राजीनामा दिएका कानुनमन्त्री तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक

बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गरिरहेका छात्राका बारेमा विवादास्पद अभिव्यक्तिपछि कानुनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्वमन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
आफूले छोटो समयमात्रै मन्त्रालय सम्हालेको भन्दै पूर्वमन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण मन्त्री नियुक्त हुँदाको बखतको भन्दा खासै फरक नभएको बताए। ‘म जम्मा १३० दिन मन्त्री बनेँ, मन्त्री पद सम्हादाको भन्दा अहिले सम्पत्ति विवरणमा खासै फरक छैन्’, उनले भने।
उनले आफूले मन्त्रीपदबाट पाएको तलबले ऋण तिरेको र अन्य खर्च भएको बताए।
उनले आफ्नो नाममा बैंकमा ४३ हजार ९ सय ६७ रुपयाँ १२ पैसा रहेको र श्रीमती उषाकला राईको नाममा एउटा बैंकमा १ लाख ६६ हजार र अर्को बैंकमा १ लाख २२ हजार रहेको जानकारी दिए।
मन्त्री तामाङले आफ्नो नाममा काठमाडौँको पुरानो बानेश्वरमा छ आना दुई पैसा एक दामको जग्गा रहेको बताएका छन्। त्यस्तै जन्मस्थान सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ मा भूकम्पले भत्किएको घर, ९६५, ३५६१ र ४७८० वर्गमिटर पाखोबारी सम्पत्ति रहेको बताएका थिए।
उनले आफ्नो नममा मोटर साइकल १, गाडी १, ल्यापटक २ र मोबाइल २ थान रहेको समते उल्लेख गरेका छन्।
मन्त्री तामाङले आफ्नी श्रीमती उषाकला राई ९प्रदेशसभा १ सांसद०को नाममा मोराङको दुलारीमा साढे दुईविघा, बेलबारीमा एक विघा, खोटाङमा १०५ रोपनी जग्गा, काठमाडौँको गोकर्णशवर नगरपालिका वडा नम्बर ८ मा तीन आना, तीन पैसा, दुई दाममा बनेको घर रहेको बताएका छन्।
उनले आफूहरुसँग ३० तोला सुन रहेको र कृर्षि विकास बैंकमा ४० लाख ऋण, व्यक्तिगत सरसापटको ३० लाख ऋण रहेको बताएका छन्। नेपालखबर बाट