राजदूत नियुक्तिको गृहकार्यमा सरकार,देउवा सरकारले नियुक्ति गरेकाहरु फिर्ता हुने

असार २७,काठमाडौं–सरकारले भारत लगायतका मुलुकमा राजदूत नियुक्तिको गृहकार्य थालेको छ । पूर्ववर्ती शेरबहादुर देउवा सरकारको पालमा नियुक्त भएका तर कार्यकुशलता देखाउन नसकेका राजदूतलाई फिर्ता बोलाएर नयाँ राजदूत नियुक्तिको गृहकार्य सरकारले गरिरहेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मापदण्ड बनाएर राजदूत नियुक्त गर्ने बताइसकेका छन् । सरकारले न्यूनतम स्नातक पास गरेको र अग्रेजी भाषा बोल्न जान्नेलाई राजदूत बनाउने मापदण्ड बनाउन लागेको छ । यसअघि राजनीतिक भागवण्डाका आधारमा कुटनीतिक मामिलाको जानकार नभएका म्यानपावर व्यबसायी र राजनीतिक दलका कार्यकर्तासमेत राजदूत बनेर गएका थिए ।
भारतको लागि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती या हालका प्रधानसेनापति राजेन्द्र क्षेत्री मध्ये एकलाई राजदूत बनाउने सम्भावना रहेको जनआस्था साप्ताहिकमा समाचार प्रकाशन भएको छ ।
नेकपाका सदस्य एवं नेपाल भारत प्रबुद्ध समूहका सदस्य डा राजन भट्टराइको समेत चर्चा हुने गरेको भएपनि उनले राजनीति मै सक्रिय रहने चाहाना देखाएका छन् ।
संविधान जारी भएलगत्त भएको नाकाबन्दी खुलाउन आफूले कुटनीतिक पहल गरेको भन्दै क्षेत्रीले राजदूत बन्न रुची राखेको स्रोतहरुको दावी छ । उमेर हदका कारण क्षेत्रीले आगामी भदौ २४ गतेदेखि अबकास पाउँदै छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीको पनि राजदूत बन्ने सम्भावना प्रवल रहेको बताइन्छ । छिमेकी मुलुक भारतमा झण्डै ९ महिनादेखि राजदूत नियुक्त हुन सकेको छैन ।
तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएपछि नयाँ दिल्लीको दूतावास कर्मचारीको भरमा चल्दै आएको छ ।
दिल्लीमा राजदूत नहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीमा समेत प्रभाव परेको थियो । भारतसँग भएका रेल्वे लाइन विस्तार लगायत महत्त्वपूर्ण सम्झौता कार्यान्वयका लागि पनि प्रभावशाली व्यक्तिलाई राजदूत बनाएर पठाउने ओली सरकारको तयारी छ ।
अहिले भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा राजदूत रिक्त छन् । मलेसिया र युएई नेपाली कामदार धेरै भएको मुलुक हो ।
फिर्ता होलान् राजदूत ?
कार्यकुशलता नदेखाएको भन्दै सरकारले केही देशका राजदूतलाई फिर्ता बोलाउने संकेत गरेको छ । पूर्ववर्ती शेरबहादुर देउवा सरकारको पालमा राजनीतिक नियुक्ति पाएर गएका कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत भएकाहरु फिर्ता हुने सम्भावना छ ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंगबहादुर सिंह बंगलादेशका लागि राजदूत डा. चोपलाल भुसाल, श्रीलंकाका लागि राजदूत विश्वम्भर प्याकुरेल र कतारका लागि राजदूत रमेशप्रसाद कोइराला फिर्ता हुने सम्भावना छ ।
राप्रपाको कोटामा राजदूत बनेकी जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, स्पेनका लागि नेपाली राजदूत भरत रायमाझी र इजरायलका लागि नेपाली राजदूत निरन्जन थापालाई पनि फिर्ता हुने सूचीमा छन् ।
विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली पनि फिर्ता हुने सम्भावना छ । पराजुली राजदूत नियुक्त हुँदा नै विबादमा परेकी थिइन् ।
केपी ओलीको वर्तमान सरकारले यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्तिलाई खारेज गरेसँगै राजदूतहरुलाई पनि फिर्ता बोलाउन सक्ने आकलन गरिएको छ |
लोकान्तर
असार २७, २०७५ मा प्रकाशित