सरकार नेकपाको,लुम्बिनी विकास कोषमा कांग्रेस निकटको नियुक्ति

काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारले एक महिना अगाडि हटाइएका लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीलाई पुनः सोही पदमा नियुक्ति गरेको छ ।
तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्तिहरूलाई ओली सरकारको क्याबिनेटले एक महिना अगाडि खारेज गर्ने निर्णय गरेको थियो । त्यो निर्णयमा त्रिपाठी पनि परेका थिए ।
कांग्रेस निकटका त्रिपाठीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का योग्य र सक्षम उम्मेदवारहरूलाई पाखा लगाउँदै पुनः सोही उपाध्यक्ष पद हत्याउन सफल भएका छन् । उपाध्यक्षमा नियुक्त पाउनका लागि त्रिपाठीले विद्यार्थी राजनीतिको पुष्ठभूमि भएका ‘नेकपा’ निकट राष्ट्रिय सभाका एकजना सांसदलाई प्रयोग गरेको उच्च स्रोतले जनाएको छ ।
शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको पावर लगाएर यसअघि त्रिपाठीले लुम्बिनी विकास कोषको उपाध्यक्ष पद हत्याएका थिए । त्यस बेला आरजु र तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवलाई एकमुष्ट तीन करोड बुझाएको आरोप त्रिपाठीलाई लागेको थियो ।
प्रधानमन्त्री ओलीले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्तिहरूलाई खारेज गरिदिए पनि उपाध्यक्ष त्रिपाठीले अहिलेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई ‘कन्भिन्स’ गरेर सोही पदमा एकमहिनाभित्र फर्किन सफल भएका छन् । मन्त्री अधिकारीलाई पनि त्रिपाठीले गुमराहमा पारेको आरोप पर्यटन मन्त्रालयभित्र चलेको छ ।
यसबारेमा प्रधानमन्त्री ओलीसँग कुरा गर्ने तयारीमा ‘नेकपा’का नेताहरू रहेको स्रोतले जनाएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिवमा भएको नियुक्ति प्रक्रिया खारेज गर्न र ‘नेकपा’ नेताहरूलाई नै नियुक्ति गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरिनेछ ।
‘लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिवमा कांग्रेस निकटकालाई किन नियुक्ति गरियो ?’, नेकपाका एक नेताले भने, ‘अवधेशकुमार त्रिपाठीलाई नै उपाध्यक्षमा नियुक्ति गर्नु थियो भने एक महिना अगाडि किन हटाइयो ? कतै लेनदेनको कुरा त छैन ? ‘नेकपा’का कुनै पनि नेता सक्षम थिएनन् र ?’
नेपाली कांग्रेस निकट मानिने त्रिपाठीले क्यानाडाकी महिला कोरोलिना सान्तसीसँग सम्पर्कमा छन् । क्रिश्चियन पृष्ठभूमि भएकी यी महिलालाई त्रिपाठीले ‘मम’ (आमा) भनेर सम्बोधन गर्छन् ।
सन् २००१ मा नेपाल प्रवेश गरेकी उनले क्रिश्चियन गतिविधिमै आफूलाई केन्द्रित गराएकी थिइन् । उनको मिशन भनेको बौद्ध र हिन्दूलाई क्रिश्चियन बनाएर चीनलाई प्रहार गर्नुरहेको स्रोतको भनाइ छ । यी महिलाले नेपालमा बसेर चीन विरोध गतिविधि गर्ने गरेको आरोप छ ।
क्यानडा निवासी यी महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधि समेत बढाउँदै गएकी छिन् । उनको यो अभियानलाई त्रिपाठीले साथ दिएको आरोप लुम्बिनी विकास कोषका एक कर्मचारीले बताए ।
‘अवधेशकुमार त्रिपाठी र क्यानडाकी ती महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधिलाई बढाएका छन्’, स्रोतले भन्यो, ‘केही समय अगाडि पनि तिनै महिलाको आर्थिक सहयोगमा नेपालका मन्त्री र त्रिपाठीसहितको टोलीलाई क्यानडा घुमाइएको थियो ।’
यसैबीच, लुम्बिनी विकास कोषको सदस्य सचिवमा नेपाली कांग्रेस पृष्ठभूमिकै विष्णुप्रसाद ढकालले नियुक्ति पाएका छन् । पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारी पद छाडेर ढकाल सदस्य सचिव बन्न पुगेका छन् ।
उपाध्यक्ष त्रिपाठी र सदस्य सचिव ढकालले आइतबार पदभार ग्रहण गर्दै छन् । त्रिपाठीलाई सदस्य सचिव बनाउने क्रममा हताहतारमा निर्णय गरिएको थियो ।
प्रक्रिया नमिल्दा मुख्यसचिव लोकदर्शन रेग्मीले ढकालको फाइल दुई पटक फिर्ता पठाइदिएका थिए । सदस्य सचिवमा नियुक्ति पाएका ढकाल ‘नेकपा’का महासचिव विष्णु पौडेलका नजिकका आफन्त हुन् ।
उपाध्यक्ष त्रिपाठी र सदस्य सचिव ढकालको नियुक्तिले ‘नेकपा’लाई कुनै फाइदा नपुग्ने चर्चा हुन थालेको छ । ‘नेकपा’का नेताहरूले उपाध्यक्ष र सदस्य सचिव नियम विपरित नियुक्ति गरिएको भन्दै खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेका छन् ।दैनिक नेपालबाट |