हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

डियर ‘ब्वाइफ्रेन्ड’, ह्यापी एनिभर्सरी!

यही शैक्षिक वर्षबाट हाम्रो मित्रताले २०औं वर्ष टेकेको छ। मैले सोचेकी थिएँ, यो पटक चाहिँ केही विशेष गर्नुपर्ला। केही नभए पनि सँगै खाना खान जानुपर्ला। हामीले यस अघि  कहिल्यै पनि एनिभर्सरी मनाएका थिएनौं, सोचेकी थिएँ, सम्झनाहरूको बीस वर्षे लामो अध्यायमा थप एउटा सम्झना नै सही।

एउटा कार्यक्रममा भएको निकै हतारको भेटमा ऊ भएतिर आफ्नो हात बढाएर मैले भनें, “ह्याप्पी एनिभर्सरी।”

उसले हतारमा सेम टु यु पनि नभनी भन्यो, ‘वैशाख २९ गते हो र?’

उसको उत्तरले म एकछिन त अकमक्क परें।

‘२९ गते नै भन्ने हुन्छ र?’

यति भनेर म हिँडे।

स्कुले जीवनको पहिलो दुई वर्ष एउटा स्कुलमा पढेर म युकेजीमा नयाँ स्कुलमा भर्ना भएँ। बानी परेको भन्दा निकै नौलो वातावरणमा मलाई एक खालको नरमाइलो लागिरहेको थियो। मेरो अगाडि बस्ने दुई जना केटाहरूले मलाई जिस्काउन थालेपछि मेरो नरमाइलो झन् बढेको थियो। एउटा मोटे थियो र अर्को चै निकै पातलो।

विस्तारै म स्कुलको नयाँ वातावरणमा र उनीहरूसँग पनि अभ्यस्त हुँदै गएँ। एक दिन अन्तिम पिरियडमा म्यामले ब्ल्याकबोर्डमा “भोलि नबिर्सिकन गर्ने है यो होमवोर्क, नत्र म तिमीहरूलाई भ्यागुता बनाएर बाहिर घाममा राखिदिन्छु” भन्दै लेखाइदिनु भएका प्रश्नहरू आधाउधि सार्न नपाउँदै छुट्टिको घन्टी बज्यो। घन्टी  बज्नासाथ म्यामले  ब्ल्याकबोर्डमा लेखिएका सबै प्रश्नहरू मेटिदिनुभयो। सबै साथीहरू होहल्ला गर्दै  निस्किए। घर पुगे पनि म चैनले बस्न सकिनँ। हजुरबालाई सबै कुरा भनें।

खाजा खाइसकेपछि हजुरबाले मेरो हात समाउँदै चोकमा रहेको एउटा घरमा लिएर जानु भयो।

भित्र कोठामा उही पातले मलाई कक्षामा जिस्काउने फुच्चे बसिरहेको थियो। उसले मलाई आफ्नो कापी दियो र प्रश्नहरू सारेर म हजुरबासँग घर फर्के। हाम्रो घरको दूरी लगभग ५ मिनेट लामो रहेछ।

त्यसपछि चाहिँ ऊ मसँग मिल्न थाल्यो। हामी एउटै बेन्चमा बस्न थाल्यौं। खाजा पनि बाँडेर खान थाल्यौं।

सानैदेखि हामी एकअर्काको घरमा आउजाउ गर्न थाल्यौं।

ऊ हरेक बिहान म कतिखेर स्कुल आइपुग्छु भनेर कुरेर बस्थ्यो। हामी हरेक बिहान भेट हुने बित्तिकै राति सपनामा के देख्यौं भनेर एकअर्कालाई सुनाउथ्यौं। राति सपनामा भर्याङबाट खसेर पनि ओछ्यानमै ब्यूँझिने म मात्रै हैन रहेछु भन्ने थाहा पाएपछि म कति खुशी र ढुक्क भएकी थिएँ।

कक्षा पाँच पूरा गरेपछि घरमा मलाई नयाँ स्कुलमा भर्ना गरिदिने कुरा हुन थाल्यो। यो कुरा थाहा पाएपछि उसले भनेको थियो, ‘अब कति नै वर्ष बाँकी छ र, अर्को स्कुल नपढ है ?’

‘नाँई म त नयाँ स्कुलमा पढ्छु।’ म जिस्केर भन्थें।  ममी मलाई हेर्दै हाँस्दै थपिदिनुहुन्थ्यो,‘अँ…यसपालि त नानीलाई जसरी पनि नयाँ स्कुलमा राख्दिने  हो।’ अनि ऊ मलाई अनेक कुरा सुनाएर फकाउने प्रयास गर्थ्यो।

सायद त्यही कारणले पनि होला घरबाट कत्ति कर गर्दा पनि मैले स्कुल फेरिनँ। कक्षा ६ मा अलिक टाढा रहेको नयाँ भवनमा पढाइ हुन्थ्यो, जहाँ अर्को सेक्सनका विद्यार्थीहरूलाई पनि सँगै पढाइन्थ्यो। अब नयाँ विद्यार्थीहरूसँग मिसाएर हाम्रो सिटप्लान गरियो। हामी छुट्टियौँ।

त्यसपछिका वर्षबाट मैले साथीका किसिम बुझें, केटा साथी र केटी साथी। अब कक्षामा केटाहरूलाई एकातर्फ र केटीहरूलाई अर्कोतर्फ विभाजन गरिएको थियो।

तर यो  विभाजनले पनि हाम्रो मित्रतामा कुनै फरक पारेन। ऊ हरेक वर्ष म स्कुल छोड्छु कि भनेर चिन्ता गर्थ्यो।

हामी हरेक जाँचको लागि सँगै तयारी गर्थ्यौं।हामीले हाम्रो डर र खुसी सधैँ एकआपसमा बाँड्यौं । स्कुले जीवनका हरेक परीक्षाको लागि सँगै तयारी गर्यौँ र उत्तिर्ण भयौं।

प्रवेशिका परीक्षा उत्तिर्ण भएपछि पनि हामीले एउटै कलेज पढ्ने निर्णय गर्यौँ। त्यहाँ पनि केटा र केटी बस्ने साइड छुट्टै हुन्थ्यो। हामी पहिलेदेखि नै छुट्टाछुट्टै बस्यौँ।

एकपटक केटाकेटीसँगै बसेको देख्नेबित्तिकै एउटा सरले भन्नुभयो, “केटा र केटीसँगै नबस्नें।” उनीहरुले अलिक अटेर गरेको देखेर उहाँले झर्केर गाली गर्नुभयो। त्यसपछि कुनै पनि केटा र केटी एउटै बेन्चमा सँगै बस्ने आँट गरेनन्।

ब्याचलर तहको पढाइ हामीले अलग्गिएर पढ्यौं। फरक विषय, फरक कलेज र पनि हाम्रो मित्रतामा कहिल्यै कुनै कमी आएन। हामी सँगै घुम्थ्यौँ, सँगै घुम्न गएको फोटो देखेपछि मेरा नयाँ सहपाठीहरू मलाई कुहिनोले ठेल्दै गीत गाए जसरी सोध्थे, ‘को हो…को हो… ब्वाइफ्रेन्ड हो?’

‘ब्वाइफ्रेन्ड होइन, गाइफ्रेन्ड (केटा साथी) हो।’ म उत्तर दिन्थें।

नजिकका साथीहरुलाई मैले उसँगको मित्रताको बारेमा कहिल्यै कुनै स्पष्टिकरण दिइराख्नु परेन। हरेक प्रश्नकर्तालाई प्रश्नको जवाफ दिनै पर्छ भन्ने हुँदैन भन्ने सोचेर म मौन बसिदिन्थें।

हामी एकअर्काको घरको कुनै पनि कार्यक्रममा छुट्दैन थियौँ चाहे त्यो जन्मदिन, पूजा वा श्राद्ध नै किन नहोस्।

हाम्रो मित्रतालाई केटी साथीहरु मात्र नभई हाम्रा केही केटा साथीहरुलाई पनि पच्दैनथ्यो। हामीसँगै भएको फोटोमा अनावश्यक कमेन्ट गरेर वाक्क बनाउथे ‘बिहे कहिले?’, ‘मोज छ है?’

पहिले हामीलाई देख्दा आफूले गर्दै गरेको काम छोडेर पनि रमाइलो मानेर हेर्ने छिमेकीहरू अहिले  हामीलाई सँगै देख्दा आफूले गर्दै गरेको काम छोडेर हेर्दथे तर उनीहरुको हेराइमा फरकपन म स्पष्टै महशुस गर्न सक्थेँ।

एकजना छिमेकी अंकलले थाहा नभए जसरी मलाई उनको पसलमा जाँदा सोधेका थिए,‘तपाईसँग हिँड्ने त्यो तँपाईको साथी को हो?’ जबकी उनी मेरो साथीको परिवारलाई समेत निकै राम्ररी चिन्छन्।

यस्तो बेला म सानो मुख लाएर घर आएको देखेर मेरी ममी भन्नुहुन्थ्यो,‘त्यस्तालाई त मेरो बोइफ्रेन्ड हो भनिदिनुपर्छ क्या!’

यति मात्र होइन, एकपटक म मेरो एउटा अर्कै केटा साथीसँगबाटो काट्दै गर्दा एकजना छिमेकी अंकलले हामीलाई देखे। उनले हामीलाई यसरी हेर्ने थाले मानौँ उनले आफ्नो अगाडि दुई मान्छे नदेखी कुनै अजिवको वस्तु देखे । उनी हाम्रो चियोचर्चोमा यति मग्न थिए कि ट्राफिक जाम खुलिसकेको पनि उनले पत्तो पाएनन् र बाइक नै स्टार्ट नगरी हेरिरहे। मलाई त्यस दिनजति कुनै बाबु उमेरको लोग्नेमान्छे यति धेरै विचरा लागेको थिएन।

केही समय अघि मात्र हामी दुवैको एकजना साथीले‘आफ्नो बेस्ट फ्रेन्डसँग बिहे गर्दाका फाइदाहरू’ शीर्षकको  लिंकसँगै ‘आफ्नो बेस्ट फ्रेन्डसँग विवाह गरेमा डिभोर्स हुने सम्भावना कम हुन्छ, तिमीहरु बिहे गर’ भनेर मलाई मेसेज पठाए। मैले ती मित्रलाई मेरो लागि चिन्ता गरिदिनुभएकोमा धन्यवाद दिएँ र खुशी पनि व्यक्त गरेँ। त्यसपछि मैले उनलाई नजिकका साथी हुँदै विपरित लिंगीको हरेक मित्रताले विवाहकै रुप लिनुपर्छ भन्ने नियम हुँदैन भनेर लामै प्रवचन दिनु परेको थियो।

हाम्रो सम्बन्ध कस्तो हो भन्ने थाहा पाएकाहरूले पनि यस्तो मेसेज पठाउँदा म दिक्क हुने गर्छु।

केही साथीहरू छन्, जो  हाम्रो सम्बन्धलाई लिएर निकै सकारात्मक पनि छन्। ‘यस्तो मित्रता त बिरलै देख्न पाइन्छ, साथी हुनु त तिमीहरू जस्तो’ भनेर तारिफ पनि गर्छन्। फेरि कोही चाँहि त्यसैमा थप्छन्,‘तर तिमीहरु साथी मात्र नभइ प्रेमीप्रेमिका पनि भैदिएको भए त सुनमा सुगन्ध हुन्थ्यो।’ मलाई अचम्म लाग्छ हामी दुईलाई हाम्रो मित्रतामा विशुद्ध मित्रता भन्दा बाहिर जुन कुराको कहिल्यै आभास भएन हामी वरिपरिका सबैले  हामीमा सधैँ त्यो कुराको बिजारोपण गर्न खोजिरहे।

जति ठूलाठूला धाक लगाए पनि हामी केटा र केटीलाई प्रेमीप्रेमिका र श्रीमानश्रीमतीको बाहेक साथीको रुपमा मात्र देख्दा आतिन्छौं र उनीहरुबीच प्रेमीप्रेमिकाको सम्बन्ध भए पनि नभएपनि त्यही थोपर्न खोज्छौँ।

हाम्रो मित्रता त प्रेम नै प्रेमले भरिपूर्ण छ। हामी एकअर्काको लागि साथी मात्र नभएर एकअर्काका कुरा सुनिदिने दाजुबहिनी, दिदीभाइ, नआएको पाठ पढाउने शिक्षक, खल्ती खाली भएको बेलाको सहकारीसम्मको भूमिकामा अटाएका छौं। शैक्षिक  र  व्यक्तिगत निर्णय लिन नसक्दा  एकअर्काको सल्लाहकार बन्ने हामी एकअर्काको  दैलोबाट कयौंपटक  हलुको मन लिएर फर्किएका छौं।

कहिलेकाहीँ ‘ओइ, कस्तो चिया खान मन छ, पका न’ भन्दै ऊ मेरो घरमा टुप्लुक्क आइपुग्छ। म आफू चिया मन नपराउने मान्छे, ऊ आएको बेला अपवाद बनिदिन्छु। कहिलेकाहिँ कतै गएर फर्किँदा हालखबर सोध्न बाटोमै पर्ने  उसको घर छिर्छु। ऊ एउटा  हातमा पानिको गिलास र अर्को हातमा स्याउ लिएर आउँछ र भन्छ,‘ल, चिया नखाने मान्छे।’

के यो प्रेम हैन र? हाम्रो मित्रतामा प्रेम नै प्रेम छ। बस्, समाजले खोजे जस्तो वासना मात्र छैन।

हामीबीच प्रेम नभइदिएको भए हाम्रो मित्रता कतै बिलाइसकेको हुन्थ्यो।

स्कुल सकिएपछि हामी बाटोमा भेट्दा हासौँ कि नहासौँ जस्तो गरेर फिस्स हाँसेर आआफ्नो बाटो लाग्थ्यौं होला।

हामी झगडा पनि उत्तिकै गर्छौँ।

मेरा अरू साथीहरू नभएका भने होइनन् तर उनीहरूसँग मित्रता भने वसन्तपुर दरबार जस्तो भएर बसेका छन्। न ती पूर्ण रुपमा ढले न त मैले तिनको पुनर्निर्माण नै गर्न सकेँ। तर हाम्रो मित्रतामा हरेक सानाठूला मनमुटावलाई सुल्झाउन ऊ सधैँ उत्सुक देखियो र मलाई पनि झकझकाइ रह्यो।

मेरो व्बाइफ्रेण्डको उपनाम पाएको साथीको सन्दर्भमा धेरैजनाको मुखबाट मैले सुनेको वाक्य हो,

‘हम-तुम’ हेरेको छैन कि क्या हो?’

एउटी साथीले भनेको सम्झिन्छु,‘कहीँ नपाएर केटा र केटी पनि साथी मात्र हुन्छन्? फिलिङ्ग्स आइहाल्छ नि।’

अर्की एउटीले भनेकी थिई,‘मेरो पनि एउटा त्यस्तै मिल्ने केटा साथी थियो, पछि मेरो ब्वाइफ़्रेन्डलाई हामी नजिक भएको मनै परेन अनि मैले आफैँ ऊसँग बोल्न छाडिदिएँ। विचार गर है, पछि त अप्ठेरो पो हुन्छ त केटी।’

उनीहरूका कुरा सुनेपिच्छे मलाई लाग्छ, मेरा यी शिक्षित  साथीहरु भन्दा त पूरै जीवनमा केटा साथीको नाममा केवल  आफ्नो  श्रीमान् पाएकी मेरी हजुरआमा नै बुझक्की हुनुहुन्छ, जो प्राय भनिरहनुहुन्छ,‘नानी, तँ फेरि झगडा गरिस् कि क्या हो तेरो साथीसँग, आउनै छाड्यो त…’

मेरो र उसको सम्बन्ध मेरो परिवार बाहेकको सबभन्दा नजिकको र बलियो सम्बन्ध हो। र मलाई गर्व छ कि अरु जजसले जेसुकै भने पनि हामी दुईको परिवारले हाम्रो मित्रतालाई केटा अथवा केटीको परिचयबाट अलग राखेर हेर्यो र सधैँ कदर गरिराख्यो।

एउटा घटना म अझै सम्झिरहन्छु। कृष्णजन्माष्टमीको साँझ थियो। म परिवारसँग मन्दिर गएकी थिएँ। धूमधाम भजन चलिरहेको थियो। एक्कासी मेरो मोबाइल बज्यो, फोन रिसिभ गर्न म होहल्लाबाट शान्त ठाउँमा जान्छु त मेरो उही केटा  साथी पनि त्यतै रहेछ। हामी होहल्ला कम भएको ठाउँमा गएर बस्यौँ र आउँदै गरेको जाँचको बारेमा कुरा गर्न थाल्यौँ। त्यतिनै बेला मेरो दाहिने आँखामा कसैले टाढाबाट टर्च सोझ्यायो। हत्केलाले आँखा छोप्दै मैले सोधेँ,‘को हो त्यो?’

उताबाट केही जवाफ आएन।

लाइट मेरो आँखाबाट हटेपछि मैले देखेँ, बर्दी लगाएको एउटा प्रहरी दौडँदै हामी भएतिर आउँदै छ। नजिकै आएपछि उसले  भन्यो,‘के हो, किन यहाँ बसेको हँ?’

‘किन? यहाँ बस्न नहुने हो र?’ मैले पनि ठाडो, उसकै जस्तो आवाजमा सोधेँ।

‘यहाँ बस्ने हैन, उता उज्यालो ठाउँमा गएर बस्ने।’ उसले उर्दी दियो।

मेरो साथी केही सम्झाउन खोज्दै थियो, मैले रिसले आँखै देखिनँ।‘चुप लागेर हिँड्… जसले जे बुझ्छ बुझ्न दे।’

भोलिपल्ट पनि मलाई त्यो घटनाले कस्तोकस्तो लागिरह्यो, मेरो साथीको ठाउमा मेरो दाइ वा भाइ भैदिएको भए कस्तो हुन्थ्यो होला?

पछि सोचें, मान्छेको दिमागले जति भ्याउँछ उति न सोच्ने हो, अनि सोच अनुसारको व्यवहार।

हाम्रो समाजमा केटा र केटी कक्षामा सँगैको सिटमा बस्ने कुरालाई पचाउन नसक्ने शिक्षकले नै महिला र पुरुषको मित्रताको वकालत गर्छन्  र प्रगतिशील विचार समावेश गरिएको ‘आईमाई साथी’ निबन्ध पढाउँछन् र हामी शिक्षकको परस्पर विरोधी व्यवहार र खोक्रो आदर्श अनुसरण गरिरहन्छौं।

जतिसुकै आधुनिक भएको ढोंग किन नगरौं, हाम्रो समाज अझै पनि वयस्क केटा र केटीको मित्रता पचाउन सक्ने भैसकेको छैन। छरछिमेकमा केटा र केटीसँगै देखिए भने हामीलाई तिनको तिन पुस्तेको जानकारी चाहिन्छ। हामी अझै पनि मित्रतालाई मानिसको यौनिकता भन्दा पर राखेर हेर्न सक्दैनौं। साथीसँग घुम्न जान लागेको बेला अथवा हरेक पटक फोन राख्ने बित्तिकै हामी केटा र केटी दुवैलाई प्रश्न गर्छौं, ‘केटा साथी कि केटी?’

ऊ बाहेक मेरो अरु केही केटासाथीहरुसँग पनि निकै सौहार्दपूर्ण मित्रता रह्यो। सपना सुनिदिने मात्र हैन सपना साकार गर्न घच्घच्याउने केटा साथीहरु पनि भेटिए। तीमध्ये सबैभन्दा सहज र सुमधुर सम्बन्धले यस वर्षबाट बीसौँ वर्षमा टेकेको छ।

एकअर्काप्रति कहिल्यै शारीरिक रूपमा आकर्षित नभएका हामीहरूले जीवनका दुई दशक सँगै पार गर्यौं। एकअर्कालाई सधैँ साथ दियौं। यो कुरा कहिल्यै पचाउन नसक्ने पुरातन सोचबाट ग्रसित हाम्रो समाज हामीबाट झूटा साबितको अपेक्षा गरी नै रहनेछ। वास्तवमा भन्ने हो भने यो कुराको वास्ता गर्न त अब मैले पनि छोडिसकें।

त्यसैले मेरी आमाकै शब्द र अर्थ सापट लिएर मलाई अरुले हाम्रो मित्रताको बारेमा के भन्छन् भन्ने कुराको बेवास्ता गर्न सिकाउनेदेखि जिन्दगीमा एउटा असल साथीले कति प्रभाव पार्नसक्छ भनेर सिकाउने मेरो प्रिय केटा साथीलाई दुनियाँले सुन्ने गरी भन्छु, ‘ह्यापी एनिभर्सरी, डियर ब्वाइफ्रेन्ड!’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution