विपदमा भैसी मरे १० हजार,बंगुरको २ हजार राहत पाउने

काभ्रेपलाञ्चोक । विपद्को अत्यधिक जोखिम रहेको काभ्रेको मण्डन देउपुर नगरपालिकाले विपद्मा परेका परिवारलाई राहतको प्याकेज घोषणा गरेको छ । नगरपालिकाले विपद्मा परेर कुनै नागरिकको मृत्यु भएमा मृतक परिवारलाई २५ हजार, घर भत्किएमा १५ हजार, चौपायाहरु मरेमा भंैसीको १० हजार, गाईगोरुको ५ हजार र बंगुरको २ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
नगरपालिकाले कुनै नागरिक विपद् परेमा त्यस्ता नागरिकहरुलाई औषधि उपचारका लागि अस्पताल ल्याउन र लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख टोकबहादुर वाइवाले बताए ।
विपद्मा परेका नागरिकहरुको ठूलो खालको शल्यक्रिया गर्नुपरेमा १० हजार नगद सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वाइवाले भने । त्यति मात्रै नभएर विपद्मा सामान्य खालको घाइते भएका नागरिकलाई नगरपालिकाले उपचारबापत ५ हजार दिने निर्णय गरेको समाचार राजधानीमा छ |
नगरपालिकाले मिर्गाैला र क्यान्सर रोग उपचार गराउन वार्षिक ५ हजार सहयोग गर्ने निर्णय गरेको हो । त्यस्तै नगरपालिकाले निर्णय गरेसँगै मण्डन देउपुर नगरपालिका–१० चण्डेनी नाकीखर्कमामा पहिरोले पुरिएर मृत्यु भएका १८ महिनाका दीपक तामाङको बुबा हेमकुमार तामाङलाई २५ हजार नगद नगरप्रमुख टोकबहादुर वाइवाले हस्तान्तरण गरेका हुन् ।
चण्डेनीमै पहिरोले घर बगाएका कार्साङ तामाङ, पद्मबहादु तामाङ र हेमकुमार तामाङको प्रतिपरिवार १५ हजारको दरले सहयोग रकम हस्तान्तरण गरेको हो ।