हुन्डी कारोबारी १ करोड १५ लाख रुपैयाँसहित पक्राउ

२४ असार– मुद्राको अवैध ओसारपसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले १ करोड १५ लाख ५ हजार १०० रुपैयाँसहित एक व्यापारीलाई नियन्त्रणमा लिएको छ ।
हुन्डीको करोबार हुँदै गरेको पूर्वसूचनाको आधारमा प्रहरीले वीरगन्जको रानीघाटबाट उक्त परिमाणको रकमसहित वीरगन्ज–९ निवासी राहुल केशरीलाई नियन्त्रणमा लिएको हो ।
रानीघाटस्थित महेश केशरीको घरमा अवैध मुद्रा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा अाइतवार बिहान छापा मार्दा उक्त परिमाणको रकम बरामद भएपछि राहुललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनले राहुलले संचालन गरेको हुन्डी कारोवारबाट भारत तथा तेस्रो मुलकका लागि अवैध रुपमा मुद्रा पठाउने गरिएको अनुसन्धानबाट खुलेको बताए ।
राहुलसँगै हुन्डीको कारोवारमा संलग्न भएको हुनसक्ने आशंकामा अन्य पाँचजना समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राहुललाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, काठमाडाैं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
यसैबीच, भारतबाट अवैध रुपमा भारतीय मुद्रा भित्र्याउने क्रममा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी अाइतवार नै सार्वजनिक गरेको छ । वीरगन्जको रजतजयन्ती चोकबाट ८ लाख १ हजार २०० भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको विहारस्थित सुगौली निवासी अभिजित कुमार सर्राफलाई प्रहरीले सार्वजनिक गरेको हो ।
बिआर ०५ के ६४४४ नं को भारतीय मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा बनाइएको गोप्य खण्डमा रकम लुकाई नेपाल भित्र्याउने क्रममा सर्राफ पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । पक्राउ परेका सर्राफलाई समेत आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।