यस्तो छ: समुह ‘ई’ को समीकरण,ब्राजिललाई बराबरी काफी

काठमाडौँ- समूह ई अन्तर्गतका दुई खेल बुधबार राति नेपाली समयअनुसार पौने १२ बजे हुँदै छन्। ब्राजिलले सर्बिया तथा स्वीट्जरल्याण्डले कोस्टारिकासँग प्रतिस्पर्धा गर्ने छन्।
ब्राजिल र सर्बियाबिचको खेल स्पार्तक रंगशाला, मस्को तथा स्वीट्जरल्याण्ड र कोस्टारिकाबिचको खेल निज्हनी नोभगोरोड रंगशालामा हुनेछ।
पहिलो खेलमा ब्राजिल र स्वीट्जरल्याण्डले १–१ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० ले हराएको थियो।
दोस्रो खेलमा स्वीट्जरल्याण्डले सर्बियालाई २–१ ले हराएको थियो। यस्तै पहिलो खेलमा सर्बियाले कोस्टारिकामाथि १–० को जित निकालेको थियो।
समूह ई को समीकरण
अन्तिम १६ मा स्थान बनाउनका लागि सर्बियासँगको खेलमा ब्राजिललाई बराबरी काफी हुन्छ ।
ब्राजिल र स्वीट्जरल्याण्ड दुवैले खेल जितेमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । ब्राजिलले तीन तथा स्वीट्जरल्याण्डले चार पहेँलो कार्ड पाएका छन्। ब्राजिल सर्बियासँग तथा स्वीट्जरल्याण्ड कोस्टारिकासँग पराजित भएमा दोस्रो स्थानको निर्णय पनि यही प्रक्रियाबाट हुनेछ।
कोस्टारिकासँगको खेलमा कम्तिमा बराबरी वा सर्बिया ब्राजिलसँग पराजित भएमा स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुग्ने छ।
यदि स्वीट्जरल्याण्ड एक गोलले पराजित भएमा र सर्बियाले बराबरी गरेमा गोल गरेका आधारमा दोस्रो स्थानको टुंगो लाग्नेछ। दुवै टिमको गोल पनि बराबरी भएमा स्वीट्जरल्याण्ड अघि जानेछ किनकी उसले सर्बियालाई हराएको छ।