमा पाँच गुन्डा नाइकेहरूको सम्पत्ति छानविन हुँदा त लामाले गुरू मनाङ्गे र चक्रेलाई पछाडि पारे।

सम्पत्ति शुद्धीकरणको बयानमा धाइरहँदै २०७० सालमा गच्छदार गृहमन्त्री भएपछि लामाले सिंहदरबार वरिपरि घुम्ने मौका पनि पाए। गच्छदार गृहमन्त्री हुञ्जेल लामा उनका अघोषित सल्लाहकारजस्तो भए।

गृहमा प्रहरी अधिकृतको सरुवा-बढुवामा लामाले हात लम्काएको प्रहरी अधिकारी नै बताउँछन्। ‘लामाकै सोर्समा कतिपय प्रहरी अधिकृत सरुवा-बढुवा भए,’ एक प्रहरी अधिकृत भन्छन्, ‘लामाले त्यो बेला पनि पैसा कमाए।’

अहिले गच्छदारको पार्टी नेपाली कांग्रेसमा मिसिएको छ। गच्छदारले लामाको साथ छोडेका छैनन्। गच्छदारकै जोडबलमा गत प्रदेश सभा निर्वाचनमा लामा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार उठे। पराजित भए।

नेकपा नेतृत्वको सरकार गठन भइकन लामा हातहतियार खरखजना मुद्दामा पक्राउ परेर जेल गएका छन्। सो मुद्दा खेपिरहेको बेला अदालतले लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर्याएको छ।

विभागले दायर गरेको मुद्दामा विशेष अदालतले साउन २४ गते उनीसँग भएको सम्पत्तिमध्ये एक करोड ४० लाख ५० हजार मात्र सम्पत्ति अवैध हुने अदालतले ठहर गरेको छ। विशेष अदालतले लामालाई एक वर्ष कैद हुने फैसला गरेको छ।

२७ करोडमध्ये उनको नामना ठूलो अचल सम्पत्ति रहेको अनुसन्धानले देखाएको सेतोपाटिमा छ।

प्रहरीका अनुसार लामाले आफू, बाबु पाल्साङ लामा, भाइ विनोद लामा, आमा रञ्जु लामाका नाममा काठमाडौं, भक्तपुर, ललितपुर काभ्रेका ३६ ठाउँमा जग्गा जोडेका छन्। बाबु पाल्साङले २३ स्थानमा आफ्नो नाममा राखिएको जग्गा बिक्री गरेको भेटिएको छ।

गणेशका नाममा ९ वटा बैंकमा खाता सञ्चालन छन्। भाइ राकेशका नाममा पाँच, विनोदका नाममा एक, बाबु पाल्साङका नाममा तीन, श्रीमती लक्ष्मीको नाममा २ वटा व्यक्तिगत खाता छन्।

सिरुवा निर्माण कम्पनी तीनकुनेको नाममा ८ वटा, स्मृति निर्माण फर्मको नाममा एक, मेलम्ची क्रसर उद्योग नाममा चार, ज्वाइन्ट भेन्चर कम्पनी खाताहरू पाँच बैंकमा छन्। लामा आफैं तीन कम्पनीका सेयर होल्डर छन्। आफू, श्रीमती र भाइका नाममा होटल र आयल स्टोर सञ्चालन गरेका छन्।

सवारी साधन खरीद, बैंकिङ कारोबार, घर जग्गामा लगानी, कम्पनी तथा व्यवसायमा लगानी देखिएको छ।

कुन बैंकमा लामाको कति पैसा छ?

