गाउँ गाउँबाट उठ’ बोलको गीतलाई नेपथ्य ब्याण्डले म्यूजिक (भिडियो) सहित सार्वजनिक

काठमाडौँ: नेपाली राजनीतिक आन्दोलन र सामाजिक जागरण अभियानमा ढुकढुकी बनेको ‘गाउँ गाउँबाट उठ’ बोलको गीतलाई नेपथ्य ब्याण्डले म्यूजिक भिडियोसहित श्रोतादर्शकमाझ ल्याएको छ । श्याम तमोटले लेखेको यो लोकप्रिय गीतलाई नेपथ्यले पछिल्लो समय हरेकजसो कन्सर्टमा प्रस्तुत गर्दै आएको छ ।
२०४६ सालको जनआन्दोलन लगत्तै बनेको चलचित्र ‘बलिदान’मा समेत समावेश गरिएको यो गीतलाई नेपथ्यले पनि रेकर्ड गरेको हो । यस गीतलाई नेपथ्यले आफ्नो दसौं एल्बममा समेत समेट्ने जनाएको छ । ‘गाउँ गाउँबाट उठ’को म्यूजिक भिडियोमा नेपथ्यले केही समयअघि नेपालका विभिन्न स्थानमा आयोजना गरेको कन्सर्टका दृश्यहरु समेटेको छ ।
‘शान्ति संगीतयात्राका क्रममा हामीले यो गीतगाइरहँदा रामेश दाइ र मन्जुल दाइ पनि कन्सर्ट हेर्न आउनुभएको थियो,’ नेपथ्यका गायक अमृत गुरुङले भने, ‘त्यसबेला नयाँ ढंगमा यो गीत गाएर नयाँ पुस्तामा अझ लोकप्रिय बनाइदिएकोमा हामीलाई प्रोत्साहित गर्नुुभएको थियो ।’
नेपथ्य ब्याण्डले गीतलाई आफ्नो बनाएर महत्वपुर्ण कन्सर्टहरुमा प्रस्तुत गरेकोमा आफुलाई खुसी लागेको गीतकार श्याम तमोटको भनाइ छ । ‘गीत संगीत प्रस्तुत गर्ने नेपथ्यको मौलिक शैली छ । जसका कारण यो गीत अझ धेरै श्रोतादर्शकमाझ पुग्न सफल भएको हो’, गीतकार तमोटले भनेको अन्नपुर्ण पोस्टमा छ |
भिडियो