टेलिकमकी महाप्रबन्धक राजभण्डारी बर्खास्त

काठमाडौं -सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो।
तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी कामिनी राजभण्डारीसँग ओली सरकारले दोस्रो पटक केही दिनअघि स्पष्टीकरण सोधेको थियो।
पहिलो पटक स्पष्टीकरण सोधेर सफाइ दिएपछि पनि राजभण्डारीले टेलिकमको हितमा काम गर्न नसकेको ठहरसहित उनलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो।
राजभण्डारीले दिएको जवाफ चित्त नबुझेकाले मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए।
टेलिकमको नाफा अघिल्लो वर्षको भन्दा एक अर्ब घटेको, टावर विस्तार गर्न नसकेको, फोरजी विस्तारमा अनियमितता गर्न खोजेकाले उनको कार्यशैलीबाट टेलिकम अघि बढ्न नसक्ने निष्कर्ष सहित हटाउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए।