डा केसीको मागलाई राजनितिक रङ दिइयो : रक्षामन्त्री पोखरेल

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले डाक्टर गोविन्द केसीको मागलाई राजनितिक रङ दिइएको बताएका छन्।
विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले डाक्टर केसीको मागमा नेपाली कांग्रेसले राजनीतिक रङ दिएको बताएका हुन्।
उनले डाक्टर केसीले उठाएका माग जायज र न्यायोचित भए त्यसको लोकतान्त्रिक ढंगले सम्बोधन हुने बताए। उनले लोकतान्त्रिक विधि र पद्धति तथा संसदीय पद्धति नमानि सडकबाटै समाधान खोज्ने प्रवृति गलत भएको टिप्पणी गरे।
रक्षामन्त्री पोखरेलले प्रमुख प्रतिपक्षी दललाई लक्षित गर्दै भने, ‘राजनितिक उन्माद सहित प्रस्तुत हुन खोजेको भए एक ढंगले त्यसको डिल हुने भो, होइन, साच्चै जेन्युन प्रोब्लम हो भने त हामीले लोकतन्त्रलाई मान्ने भनेको त प्रक्रियालाई मान्नु पर्यो, विधिलाई मान्नु पर्यो। विधि र प्रक्रियालाई मान्नु पर्यो कि परेन?’
उनले चित्त नबुझेका कुरा भए पनि विधि र प्रक्रियाबाट त्यसलाई हामीले स्वीकार गर्नुपर्छ।
पोखरेलले सरकार स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए।