तामाङ ग्योइकाइ ल्हाम–२०७५ सम्पन्न

याम्बु । तामाङ डाजाङको २ दिने ‘तामाङ ग्योइकाइ ल्हाम–२०७५’ (तामाङ साहित्य यात्रा–२०७५) सम्पन्न भएको छ । कोन्ज्योसोम गाउँ पालिका वडा नम्बर–२ शंखु, ललितपुरमा असार १५ र १६ गते तामाङ डाजाङले कोन्ज्योसोम गाउँ पालिकाको सहयोगमा यात्रा गरेको हो । तामाङ भाषामा साहित्य लेख्ने स्रष्टाहरुलाई गाउँ गाउँमा भ्रमण गराई यथार्थ साहित्य सिर्जना गराउने उदेश्यले गरेको यात्रामा साहित्यकार, लेखक, अध्ययन अनुसन्धान कर्ता, पत्रकार सहित २७ जनाको सहभागीता रहेको थियो ।
१५ गते शंखुको विभिन्न ठाउँमा समुह बनाई अलग अलग स्थानमा बसोबास गर्दै अन्तरक्रिया र अवलोकन पछि स्रष्टाहरुले साहित्य सिर्जना गरेका थिए । उक्त रचनाहरुलाई १६ गते मगरगाउँ उच्च माविमा प्रमुख अतिथि जापानका लागि पूर्व राजदूत एवं तामाङ डाजाङका सरंक्षक डा.गणेश योन्जनले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको औपचारिक कार्यक्रममा वाचन गरेका थिए । वाचन गर्नेहरुमा बुद्धराम थङ, प्रयत्न वाइबा, राम गोम्जा, रोज मोक्तान, प्रकाश थिङ, योक बहादुर घिसिङ, इकमान लामा, रचना मोक्तान, मिलन तामाङ, राम बी. लामा, ढक बहादुर घिसिङ, साङगे लामा ब्लोन, विगेन्द्रसि वाइबा, इश्वर थोकर, कविराज काल्तान, धनकुमारी घिसिङ, सुनमाया ब्लोन, हिरामाया घिसिङ ‘कुसुम’ बिक्रम स्याङबो, अस्मिता घिसिङ, सल्लेशमान बम्जन, तेज योन्जन, देश बन्दु दहाल लगायतले कविता, गजल, ताङका र हाइकु प्रस्तुत् गर्नु भएको थियो ।
त्यसैगरी डिलबहादुर घिसिङ, अन्तलाल घिसिङ, रामबहादुर स्याङबो, बोम्बोराज घिसिङले ताम्बा गीत प्रस्तुत् गरेका थिए भने सिता ब्लोन, माइली माया घिसिङ र लालबहादुर ब्लोनले तामाङ मौलिक फापारे गीत प्रस्तुत गर्नु भएको थियो । साथै स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रदेशको नाम ताम्सालिङ, मौलिक पहिचान, परम्पराको संरक्षण र आफ्नो भाषा प्रवद्र्धनका लागि तामाङ साहित्यकारहरुले गरेको योगदानको प्रशंसा गर्नुहुँदै प्रमुख अतिथि डा.गणेश योन्जनले राज्यले आफ्नो अधिकारहरु खोसी रहेको अवस्थामा साहित्यकार मात्र नभइ आम तामाङहरु एक भइ दबाद दिनुपर्नेमा जोड दिनु भएको छ ।
त्यसैगरी कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङमा लामाले कोन्ज्योसोम नाम मात्र यूनिक नभइ काम पनि यूनिक नै रहने बताउनु भयो । त्यस अन्र्तगत यस ठाउँमा कोन्ज्योसोम अन्र्तगतका तीन बौद्ध मूर्तिहरु स्थापना गरी पर्यटकीय क्षेत्र को बिस्तार गर्ने । पालिकामा रहेका विद्यालयहरुमा कक्षा एक देखि पाँच सम्म मातृभाषा शिक्षा लागू गर्ने लगायतका योजनाहरु रहेको बताउनु भएको छ ।
कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा निमा घ्याम्छो बल, महांकाल गाउँ पालिकाकी उपाध्यक्ष कमला तामाङ, कोन्ज्योसोम गापा–२ का पूर्व सचिब सल्लेशमान बम्जन, महांकाल गाउँ पालिका–२ का सन्चमान स्याङतान, भूमि थुम्का निमाविका शिक्षक भुवन लामा, समाज सेबी कृष्णमान लामा, नेकपा पार्टी प्रतिनिधि रोहन लामा र ने. कां. प्रतिनिधि बलराम बम्जन लगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
तामाङ डाजाङकी अध्यक्ष सन्चु ब्लोनको अध्यक्षमा भएको २ दिने तामाङ ग्योइकाइ ल्हाम–२०७५ (तामाङ साहित्य यात्रा–२०७५) १६ गते लगनखेलमा आइ पुगेर सम्पन्न भएको हो ।
राजधानी ग्याम्से