विश्वकप सेमिफाइनल: बेल्जियम र फ्रान्स बिचको खेल ( LIVE ) हेर्नुहोस्

काठमाडौं – रसियामा भइरहेको २१ औँ संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत आजबाट सेमिफाइनल खेल हुँदैछ। पहिलो सेमिफाइनलमा एक पटकको विजेता फ्रान्सले बेल्जियमसँग आज राती ११:४५ बजे सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल्दैछ |
लाइभ हेर्नको लागि : LIVE क्लिक गर्नुहोस
बेल्जियम (फिफा वरीयता : ३)
सेमिफाइनल पुगेको मध्ये सबै भन्दा माथिल्लो वरीयतामा रहेको टिम हो बेल्जियम। ‘रेड डेभिल्स’को उपनामले परिचित यो युरोपेली राष्ट्रको वर्तमान टिमलाई ‘गोल्डेन जेनेरेसन’ समेत भनिन्छ। तर बेल्जियम अहिलेसम्म फाइनल पुग्न सकेको छैन।
समूह चरणको ३ वटै खेल जित्नेमध्ये एक बेल्जियमले अहिलेसम्म सर्वाधिक १४ गोल समेत गरेको छ। कुनै पनि बेला गोल गर्न माहिर र बलिया फरवार्ड रोमेलु लुकालु, कप्तान एडेन हाजार्ड अनी अट्याकिङ मिडफिल्डर केभिन डे ब्रुएनाले उत्कृष्ट लयमा छन्।
बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ तथा इंग्ल्याण्डलाई १-० ले हराएको थियो। प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध २ गोलले पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले ३ गोल फर्कायो र खेल जित्यो। विश्वकपमा यस्तो भएको यो ४८ वर्षयता पहिलो हो। विश्वकपमा अन्डर डगको छवि बनाएको बेल्जियम सम्भावित नयाँ च्याम्पियनको रुपमा हेरिएको छ। त्यसका लागि बेल्जियमले यसअघिका कमजोरीलाई सच्याउँदै उत्कृष्ट खेल खेल्नु आवश्यक छ।
विश्वकपमा दोस्रो पटक सेमिफाइनल खेल्न लागिरहेको बेल्जियमले क्वाटरफाइनलमा पाँच पटकको च्याम्पियन ब्राजिललाई हराएको थियो।
फ्रान्ससँग सेमिफाइनलमा लागि पूर्ण रुपमा तयार रहेको बेल्जियमका डिफेण्सिभ मिडफिल्डर थोमस मुनिएर दुई पहेँलो कार्डका कारण प्रतिवन्धमा छन्। उनको अनुपस्थितिले प्रशिक्षक रोवर्टो मार्टिनजेका लागि केही टाउको दुखाई बन्न सक्छ।
बेल्जियम फ्रान्सलाई पराजित गर्दै पहिलो पटक फाइनल पुग्ने दाउमा छ।
फ्रान्स (फिफा वरीयता : ७)
प्रिक्वार्टरफाइनलकै सबैभन्दा धेरै गोल भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा २ गोल गर्दै अर्जेन्टिनालाई घर पठाउन भूमिका खेलेका किलिएन एमबाप्पेले पेलेको कीर्तिमान नै बराबरी गरे। यस्तै क्वाटरफाइनलमा फ्रान्सले बलियो डिफेन्स मानिएको उरुग्वेलाई समेत २-० ले पराजित गरेको थियो।
समूह चरणमा राम्रो खेल्न नसकेको भन्ने आरोपलाई फ्रान्सले प्रिक्वार्टरफाइनलपछि चिरेको छ। युवा खेलाडीहरुको वर्चस्व रहेको फ्रान्सले कुनै पनि बेला खेललाई परिवर्तन गरिदिन सक्छ।
समूह चरणमा फ्रान्सले अष्ट्रेलियालाई २-१ तथा पेरुलाई १-० ले हराएको थियो भने अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो।
एमबाप्पेसँगै ग्रीजमन, पोग्वा, जिरुड, कान्टे, मटुइडी, डेम्बेले अनि गोलकिपर कप्तान ह्युगो लोरिस फ्रान्सका मुख्य खेलाडी हुन्। फिफा वरीयतामा सातौँ स्थानमा रहेको फ्रान्सले सेमिफाइनलमा अर्को उत्कृष्ट अट्यिकङ भएको टिम बेल्जियमसँग खेल्दैछ।
सन् १९९८ मा घरेलु भूमिमै उपाधि जितेको फ्रान्स २० वर्षपछि पुन: उपाधि जित्ने योजनामा छ ।