नौ दिन पछि थाइल्यान्डको गुफामा हराएका १२ किशोर र फुटबल प्रशिक्षक सकुशल भेटिए

थाइल्यान्डको एक गुफामा नौ दिनदेखि हराएका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक सकुशल भेटिएका छन्। उद्धारकर्ताहरूले उनीहरूलाई पानीको भेल पसेको एउटा गुफाभित्र जीवितै भेटेका छन्। तर अहिले नै गुफाबाट बाहिर निकाल्ने अवस्था नभएको बताइएको छ।
गुफाभित्र पानीको भेल भएकाले उनीहरूलाई निकाल्ने उपाय खोजिँदैछ।
खोजमा संलग्न थाइ जलसेनाका अनुसार उनीहरूले बाहिर निस्किन कुशल तरिकामा पौडी खेल्न जान्नुपर्नेछ। नभए, पानीको सतह घट्ने दिन कुर्नुपर्नेछ। यो भनेको दुई–चार महिना नै हुनसक्छ।
नौदिन अगाडि २५ वर्षीय फुटबल प्रशिक्षक र ११ देखि १६ वर्षबीचका १२ जना किशोर गुफा घुम्न गएका थिए। त्योबेला त्यहाँ पानी थिएन, उनीहरू सरासर भित्र छिरे। भित्र गएपछि अकस्मात वर्षाका कारण गुफामा बाढी पसेपछि उनीहरू त्यहीँ फसे।
उनीहरूको खोजीकार्य तीव्र गरिएको थियो। गुफाको मूलद्वारबाट करिब ४ किलोमिटर पर उनीहरू भेटिएका हुन्।
पानी सतहभन्दा अलिमाथि चट्टानमा बसिरहेको अवस्थामा जलसेनाको टोलीले उनीहरूलाई फेला पारेका थिए।
पानीको सतह थप बढिरहेको र उनीहरूको सुरक्षा निम्ति आवश्यक सामान पुर्याउने प्रयास पनि भइरहेको बताइएको छ।
सबभन्दा पहिले खानापिन र औषधि व्यवस्था गरिनेछ। शारीरिक रूपमा तन्दुरुस्त भएपछि उनीहरूलाई पौडी खेल्न सिकाउने योजना छ। तर वर्षायाम भएकाले तत्काल गुफामा पानीको तह घट्ने सम्भावना छैन।
त्यस्तै चट्टानबीचका अँध्यारा–साँघुरा गल्ली हुँदै हिलाम्मे पानीबाट उनीहरूलाई निकाल्न निकै चुनौती छ। यसकारण कुनै उपकरणमार्फत् पानी फ्याँकेर कम गर्ने उपाय पनि खोजिँदैछ।
तत्काल भने उनीहरूको सुरक्षा प्राथमिकतामा राख्दै उनीहरूलाई आवश्यक सरसामान उपलब्ध गराइँदैछ।
बिबिसीबाट