आर्मी अफिसर्स क्लब’ सर्वसाधारणका लागि बन्द हुने

काठमाडौं – नेपाली सेनाले सञ्चालन गरेको ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गरिने भएको छ । सेनाले यही भदौ १ गतेदेखि लागू हुने गरी ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गर्ने तयारी गरेको हो ।
राष्ट्रिय सुरक्षामा भन्दा पनि व्यापारिक क्षेत्रमा हात हाल्न थालेको भन्दै आलोचित बन्दै आएको सेनाले भाडामा लगाएर पैसा असुल्दै आएको ‘क्लब’ बन्द गर्न लागेको हो ।
प्रधान सेनापतिबाट बिदा लिँदै गर्दा राजेन्द्र क्षेत्रीले ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गर्ने तयारी गर्नुभएको हो ।
नेपाली सेनाका निमित्त प्रवक्ता विजय थापाले यो विषयमा निर्णय भइनसकेको भए पनि बन्द गर्ने तयारी भने भएको खुलाउनुभयो ।
भद्राकालीमा रहेको सैनिक मुख्यालयको परिसरमै रहेको आर्मी अफिसर्स क्लब १८ वर्षयता विभिन्न पार्टी तथा कार्यक्रमहरु आयोजनाका लागि सर्वसाधारणलाई पनि भाडामा दिइँदै आएको थियो ।
तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराको कार्यकालदेखि आर्मी अफिसर्स क्लब सर्वसाधारणलाई पनि भाडामा दिन थालिएको थियो । अहिले क्लबमा विभिन्न कार्यक्रममा लागि गरिएको बुकिङ रद्ध गरिएको निमित्त प्रवक्ता थापाले जानकारी दिनुभयो ।
‘अहिले सेनाकै कार्यक्रमहरुको लोड बढेको र सरकारी कार्यक्रमहरु बढ्दै गएकाले सर्वसाधारणलाई दिन बन्द गर्न थालिएको हुन सक्छ’, निमित्त प्रवक्ता थापाले भन्नुभयो ।
सेनाले सर्वसाधारणलाई एउटा हल भाडामा दिएबापत एक दिनको ७५ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । सेनाले नै कार्यक्रम गर्दा भने एक दिनको १० हजार रुपैयाँ तिर्ने गर्दथ्यो । क्लबमा दुई वटा हलहरु छन् ।