हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बिमान बिद्रोह पुस्तक अंशः गिरिजाले सांघातिक हमला गराए

दुर्गा सुवेदी

जेलबाहिर निस्केपछि काङ्ग्रेस पार्टीले मेरो खाने-बस्ने व्यवस्था नगरेकाले फारबिसगन्ज, पटना र दिल्लीमा भएका जान-पहिचानका व्यक्तिबाटै गुजारा गर्नुपर्ने भयो । फारबिसगन्ज-पटना रेलमा हिँड्न मलाई समस्या थिएन । बिहारका विधायक सर्जुबाबुले आफ्नो सहयोगीले पाउने रेलवे पास मलाई दिनुभएको थियो । यसले गर्दा रेलमा मैले टिकट लिन, पैसा तिर्न पर्थेन ।

यसरी नै पटना पुगेका बेला एकपटक अचानक भाइ युवराज घिमिरेसँग भेट भयो । उनी आईएस्सी सकेर मेडिकल पढ्ने अवसरको खोजीमा पटना आएका रहेछन् । सांसद रामविलास पासवानका भाइ विधायक पारश पासवानको सरकारी निवासमा उनीसँग भेट भयो । हामी सँगसँगै घुमफिर गर्न थाल्यौँ । एक दिन म र युवराज मेरो पूर्वपरिपचित पत्रकार एवं समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) का पट्ना ब्युरो चिफ टीएन झाको अफिस पुग्यौँ । मैले युवराजलाई झाजीसँग पटना कलेजका विद्यार्थीका रुपमा परिचय गराएँ । उहाँले मजाक गर्दै भन्नुभयो, ‘अरे महाराज ! युवराज हो के आप भी राजा के विरोधी हैं ?’

युवराज लजालु स्वभावका विनम्र मानिस भएकाले केही बोलेनन् । चिया-नास्ता गरेपछि झाजीले आफ्नो अफिसमा बेलुका दुई बजेपछि समय बिताउन आए हुन्छ भन्दै बिदा गर्नुभयो ।

त्यसपछि हामी पनि साँझपख दैनिकजसो त्यहाँ जान थाल्यौँ । पत्रकार झाजी अत्यन्तै मिजासिलो, हँसिलो र निश्छल व्यक्ति भएकाले एक दिन मैले कुरै कुरामा भनेँ, ‘युवराजजी मेधावी र समझदार विद्यार्थी छन् । स्मरणशक्ति पनि राम्रो छ । स्वाधीन विचारका छन् । डाक्टर बन्न चाहन्थे, तपाईं पत्रकार बनाइदिनूस् ।’

झाजीले युवराजतर्फ हेर्दै ‘टाइप गर्न सिक्ने हो ?’ भनेर सोध्नुभयो ।

उनले मलिन स्वरमा ‘हुन्छ’ भने । अनि, उहाँले पूणिर्या जिल्लामा भएको एउटा सानो घटनाको खबर टाइप गर्न लगाउनुभयो । युवराजजीले पत्रकार जीवनमा प्रवेश गर्दाको पहिलो दिनको पहिलो खबर थियो त्यो । टाइप गरेको कागज हेरेपछि झाजीले युवराजलाई धाप मार्दै भन्नुभयो, ‘आप तो काम के आदमी हैं, दैनिक आइए ।’ (तपाईं त काम लाग्ने मानिस हुनुहुँदो रहेछ, दिनहुँ आउने गर्नूस्) । त्यसपछि युवराज नित्य यूएनआईको अफिस जान थाले । म दिल्लीतर्फ लागेँ ।

पछि युवराजले भारतमै पत्रकारितामा नाम कमाए । ‘इन्डिया टुडे’, ‘आउटलुक’जस्ता म्यागजिनमा काम गरे । ‘बीबीसी’मा काम गरे । नेपाल फर्किएर ‘कान्तिपुर’ दैनिकको सम्पादक बनेपछि नेपालमा पनि उनी प्रतिष्ठित पत्रकार बने ।

फारबिसगन्जबाट पत्रिका प्रकाशन

जीवनको कुनै निश्चित मुकाम थिएन । कुनै निश्चित काम, जागिर वा अफिस थिएन । न त नियमित आम्दानीको कुनै बाटो थियो । घर-परिवारसँग सम्पर्क, सम्बन्ध टुटिसकेको थियो । विवाह भएको थिएन । न कसैसँग प्रेम-सम्बन्ध थियो । जुन पार्टीका लागि प्राण दाउमा राखेर काम गरिएको थियो, त्यसबाटै अलग र उपेक्षित भइसकिएको थियो । जेल बसेर तारेखमा निस्किएकाले पहिलेजस्तो पुलिसले समाउँछ कि भन्ने डरचाहिँ थिएन । मेरो जीवन यसरी नै दिल्ली, बनारस, पटना र फारबिसगन्जतिर हल्लिँदैमा बित्छ कि जस्तो लाग्न थालेको थियो ।

फारबिसगन्ज, अररिया अदालतमा तारेखमा उपस्थित हुनका लागि म पटना हुँदै त्यता गएँ । पटनामा युवराज घिमिरेको कुनै निश्चित वासस्थान थिएन । विधायक पारश पासवानको निवासमा शरणार्थीका रुपमा बसोवास थियो । मरेलबाट फारबिसगन्ज जाने क्रममा युवराजलाई भेट्न पटनाको फेजर रोडस्थित समाचार संस्था युनाइटेड न्युज अफ इन्डिया (यूएनआई)को अफिस पुगेँ । युवराज विगत तीन महिनादेखि बिनापारिश्रमिक कार्यालयमा आएर नियमित काम गरिरहेका थिए । म पुगेको दिन साँझ ब्युरो प्रमुख टीएन झाले हामी दुवैलाई खाजा मगाउँदै भन्नुभयो, ‘युवराजजीलाई मैले बिना मजदुरी काम लगाइरहेको छु । उहाँमा पत्रकार बन्ने प्रतिभा छ । राम्रो प्रगति गर्दै हुनुहुन्छ । अबचाहिँ तलबी पत्रकार बनाउने व्यवस्था मिलाउँदै छु ।’

त्यस दिन राति म युवराजसँगै बसेँ । रातभरि भूमिगत बस्दा भेटेका मानिस र भोगेका घटनाबारे चर्चा भयो । बनारसमा म बाबा अवधूतरामको आश्रममा पनि लुकेर बसेको र उनीसँग भएको सङ्गतबारे कुरा गर्दा युवराजले पनि बाबालाई भेटेको कुरा सुनाए ।

बाबा सिद्धपुरुष हुन् भन्ने उनको धारणा थियो । त्यसैले उनी त्यहाँ आउनेजाने गर्दा रहेछन् । एक दिन कुरा चल्दा बाबाले युवराजलाई भनेका रहेछन्, ‘यो आश्रममा एक जना नेपाली केटा थियो । उसलाई मैले चरण सिंह नाम दिएको थिएँ । तर, यहाँबाट हिँडेपछि भने खै किन हो, मलाई खुब गाली गरेछ ।’

मैले युवराजजीलाई म नै चरण सिंह भएको बताएँ ।

युवराजले अवधूतराम बाबालाई सिद्धपुरुष मानेर उनको फोटो पनि राखेका रहेछन् । बाबा अवधूतरामका प्रशंसक पत्रकार युवराजसँग केही दिन बिताएर म पटनाबाट आफ्नो मुद्दाको तारेख खेप्न अररिया अदालततर्फ लागेँ ।

फारबिसगन्जबाट सुशील कोइरालासहितका साथीहरु तारेखका दिन मुद्दाको बहस पैरवी गर्ने विनय सिंह वकिलका साथ अदालत कम्पाउन्डमा उपस्थित भए । हामीलाई उसैगरी फेरि कम्मरमा डोरी बाँधियो । यसपल्ट अदालतका कर्मचारीलाई पैसा दिएर सुशीलले अलि लामो तारेख दिने व्यवस्था मिलाएका रहेछन् । तीन महिनापछिको तारेख पाएपछि म विर्जुबाबुको बङ्गला जगदीश मिल गएर बसेँ।

त्यसबेला फारबिसगन्जमा बसेका काङ्ग्रेसीजनहरु जोगवनी रेल्वे स्टेसन र त्यहाँका चिया पसलहरुमा दैनिकजसो गएर देशभित्रका आफ्ना मित्रजनहरुसँग भेटेर समय बिताउने र सहयोग पनि प्राप्त गर्ने गर्थे । जोगवनी आउन र जानका लागि रेलका गार्डहरुलाई भेटेर नेपाली काङ्ग्रेसका निर्वासित कार्यकर्ताका रुपमा परिचय दिएपछि टिकट पनि लिनु पर्दैनथ्यो । यसरी बिनाकाम फारबिसगन्ज र जोगवनी घुमेर दिन बिताउनुभन्दा भारतीय समाचार पत्रहरुमा लेख लेख्न प्रारम्भ गरेँ ।

‘टाइम्स अफ इन्डिया’को हिन्दी प्रकाशन ‘दिनमान’ साप्ताहिकमा मैले पहिले पनि नेपालबारे लेखिसकेको थिएँ । सम्पादक रघुवीर सहायले मलाई नेपालको राजनीतिबारे लेख्न प्रेरित गरिरहनुहुन्थ्यो । एउटा लेखको दुई सय भारु पाउने हुँदा मेरो कमाइको स्रोत पनि भयो । कलकत्ताबाट प्रकाशित हुने हिन्दी साप्ताहिक ‘रविबार’ पनि नेपालमा चर्चित थियो । त्यसमा पनि मेरा लेख प्रकाशित हुन्थे ।

बीपी नेपाल फर्किएपछि बनारसबाट प्रकाशित हुने ‘तरुण पत्र’ बन्दजस्तै भयो । त्यसैले देशभित्र घटेका दमनकारी घटनाका बारेमा सुसूचित गर्नका लागि मैले फारबिसगन्जबाट ‘नयाँ नेपाल पुकार’ पाक्षिक बुलेटिन प्रकाशित गर्न थालेँ । २४ साउन २०३५ मा प्रकाशित भएको त्यस बुलेटिनमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको पार्थिव शरीरलाई नेपाल लैजान नदिइएको र अमेरिकामा स्वास्थ्य उपचार गरेर बीपी कोइराला दिल्ली फर्किएको लगायत समाचार छापिएका थिए ।

गिरिजाप्रसादले गराए हमला

यो बुलेटिन २०३७ सालसम्म निरन्तर प्रकाशित भयो । मैले प्रवासमा बसेर समाचारपत्र प्रकाशित गर्न थालेको कुरा गिरिजाप्रसाद कोइरालालाई मन परेको थिएन । म पार्टीबाट अलग भइसकेको थिएँ । उनले पार्टीले गरेका कार्यक्रम र बन्दोबस्तमा मलाई सामेल गराउन छोडिसकेका थिए । तर, यही बुलेटिनकै कारण उनले ममाथि साङ्घातिक हमला नै गराउँछन् भन्ने मैले सोचेको थिइनँ ।

२०३६ फागुन महिनाको पहिलो हप्ताको अङ्कमा मैले बीपी र राजाको राजनीतिक विचारका सम्बन्धमा एउटा कार्टुन छापेको थिएँ । त्यस कार्टुनलाई निहुँ बनाएर ममाथि भौतिक कारबाही गर्न गिरिजाबाबुले साथीहरुलाई निर्देशन दिएको कुरा विनोद अर्यालका भाइ मुन्नुले मलाई सूचित गरेका थिए ।

उनले सूचित गरेको एक-दुई दिनमै ममाथि आक्रमण भयो । १० फागुन २०३६ को बिहान १० बजेतिर म जोगवनी रेल्वे स्टेसनको पत्रिका पसलमा उभिइरहेको थिएँ । वसन्त भट्टराई र उमेश गिरीले अचानक ममाथि साङ्घातिक हमला गरे । उमेश गिरीले रड निकालेर हाने । त्यति धेरै मानिसको भीडमा हमला भएपछि होहल्ला भयो, रेल्वेका पुुलिस आए । उनीहरुले घेरा हालेर हमलाकारीलाई स्टेसनबाट बाहिर निकाले । अनि, म जोगिएँ । त्यहाँको पुलिसले रिपोर्ट लेखाउन स्टेसन जाऊ भन्दै थियो । तर, म गइनँ । मैले ‘यो राजनीतिक विवाद हो, रिपोर्ट लेखाउनुको अर्थ छैन’ भनेँ । रेल्वे पुसिलले एक जना हवल्दार खटाएर मलाई डेरासम्म पुर्‍याइदियो ।

वसन्त र उमेश मेरा विराटनगरदेखिका साथी । वसन्त, म र नगेन्द्र मिलेर जहाज अपहरण गरेका थियौँ । वसन्त सुरुदेखि नै गिरिजाप्रसादका प्रिय थिए । तैपनि, क्रान्तिमा सँगै हतियार उठाएका उनले मलाई नै आक्रमण गर्लान् भन्ने लागेको थिएन । गिरिजाबाबुले मेराविरुद्ध उनलाई निकै भड्काएका थिए । पहिला पनि ओखलढुङ्गा काण्डका बेला मैले पठाएको चिठी देखाएर वसन्तले उमेशहरुलाई भड्काएका थिए । गिरिजाबाबु त मलाई त्यसैबेला कारबाही गर्न चाहन्थे, बीपीले बचाएर म जोगिएको थिएँ ।

यो हमलापछि भारत सरकारले मेरो सुरक्षाका लागि एक जना हबल्दार बडीगार्डका रुपमा खटायो । हरदम पुलिस साथै हुने भएपछि मैले नेपाल आउने-जाने गर्न नपाउने भएँ । किनभने, मेरो जमानतमा भारत छोडेर बाहिर जान नपाउने भनिएको थियो । म दिल्ली, पटना जहाँ गए पनि बडीगार्ड सँगसँगै हिँड्थ्यो । यो त मेरो बडीगार्ड होइन, जासुसजस्तो हुन पुग्यो । मैले कसैलाई भेट्नुअघि दुईपटक सोच्नुपर्ने भयो ।

नेपालमा २०३६ सालमै भएको विद्यार्थी आन्दोलनको बलमा जनमतसङ्ग्रह हुने भएपछि गिरिजाप्रसाद कोइरालाहरुले १ वैशाख २०३७ मा आममाफी पाए । जनमतसङ्ग्रहको दुई हप्तापहिले उनीहरु पटनाबाट काठमाडौँतर्फ लागेपछि बल्ल मलाई पुलिस निगरानीबाट मुक्त गरियो । दुई महिनाजति त्यो पुलिसलाई झेलेपछि म स्वतन्त्र भएँ ।

जुन कार्टुनलाई निहुँ बनाएर ममाथि साङ्घातिक आक्रमण भयो त्यो कार्टुनलाई मैले त्यसपछि पत्रिकाका हरेक अंकमा छापें । २०३७ सालको अन्त्यसम्म प्रत्येक अङ्कमा त्यो कार्टुन छापियो ।अनलाइन खबरबाट

(नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको हालै प्रकाशित आत्मकथा ‘विमान विद्रोह’ बाट सम्पादनसहित साभार)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution