छोराको इन्काउन्टर हुँदा बारीमा कोदो गोड्दै थिइन् गोपाल तामाङको आमा, फेसबुकमा फोटो देख्दा पत्याइनन्

साउन २३, २०७५
काठमाडौं– छिन्दोङ तामाङ सोमबार दिनभर बारीमा कोदो गोडमेलमा व्यस्त थिइन् ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भएकी छिन्दोङ सोमबार बेलुकी सम्म बारीमा कोदो गोड्दै थिइन्, कान्छी छोरीको मोबाइलमा फोन आयो ।
फोन आएपछि छोरी ट्वाल्ल परिन् ।
आमा छिन्दोङ छोरीलाई के भएको हो भन्दै चिन्तामा परिन् । जब कान्छी छोरीले फोनमा आएको घटनाबारे जानकारी गराइन् त्यसपछि छिन्दोङ बारीको डिलमा रहेको रुखमा अडेस लागिन् । छोरीलाई फोन गर्नेले घ्याम्पे डाडाँमा प्रहरीसँगको दोहोरो भीडन्तमा गोपाल र अजय तामाङ मरेको खबर सुनाएका थिए । आमा छिन्दोङले छोरो मरेको कुरा पत्याउन सकिनन् । इन्काउन्टरमा परेका भनिएका गोपाल छिन्दोङका छोरा थिए ।
सकुन् पनि कसरी ? आफूले हुर्काएको छोराको चाल चलन र व्यवहार त्यस्तो आपराधिक खालको थिएन । उनी छोराले कसैको अपहरण गर्यो र पुलिसलाई गोली हान्यो भन्ने कुरा पत्याउन सकिरेहकी थिइनन् । तर, जब छोरीले सामाजिक सञ्जाल फेसबुक खोलिन् तब छोराको मृत्यु भएको समाचार सत्य बन्यो ।
०००
दिनभरी कोदो गोडेकी छिन्दोङ थकित थिइन् । सोमबार साँझा(इन्काउन्टर भएको साँझ) करिब सात बजेतिर छोरीले फेसबुक खोल्दा छोरा गोपालको लाश उनले देखिन्, तर पत्याउन सकिनन् । आफ्नो काखमा १६ वर्ष बसेको छोराको लाश देखेपछि पनि उनलाई पत्यार लागेको थिएन ।
सोमबारको रात काट्न उनलाई मुस्किल पर्यो । छोराको इन्काउन्टर भएको भोलिपल्ट विहान केही साथीसहित उनी काठमाडौं निस्किइन् ।
अविरलको वर्षले गाउँसम्म गाडी नगएपछि उनीहरु चार घन्टा हिडेर बाह्रविसे बजार आए । त्यसपछि गाडी त चढे तर बलेफि बजार आइपुग्दा जाममा परे । उनीहरु चढेको गाडीको चालकले छिन्दोङसहितलाई अर्को गाडीमा काठमाडौं पठाए । दिउँसोको करिब तीनबजेमात्र उनीहरु काठमाडौं आइपुगे ।
छोराको लाशको फोटो सामाजिक सञ्जालमा देखेकी आमालाई पत्यार लागि रहेको थिएन की, मारिने आफ्नै छोरा हो भन्ने ।
जब उनले लाश हेर्न खोजिन् उनलाई दिइएन । तर उनले गोपालको आमा भएको र लाश हेर्ने अडान लिइन् ।
०००
राष्ट्रिय मानव अधिकार आयोगमा छानविनको माग गर्दै उजुरी दर्ता गर्न आएकी छिन्दोङले भनिन्, ‘लाश हेर्दा घुँडा मुनि गोली रहिन्छ, पेटमा र टाउकाेमा गोली लागेको देखे ।’
त्यसपछि छिन्दोङ छोरा बसेको ठाउँ भक्तपुरको नगदेश पुगिन् । उनले त्यहाँ भएका छिमेकीलगातसँग कुरा गरिन् । छोरालाई प्रहरीले कोठाबाट लगेको उनलाई त्यहाँका स्थानीले बताए । त्यसपछि उनी न्याय माग्न राष्ट्रिय मानवअधिकार आयोग पुगिन् ।
‘त्यहाँका मानिसले देखेको भने त्यसपछि मैले मनमा ठाने मेरो छोराले गल्ती गरेको भए पनि चौकीमा राख्नु पर्थ्यो । मेरो छोरालाई पुलिसले लगेर मार्न त हुन्थेन भन्ने लाग्यो र न्याय माग्न आए’ भावुक बन्दै उनले भनिन् ।
०००
‘मेरो छोरा १६ वर्ष मेरोका काखमा थियो । आठ पास गरेपछि तीनवटा भाइ जन्मियो ।
१७ वर्ष लागेपछि पासपोर्ट बनाएर इराक गयो । त्यसपछि फेरि केही समय बसेपछि दुबइ गयो ।
काठमाडौंमा बस्छु केही काम गर्छु भनेर आएको हो । उ रंग पेन्टिङ गर्छु भनेर आएको थियो’ छिन्दोङले भनिन् ।
काठमाडौं पेप्सीटाउन प्लानिङमा बस्ने चमेली खड्काका छोरा ११ वर्षीय निशान खड्काको सोमबार अपहरणपछि हत्या भएको थियो । हत्यामा संलग्न भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकका गोपाल र नुवाकोट अजय तामाङको भक्तपुरमा इन्काउन्टर गरेको थियो ।
तर, इन्काउन्टर शंकास्पद भएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । यसैबीच बुधबार अपहरणमा संलग्न भइ इन्काउन्टरमा परेका मृतक गोपाल तामाङकी आमा छिन्दोङ तामाङ, बुबा सुकराम तामाङ, अजय तामाङका बुवा निमा तामाङ मानव अधिकार आयोगको परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए ।
मानव अधिकार आयोगमा उनीहरुले आफ्ना छोराहरुको यथार्थ जनाकारी पाउँ भन्दै छानवीको माग गरेका थिए । लोकान्तर बाट