तामाङ इतिहासको ठोस प्रमाण खोज्न जरुरी

याम्बु – तामाङ अगुवाहरुले ठोस प्रमाणका आधारमा तामाङ इतिहासको खोजी हुनुपर्नेमा जोड दिएका छन् । लेखक परशुराम तामाङको चारवटा कृति ‘तामाङ जाति’, ‘तामाङ संस्कार’, ‘तामाङ वंशावली’ र ‘ताम्बा काअीतेन’ माथिको संवाद कार्यक्रममा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।
मानवशास्त्री डा.मुक्तसिं लामाले तामाङ जातिको इतिहासका विषयमा रहेका विभिन्न भ्रम चिर्न ठोस ऐतिहासिक प्रमाणको खोजी हुन जरुरी रहेको बताए । ‘अहिले पनि तामाङ को हो, कहाँबाट आएको हो, तामाङको धर्म के हो भन्ने कुराहरु अन्योलको अवस्थामा छ,’ तामाङ पत्रकार संघद्वारा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘यसलाई चिर्न ठोस ऐतिहासिक प्रमाणका आधारमा नयाँ बहसको थालनी गर्न जरुरी छ ।’
परशुराम तामाङको ‘तामाङ जाति’ पुस्तक तामाङ इतिहासको खोजी र अध्ययनका लागि सहयोगी बन्ने उनले बताए । भाषाविद् अमृत योन्जन–तामाङले लेखनलाई पेसा बनाउन नसक्दा तामाङ साहित्यले फड्को मार्न नसकेको बताए । ‘अहिले हामी अरु पेसाबाट समय निकालेर थोरै समय मात्र लेखनमा खर्च गरिरहेका छौं,’ उनले भने, ‘हामीले लेखनलाई नै पेसा बनाउन सक्यौं भने मात्र तामाङ साहित्यले फड्को मार्न सक्छ ।’ तामाङ साहित्यमा बौद्धिक लेखनमात्र नभई आवश्यकता पूर्तिका लागि पनि पुस्तक प्रकाशन जरुरी रहेको उनले बताए । परशुराम तामाङ जस्ता बौद्धिक व्यक्तित्व तामाङ साहित्य क्षेत्रमा आवश्यक रहेको बताउँदै उनले राजनीति छाडेर साहित्यमा फर्कन आग्रह गरे ।
लेखक रविन्द्र तामाङले परशुरामका पुस्तक ‘तामाङ जाति’ तामाङ साहित्यको एक गहन कृति भएको बताए । तामाङ इतिहास र संस्कृतिको विषयमा पछिल्लो समय गहन अध्ययनसहितको कृति आउन नसकेको उनले बताए । पत्रकार फूलमान वलले विभिन्न परिवर्तनसँगै जातीय संस्कृति युवापुस्ताबाट लोप हुँदै गएको बताए । संक्रमकालीन अवस्थामा आएका यी पुस्तकहरुले तामाङ संस्कृतिमाथिको लेखन र पुस्तान्तरणमा सहयोग पुग्ने धारणा उनले राखे ।
लेखक परशुराम तामाङले तामाङ जातिको बारेमा नेपाली समुदायलाई बुझाउने उद्देश्यले पुस्तक लेखिएको बताए । ‘सामाजिक अभियानका क्रममा प्राप्त ज्ञानलाई लिपिबद्ध गरेर नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि पुस्तक लेख्न आवश्यक ठाने,’ उनले भने, ‘तामाङ इतिहासबारे लेखनको सुरुवात मात्रै गरेको हुँ । थप अध्ययन गरी पूर्णतः दिने काम अब नयाँ पुस्ताले गर्नुपर्छ ।’
यसअघि विभिन्न समयमा प्रकाशित यी पुस्तकको दोस्रो संस्करण शैलुङ बुक्स प्रालिले प्रकाशनमा ल्याएकाको छ । तामाङ पाठकमाझ लोकप्रीय यी पुस्तक बजारमा खोजी सूचीमा रहेका रहेका छन् । रातो पाटि बाट |