अनुसन्धान अनुसार लामा आफूले बैंकमा कारोबार गरेमध्ये ८ वटा बैंकमा स्रोत नखुलेको सम्पत्ति फेला परेको छ। भिबोर विकास बैंक त्रिपुरेश्वर १० लाख, सिभिल बैंक कमलादी ११ हजार ८०, सनराइज बैंक तीनकुने १ करोड ७ लाख ८३ हजार ६ सय, इन्टरनेसनल डेभलपमेन्ट बैंक २०६, सिटिजन्स बैंक कमलादी ५१ लाख ९० हजार २ सय, सिटिजन्समै ९७ लाख ६ हजार ५२२, बैंक अफ काठमाडौं कमलपोखरी २ करोड ३२ लाख ११ हजार २० र नेपाल इन्भेस्टमेन्ट बैंक दरबारमार्गमा १ करोड ३३ लाख ४२ हजार ५४३ रुपैयाँ स्रोत नखुलेको रकम छ।

भाइ राकेश लामाका नाममा आइसीएफसी फाइनान्स भाटभटेनीमा १ लाख ३९ हजार ५८३, सनराइज बैंक तीनकुनेमा ४ लाख ३ हजार ९११, सिद्धार्थ बैंक गठ्ठाघर ११ हजार ९०६, नेपाल इन्भेस्टमेन्ट बैंक ५७ लाख ९२ हजार ६५० र नबिल बैंक दरबारमार्गमा ३० लाख १५ हजार २१ फेला परेको छ।

भाइ विनोद लामाका नाममा बैंक अफ काठमाडौं कमलपोखरीमा २३ लाख ५४ हजार ६७२ रुपैयाँ स्रोत नखुलेको रकम फेला परेको छ।

बाबु पाल्साङको नाममा सिटिजन्स बैंक कमलादीमा ७४ लाख १९ हजार ४९, प्रभु बैंक न्युरोडमा १२ लाख ५ हजार र नबिल बैंकमा ३० लाख ७ हजार ७८४ स्रोत नखुलेको रकम छ।

श्रीमती लक्ष्मीका नाममा खोलिएको खातामा प्राइम बैंक न्युरोड २ लाख ६५ हजार ६९६ र नेपाल इन्भेस्टमेन्ट बैंक दरबारमार्गमा ११ लाख ८६ हजार ९५८ रुपैयाँ फेला परेको छ।

सिरुवा निर्माण कम्पनीको नाममा एनबी बैंक (हाल एनआइएफआइसी) ६ लाख २९ हजार, ५६५, महालक्ष्मी फाइनान्समा ४३ लाख, ७ हजार ६८७, १ करोड १९ लाख २२ हजार २९८, २ लाख २० हजार ७६१ भेटिएको छ।

सिरुवा कम्पनीको नाममा लामाको ८२ लाख, ५० हजार, स्मृति कन्स्ट्रक्सनको नाममा २५ लाख, मेलम्ची एकोन क्रसरमा ४० लाख सेयर छ। श्रीमती लक्ष्मीको नाममा हिमालय होटल ग्रान्ड प्रिन्समा ९० लाख, गणेशको नाममा जिएल आयल स्टोर कोटेश्वरमा ५ लाख र राकेश लामाको नाममा पुरानो बानेश्वरमा लक्ष्मी आयल स्टोर ५ लाख लगानी छ।

सवारीसाधन खरीदमा कृषि विकास बैंकबाट ३४ लाख ७९ हजार ४६६, सनराइज बैंकबाट ४१ लाख ७३ हजार ४४, ७१ लाख ३५ हजार २९, ३ लाख ५४ हजार १७०, सिटिजन्स बैंक १५ लाख १० हजार र सनराइज बैंकबाट ८ लाख २५ हजार कारोबार देखिन्छ।

स्मृति निर्माण फर्ममा २ करोड ३६ लाख ६ हजार ६९३ कारोबार छ। मेलम्ची क्रसर उद्योगका नाममा सनराइज बैंक ९१ लाख ४० हजार ९६०, एनसिसी बैंक ७७ लाख, ८३ हजार ८००, एनडिइपी डेभलपमेन्ट बैंकमा ३६ लाख ५० हजार ५०० र १९ लाख ९२ हजार ८८३द रुपैयाँ कारोबार भएको छ।

ज्वाइन्ट भेन्चर कम्पनी खाताहरूमा एनबी बैंक (हाल एनआइएफआइसी) १ करोड ४६ लाख ९४ हजार ६६४, मोटरसाइकल खरीद १ लाख ९४ हजार ९००, गाडी १८ लाख, लोडर ३७ लाख ७४ हजार र टिपर २४ लाख ५० हजार दरले दुई वटा खरीद गरेको भेटिएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution