निगमको दोस्रो नयाँ वाइडवडी विमान आइपुग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ वाइडवडी विमान आज नेपाल आइपुगेको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ए३३०–२०० सिरिजको कल साइन नाइनएन–एएलजेड विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
नेपाल वायु सेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार दोस्रो वाइडबडी विमानलाई मकालु नाम दिइएको छ । निगमको पहिलो वाइडबडी विमानलाई अन्नपूर्ण नाम दिइएको थियो । उक्त विमान असार १४ गते नेपाल ल्याइएको थियो ।
फ्रान्सको तुलुजबाट ८ करिब घण्टाको उडानपछि उक्त विमान काठमाडौं आइपुगेको हो ।
२७४ सिट क्षमताको वाइडबडी विमानको १८ वटा ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । १० करोड ४८ लाख अमेरिकी डलरका उक्त विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो । सोही ऋणबाट निगमले अघिल्लो वाइडबडी विमान पनि खरिद गरेको थियो । दुबै विमान निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेको हो ।