प्रहरी इन्काउन्टरमा मारिएका तामाङ द्वयको पोष्टमार्टमा, गोपाल ११ र अजयलाई ४ ओटा गोली प्रहार

काठमाडौं – काँडाघारीबाट अपहरण गरिएका बालक निशान खड्काको हत्या गरेपछि प्रहरीसँग मुठभेड हुँदा इन्काउन्टरमा मारिएका भनिएका दुई अपहरणकारीको त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् । ११ वटा गोली लागेको गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।
अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा रिपोर्टमा उल्लेख छ ।
शुक्रवार साँझ अबेर परिवारसँगको सहमतिपछि पोष्टमार्टम गरिएको नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारको जिम्मा लगाईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए ।
महानगरीय अपराध महाशाखाले अपहरणकारीसँगको मुठभेडका क्रममा १९ राउण्ड गोली चलेको बताउँदै आएको छ ।
शुक्रवार करिब १२ बजे पोष्टमार्टमपछि शव जिम्मा लिएका अजय तामाङका आफन्तले दाहसंस्कारका लागी नुवाकोट लगेको बताईएको छ ।
सिन्धुपाल्चोकका गोपाल तामाङका परिवारले पनि शव बुझिसकेको र शनिबार काठमाडौंमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।