जलविद्युत् कम्पनीको शेयर आउदै , कमजोर कम्पनीका सेयरबाट प्रतिफल मुस्किल

काठमाडौं । सेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीले साधारण सेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ ।
इक्रा नेपालको रेटिङमा पाँचौँ नम्बर पाएको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । कम्पनीले धादिङमा सञ्चालित ८ दशमलव ४ मेगावाटको आँखुखोला जलविद्युत् आयोजनाको स्थानीयवासीका लागि छुुट्याइएको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीको आर्थिक अवस्था असाध्यै कमजोर रहेको त देखिन्छ नै सेयर लगानीकर्ताले आगामी नौ वर्षपछि मात्रै प्रतिफल पाउन सक्ने अवस्था छ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको ८ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।प्रतिकित्ता एक सय मूल्य अंकित ८ करोड बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयर छिटोमा यही साउन ३१ तथा ढिलोमा भदौ १५ गतेसम्म खरिदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको सेयर खरिद गर्न न्यूनतम ५० देखि अधिकतम चार हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । सोमबारदेखि साधारण सेयर बिक्री सुरु गरेको युनियन हाइड्रोपावर कम्पनीको पनि इक्रा नेपालले गरेको रेटिङमा पाँचौँ ग्रेड पाएको छ । यो भनेको वित्तीय रूपमा असाध्यै कमजोर छ भन्ने संकेत हो ।
कम्पनीले आयोजना प्रभावित लमजुङका वासिन्दालाई साधारण सेयर बिक्री गर्न लागेको हो। लमजुुङमा सञ्चालित तीन मेगावाट क्षमताको मिदिम खोला जलविद्युत् आयोजनाले स्थानीयवासीका लागि छुट्याइएको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो। पहिलोचरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर बिक्री सुरु गरेको हो ।
प्रतिकित्ता १ सय अंकित मूल्यमा ७ करोड ५० लाख बराबरको सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर खरिद गर्नेले छिटोमा साउन २८ तथा ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । वित्तीय रूपमा कमजोर रहेको सो कम्पनीको सेयरमा लगानी गर्नेले प्रतिफलका लागि आठ वर्ष प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।
इक्रा नेपालको रेटिङमा हिमालयन ऊर्जा विकास कम्पनीले पनि चौथो ग्रेड पाएको छ । यस्तै, केही समय पहिले साधारण सेयर बिक्री गरेर बाँडफाँडसमेत गरिसकेको पञ्चकन्या माइहाइड्रो पावरको समेत ग्रेडिङ असाध्यै कमजोर रहेको थियो । सो कम्पनीको सेयरमा १० गुणा बढी आवेदन पर्यो । यी तथ्यले के देखाउँछ भने पछिल्ला दिनमा वित्तीय अवस्था कमजोर रहेका र रेटिङमा समेत असाध्यै पछाडि रहेका जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण सेयर बिक्री गरिरहेको पाइएको छ ।
नेपाल धितोपत्र बोर्डले सबै विवरण बुझाएपछि साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साना लगानीकर्ता भने यस्ता कम्पनीको सेयर खरिद गरेर के कति नाफा कमाउलान् भन्नेतर्फ कोही कसैले सोचेको देखिँदैन । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार नियम पुर्याएर आएका कम्पनीलाई अनुमतिपत्र दिइएको छ। ‘लगानी गर्दा जोखिम छ कि छैन भन्ने हेर्ने जिम्मा लगानीकर्ता कै हो ।
त्यही भएर बोर्डले सार्वजनिक आह्वानपत्र प्रकाशित गर्दा नै सबै विवरण उल्लेख गर्न भनेका छौँ’ प्रवक्ता गिरीले भने । लगानीकर्ताले सेयर खरिद गर्ने कम्पनीको विवरणका आधारमा नै आफै निर्णय गर्दा नै उपयुक्त हुन्छ । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपिओ) समेत बिक्री हुनसकेको छैन ।
नेपाल बैंक लिमिटेडको आइतबार मात्रै एफपिओ बिक्रीको अवधि सकियो। २ अर्ब ७० करोडभन्दा बढीको खरिद भएन । बैंकले करिब ४ अर्ब ९५ करोडको एफपिओ बिक्री गर्न लागेको थियो। एफपिओ नै बिक्री नभएर सेयर प्रत्याभूतकर्ता कम्पनीले उठाउनु परिरहेको छ । धमाधम आर्थिक अवस्था कमजोर भएका कम्पनीले साधारण सेयर बिक्री गरिरहेका छन् ।
बोर्डकाअनुसार मैलुङखोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय बराबरको सात लाख ३६ हजार २ सय ८६ कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ । कालिका पावर कम्पनीले पनि १२ करोड बराबरको १२ लाख कित्ता तथा शिवश्री हाइड्रोपावर लिमिटेडले १४ लाख ७६ हजार ४ सय कित्ता सेयर बिक्री गर्ने तयारीमा छन् ।
गज्र्याङ उपत्यका हाइड्रो पावरले २ लाख कित्ता र लाफिङ बुद्धले ९ लाख ७८ हजार बराबरको सेयर बिक्रीका लागि तयारी गरेको छ । अधिकांश कम्पनीको आर्थिक अवस्था कमजोर देखिएको छ । सेयर विश्लेषक नीरज पुडासैनीको विचारमा तत्काल फाइदा लिई हालौँ भन्ने मान्यताका साथ लगानीकर्ताले सेयरमा लगानी गर्ने गरेको पाइएको छ ।
नाफा प्राप्त गर्ने अवधि लामो भएका कम्पनीको सेयर खरिद गर्ने वा नगर्ने भन्ने विषय लगानीकर्ताको विवेकको विषय रहेको उनको भनाइ छ । साना लगानीकर्तालाई भने त्यस्ता कम्पनीको सेयर खरिद गर्दा समस्या पर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
-रमेश लम्साल