तमुवान-मगरातको आन्दोलनमा जनजाति महासंघको समर्थन

२२ असार, पोखरा । आदिवासी जनजाति महासंघले तमुवान-मगरात आन्दोलन संघर्ष समितिको आन्दोलनलाई समर्थन गरेको छ ।
प्रदेश ४ को नाम ‘गण्डकी’ राख्ने तयारी भएपछि संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । उसले संस्कृतिविद् प्रा.डा.जगमान गुरुङ र प्रदेश नम्बर ४ का अर्थ मामिला तथा योजना मन्त्री किरण गुरुङसहित आदिवासी जनजाति कोटाबाट सांसद भएकाहरुलाई बहिस्कार गर्ने बताएको छ ।
संघर्ष समितिले शुक्रबार दिउँसो विरोध र्याली पनि निकाल्दैछ । पोखरामा पत्रकार सम्मेलन गरी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले आन्दोलनप्रति समर्थन रहेको बताए ।
उनले आदिवासी जनजाति कोटाबाट गएका सांसदलाई सामाजिक र राजनीतिक बहिस्कार गर्ने बताए । ‘हामी आदिवासी जनजाति र खास गरेर गुरुङ/मगरकै कोटाबाट गएका सांसदहरुले धोका दिए, उनीहरुले पहिचानको पक्षमा काम गर्छन् भन्ने अब अपेक्षा पनि छैन’ उनले भने, ‘अब आफ्नैबिरुद्ध संघर्ष शुरु हुन्छ ।’
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले आदिवासीको पहिचान मेटाएर प्रदेश ४ को नाम ‘गण्डकी’ राखे त्यो दुर्भाग्य हुने चेतावनी दिए । उनले तमुवान-मगरात बिनाको ‘गण्डकी’ स्वीकार्य नहुने भन्दै जबरजस्ती गरे छुट्टै सत्ता सञ्चालन गर्ने चेतावनी दिए । अनलाइनखबर |
यो पनि हेर्नुहोस